site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म

इलाम । नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरू भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरू भएको हो । 

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । 

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । 

सुहाङको जन्म २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौँमा भएको थियो । काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किए । 

स्वदेश फर्केर उनले काठमाडौँ स्कूल अफ लबाट कानुन संकायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौँको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।सुहाङ राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने भएका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । 

उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाए । यद्यपि, उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदान समेत गरेका थिएनन् । आफ्नै बुबा उमेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले मतदान गर्न पाएका थिएनन् । 

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर, बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका छन् । 

सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रुपमा सुहाङले बुबाको बिरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । 

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उमेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उनको भनाइ छ । उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजनाहरु ल्याउने उनको भनाइ छ । 

हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुन् । उनका एक दाजु, एक दिदी र एक बहिनी छन् । उनको दिदी सुसाङ पेसाले डेण्टल सर्जन हुन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छन् । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro