इलाम । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन जारी छ । बिहान ७ बजेबाट शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।
घिमिरेका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको अनुमान छ । केही निर्वाचनस्थल भौगोलिक रूपमा ढाटा पर्ने भएकाले यकिन तथ्यांक भन्न समस्या भएको उनले बताए ।
हृदयघातका कारण गएको २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ । यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट आयोगले मतदान गराइरहेको हो । यहाँ ७४५ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।
यस निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडा, देउमाई नगरपालिका र माइ नगरपालिकाको ३ वटा वडा पर्छन् । यसबाहेक चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङ्सेवुङ गाउँपालिका पर्छन् । घिमिरेका अनुसार १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता नयाँ हुन् ।