
काठमाडौं । पछिल्लो समय बैंकहरूले अस्पताल पूर्वाधार बनाउन लगानी बढाइरहेका छन् । बैंकहरूको अर्बौं रुपैयाँ लगानीमा ठूला मल्टिस्पेसियालिटी हस्पिटल खुल्ने क्रम बढेको छ ।
यस्तै तीन अर्ब ४४ करोड रुपैयाँ लगानीमा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा एड्भान्स इन्टरनेसनल हस्पिटल सञ्चालनमा ल्याउने तयारी भएको हो ।
हस्पिटलको पूर्वाधार निर्माणको काम आयुष बिल्डर्सले गरिरहेको छ । निर्माणाधीन हस्पिटल एक सय ५० बेडको हुनेछ । अनुमानीत लागतलाई मान्दा प्रति शय्या लागत २ करोड ३० लाख रुपैयाँ पर्ने देखिएको छ । तुलनात्मक रूपमा यो रकम धेरै हो ।
अस्पताल गत मार्चमा सञ्चालनमा ल्याउने तयारी थियो । तर, मार्चसम्म केबल ४४ प्रतिशत मात्र वित्तीय प्रगति भएको एड्भान्सले जनाएको छ । काममा भएको ढिलाइले आउँदो सेप्टेम्बरको लक्षित समयसीमाभित्र अस्पताल सञ्चालन हुने सम्भावना कम देखिएको छ । आवश्यक कामको ढिलाइ र गतिलाई ध्यानमा राख्दै लागत वृद्धिको जोखिम चिन्ताको विषय बनेको छ ।
हस्पिटलमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को अगुवाइमा नबिल बैंकले २ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । उक्त हस्पिटल निर्माण गर्न निफ्राले १ अर्ब ५४ करोड तथा नबिल बैंकले १ अर्ब रुपैयाँसम्म लगानी गरेका छन् । एड्भान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी हस्पिटल बनाउन ०७९ साल साउन ५ गते बैंकहरूसँग सहवित्तीयकरण सम्झौता भएको थियो ।
सिभिल कार्यहरू लगभग पूरा भएको र चिकित्सा उपकरणको आयात भइरहेको छ । गत मार्चको मध्यसम्ममा प्रवर्द्धकहरूले समग्र आवश्यक इक्विटी ५७ प्रतिशत लगानी गरिसकेका छन् । बाँकी ४३ प्रतिशत लगानी गर्न बाँकी छ । अस्पताल बनाउन ७३ प्रतिशत बैंकको ऋण र बाँकी २७ प्रतिशत संस्थापकहरूको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।
अस्पतालमा कमल भण्डारीको ५४ र सुरज उप्रेतीको ४६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ ।
एड्भान्स इन्टरनेसनल सन् २०२१ मा स्थापना भएको हो । एड्भान्सले २ अर्ब ५४ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । २ अर्ब ५० करोड फन्डबेस दीर्घकालीन ऋण र ४० करोड रुपैयाँ फन्डबेस अल्पकालीन ऋण रहेको छ । कम्पनीले ए फोर रेटिङ पाएको छ ।
एड्भान्सका संस्थापहरूसँग यसअघि नेपालगन्ज मेडिकल कलेज, सञ्जीवनी नर्सिङ कलेज र सिटी अस्पताल सञ्चालनको अनुभव छ ।