site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘काल्पनिक भिडियो चरित्रहत्याका कल्पित कर्म हो’ 

ईश्वर खतिवडा– पूर्वन्यायाधीश, सर्वोच्च अदालत 


एउटा यूटुबमा सर्वोच्चका न्यायाधीशसमेतलाई जोडेर आएका टिकाटिप्पणी शतप्रतिशत झूठ हो । अझ त्यो दुरासयपूर्ण, गलत र काल्पनिकरुपमा सिर्जित हो । यो कसैको चरित्र हत्या गर्न कल्पित कर्म हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई ‘इन्टिग्रिटी’ भएका न्यायाधीश हुन् । भट्टराईलाई म ४६ वर्षदेखि चिन्छु ।

Dabur Nepal

उनी उच्च चरित्रको हैसियत राख्ने न्यायाधीश हुन् । उनैको नाम यसरी उचाल्नु दुर्भाग्यपूर्ण हो । यो विषयमा मैले यहाँभन्दा बढी टिप्पणी गर्नु आवश्यक देख्दिनँ ।

अब कुरा रह्यो स्टिङ अपरेशनको ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेशन’सम्बन्धी मुद्दाको फैसला गर्ने पाँच जनामध्ये एकजना न्यायाधीश मै हुँ । चोलेन्द्रशमशेर राणा, दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र म संलग्न संवैधानिक इजलासले २०७८ बैशाख ८ मा गरेको फैसला थियो, त्यो ।

पाँच जनामध्ये वरीयतामा कान्छो थिएँ । संयोगले फैसला लेख्ने जिम्मा मेरोमा पर्‍यो । फैसला मैले लेखेको हुँ, जसमा चारजना सहमत हुनुभयो । अदालतको फैसलाको गहन अध्ययन नगरीकन ‘स्टिङ अपरेशन’को विषयलाई धेरैले सामान्यीकरण गरे ।

हामीले ‘स्टिङ अपरेशन’लाई अवैध भनेको होइन । एउटा ‘प्रोभिजन’ थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियमावली, २०५९ मा । उक्त नियमावलीको नियम ३० मा अख्तियारले कोही संकेत व्यक्तिलाई कसैउपर छानबिन गर्न आफैँ पैसा लगेर दिने, अनि समात्ने र मुद्दा चलाउने काम गर्न सक्थ्यो ।

त्यसमा अदालतले आयोग स्वयम्ले नै सरकारी कोषको रकम पठाउँदै बरामद गर्ने कामलाई प्रमाणका रुपमा ग्रहणयोग्य हुँदैन भनेकोसम्म हो ।

त्यो नियमले सीमा नाघ्यो । नियमले व्यवस्थापन गर्ने हो । हामी कहाँ नियम बन्ने सवालमा मान्छेको धेरै ध्यान गएको पनि छैन । कानुनमा २–४ वटा कुरा लेखिदिने अनि यो पनि ‘तोकिए बमोजिम’ हुन्छ, त्यो पनि तोकिए बमोजिम हुन्छ भनेर लेखिदिने प्रचलन बढ्यो ।

सबै ‘तोकिए बमोजिम’ लेख्ने हो भने संसद् कानुन बनाउन किन बसेको हो ? त्यसरी कानुन बनाउने काम त विधायिकाको हो । केही नियमबाट सामान्य व्यवस्थापनसम्म गर्न सकिएला, तर सबैजसो तोकिएबमोजिम भएपछि के हुन्छ ?

प्रत्योजित विधायनको एउटा सीमितता हुन्छ । त्यो नियमले सीमितता नाघ्यो भन्ने अदालतको बुझाइ हो । संविधानको ‘लिमिट’भन्दा बाहिर कोही जान पाइँदैन । यो प्रत्यायोजित विधायनमा आउने कुरा होइन भन्ने अर्को बुझाइ हो ।

‘स्टिङ अपरेसन’ हकमा, अख्तियारको अनुसन्धान भनेको त भए या गरिएका सत्य, साँचो, वास्तविक विषयको खोजी गर्नु हो, आफैँ कृत्रिम प्रमाण सिर्जना गर्ने काम स्वच्छ अनुसन्धानभित्र पर्दैन । भनिन्छ नि, ‘इभिडेन्स आर कलेक्टेड नट क्रियटेड’ । प्रमाण भनेको संकलन गरिने चिज हो सिर्जना गरिने वस्तु होइन । 

तर अख्तियार प्रमाण संकलन नभएर आफैँ ‘सिर्जना’ उद्यत भएको देखिन्छ । अख्तियारले गोप्य रुपमा अनुसन्धान गर्न सक्छ । उसले त्यसो गर्दा प्रमाण संकलनकेन्द्रित हुनुपर्छ न कि कृत्रिम प्रमाणको सिर्जना गर्ने । जहाँ प्रमाण सिर्जना गरिन्छ त्यहाँ व्यक्तिगत अधिकारमाथि ‘थ्रेट’ हुन्छ ।

यो त झ्याल पैसा छिराउने र ढोकाबाट अख्तियारका कर्मचारी पस्दै दशी–प्रमाण बरामद गरिए जस्तै भएन र ? आयोग आफैँले पैसा दिलाएर अपराध गराउन मिल्छ या मिल्दैन भन्ने प्रश्न संवेदनशील देखियो । 

संवैधानिक निकायले माछा मार्न जाल फिँजाए जसरी पनि कसैलाई पक्राऊ गर्न सभ्य समाज अनुकूल सुहाउँदैन । भ्रष्टाचार नियन्त्रणका आडमा जालझेल वा कपटपूर्ण काम गर्ने, स्वेच्छाचारी तवरमा निर्दोषलाई फँसाउने काम गर्न मिल्दैन ।

त्यसरी प्रमाण सिर्जना गर्ने हो भने आज अख्तियारका दुईजना मान्छे रिसाए भने कुनै एक जनाको प्याकेटमा एक बन्डल भिराइदिने, अफिसको टेबुलमा राखिदिने काम हुन्छ । एकजनाले थाहै नदिइकन लगेर राखिदिन्छ, कुराकानी गर्दै गर्छ, अर्को टोली गएर समातिहाल्छ । त्यसपछि हतकडी लगाइदिइहाल्ने काम बढी हुन थाल्यो ।

त्यो व्यवस्था देखाउँदै केही घुसखोरीलाई समात्ने काम अख्तियारले गरेको छ । तर, केही ठाउँमा दुरुपयोग भएकै हो । घूस मागेको पनि छैन, लिएको पनि छैन, रिस उठ्यो, परिबन्दमा पारिएका पनि छन् । त्यो काम अख्तियारसम्म पहुँच हुनेबाटै हुन्छ । 

न्यायको शास्त्रको सिद्धान्तले के भन्छ भने, बरु ९९ अपराधी छुटुन्, एउटा निर्दोष पर्न् हुँदैन । निर्दोषको संरक्षण हुनुपर्छ । यहाँ फसाउने गलत नियत देखियो । बदमासी त अनुसन्धानका विधि प्रयोग गरेर प्रमाण संकलन गर्नुपर्ने हो ।

कसैको टेबुल र गोजीमा पैसा राखिदिने समातेर ल्याएँ भनेर सुशासन कायम हुन्छ ? यो गलत हो भन्ने अदालतको बुझाइ र मान्यता रह्यो । हामीले त्यो फैसलामा ‘स्टिङ अपरेशन’ गर्नै पाइँदैन भनेका छैनौँ । भनेको के हो भने तिमी अख्तियार अनुसन्धान गर्नेले सरकारी राजश्वको पैसा अपराधिक कर्मका लागि प्रयोग गर्न मिल्दैन । 

अख्तियार स्वयंले घूस दिनु भनेको अपराधिक कर्ममा प्रयोग भएको चिज हो नि । त्यसबाट आपराधिक एक्सनका लागि अपराधीले एक किसिमले वातावरण मिलाइदिएजस्तो देखियो । नागरिकले तिरेको कर राज्यको निकायले घुसमा परिणत गर्न मिल्छ ?

अख्तियारले खोज्ने भनेको ‘ए’ र ‘बी’ मा व्यवहार भएको छ । उसले सेवा लिनुछ ‘सी’ सँग । त्यहाँ सेवा दिन बेइमानी भयो भने पक्राउ गरे भैहाल्यो नि ! त्यहाँ अदालतले नसमाउनू भनेको छैन । तर सरकारी पैसा ल्याएर टेबुलमा फाल्न चाहिँ पाइँदैन ।

कहिलेकाहीँ सम्भावनाका कुरा हुन्छन् । ५०–५० वा ६०–४० को कुरा हो कि जस्तो हुन सक्छन् । तर म आज पनि उक्त फैसलामा शतप्रतिशत ढुक्क छु– जे हामीले निर्णय गर्‍यौँ या अदालतले जे निर्देश गर्‍यो त्यो एकदमै सही ग¥यो भन्ने लाग्छ ।

हामीले सिद्धान्तलाई ठाउँमा राखेको हो, ‘स्टिङ अपरेशन’लाई ‘अनभ्यालिड’ गरेको होइन ।

आज पनि सरकारी कर्मचारी र सेवाग्राहीका बीचमा अनुचित लेनदेन भएका बेला अख्तियारले छापा मारेर समात्छ भने अख्तियारले पाउँछ, त्यो रोकेको छैन । भोलि कसैले अर्को फैसला गर्‍यो भने फरक कुरा हो ।

फैसलाले के भन्छ भने अख्तियारले दिएको पैसाको प्रमाण लाग्दैन । तर अरु प्रमाणले भ्रष्टाचार देखिन्छ भने त्यो पैसाको प्रमाणलाई ‘माइनस’ गरेर कसुर ठहर गर्नुपर्छ भन्ने मानेको छ । म आफैँले पनि त्यसरी फैसला गरेको छु । म एउटा केसको ‘रेफ्रेन्स’ नै भनिदिन्छु– बानेश्वर वृत्तको डीएसपी थिए । एकजना मान्छेलाई कुनै मुद्दामा थुनेको रहेछ ।

त्यहाँ ‘बार्गेनिङ’ भयो कि के भयो । थुनामा रहेको मान्छेका तर्फबाट डीएसपीलाई कसैले एप्रोच गर्‍यो । अब त्यहाँ के–के कुरा भयो । त्यसपछि बानेश्वर एभरेष्ट होटलमा आए । जसले दिने हो उसले अख्तियारलाई बोलायो । अख्तियारवाला टोली ५० हजार पैसा लिएर गयो ।

उसले पैसा दियो डीएसपीले समात्यो, पैसा थियो अख्तियारको । विशेष अदालतबाट कसुर ठहर भएर त्यो मुद्दा सर्वोच्चमा आएको थियो । मैले हेरेँ । ‘स्टिङ अपरेसन’को फैसला लेख्ने पनि मै आफै थिएँ । फैसलापछिको त्यो टेस्ट केस थियो । 

अरु प्रमाणबाट कसुरदार ठहर्याउने आधार भेटियो, मैले नै कसूरदार ठहर्‍याए ।

त्यो डीएसपीले मैले पैसा लिएको हो, तर सापट लिएको हो भनी बयान दियो । उसले त्यहाँ ‘फ्याक्ट’ स्वीकार गरेको पाइयो । अब त्यहाँ हेर्नुपर्ने कुरा के आयो भने थुनामा रहेको मान्छेसँग कुनै सम्बन्ध पनि छैन । 

सेवाग्राहीसँग सापट लिनु पनि भ्रष्टाचारसम्बन्धी ऐनले निषेध गरेको छ । त्यसरी सापट लिनु पनि गैरकानुनी हो । त्यसैले भ्रष्टाचारी ठहर्छ । 

मुद्दामा एउटामात्रै प्रमाण हुनु हुँदैन । अरु कुराले यो चाहिँ बेइमानी गरेको देखिएको अवस्थामा दोषी ठहर्छ ।

त्यो नियम ३० खारेज गर्ने पनि मै हुँ । त्यो नियम ३० खारेज गरेको फैसला लेखेपछि गरेको फैसलामा अख्तियारकै पैसा समातेको मान्छेलाई कसुरदार ठहर गर्ने मान्छे पनि मै हुँ । यहीँ छु । दुईवटा कुरा ‘कन्ट्याडिक्ट’ गर्दैन । अरु प्रमाणले सपोर्ट गर्छ भने उसलाई दोषी ठहर गर्न सकिन्छ भनेर नियम ३० खारेज गर्ने बेलाको फैसलामा बोलिएकै छ ।

पछिल्ला मिडियामा ‘स्टिङ अपरेसन’का जे आएका छन् त्यो शतप्रतिशत खराब नियतबाट आएको छ । ती सम्पूर्ण बनावटी नाटक हुन् । यसले यूटुवलाई नराम्रोसँग प्रश्न उठाएको छ ।

पछिल्लो समय चर्चामा आउन ‘सेन्सेटिभ’ विषयवस्तु ल्याउने, नभएको विषयलाई अतिरञ्जना ढंगबाट अघि ल्याइदिने काम भएको छ । हामीकहाँ ‘नेगेटिभ मास’ छ । नेगेटिभ जमातलाई समात्ने काम त्यस्ताले गरिरहेका छन् ।

न्यायाधीशको जीवनमा सबै पक्षलाई खुसी पार्न सकिँदैन । मेरो ३० वर्षको करिअरमा हेर्ने हो भने मैले २५ हजार फैसला गरेँ होला । त्यसमा सबै खुसी त हुँदैनन् नि ! 

(बाह्रखरीसँग पूर्वन्यायाधीश खतिवडाले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro