site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाममा मिसन ०८४ को परीक्षामा छ रास्वपा 

इलाम । नेपाली राजनीतिमा गठन भएको केही समयमै संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरुको ‘मिसन’ नै ०८४ मा हुने निर्वाचनमा केन्द्रित रहेको जनाएको छ । ०७९ मा निर्वाचन सम्पन्न भएपछि रास्वपामा मिसन ०८४ को विषय सतहमा बहसमा आएको हो । 

रास्वपा सरकार बाहिर रहँदा मात्र होइन सरकारमा बस्दा पनि मिसन ०८४ कै पक्षमा छ ।  यसका लागि जनतामा पुग्ने देखि सरकारमै रहेर जनचासोकमा मुद्दामा आफूले काम गर्दै आएको दाबी रास्वपाको छ । 

हो, रास्वपाका लागि यही मिसन ०८४ को परीक्षा जस्तै बन्न पुगेको छ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन । घण्टी चुनाव चिह्न लिएर पार्टी इलाम क्षेत्र नम्बर २ का मतदाताको घरदैलोमा पुगिरहेको छ । 

विस्तारै संगठन गर्दै अघि बढिरहेको पार्टीलाई संगठन विस्तारको अवसरसमेत भएको बुझाइमा शीर्ष नेता छन् ।

उपसभापति स्वर्णिम वाग्ले इलाम उपनिर्वाचनलाई फगत अंकगणित मात्र सम्झन नहुने तर्क गर्छन् । चुलाचुली पुगेका उनले नेपालको विविधता जस्तै संसदीय विविधता अनुसार पार्टीले सांसद उत्पादन गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिनुपर्ने उनको तर्क छ । 

उनी यसलाई महाअभियानको एक अंश भएको भन्दै चितवन र तनहुँले जस्तै सन्देश इलामले दिनेमा निश्चित देखिन्छन् । 

“एकथान सांसद जिताउने मात्र होइन यो महाअभियान हो । ०८४ को अभियानलाई सार्थक बनाउन यो महत्वपूर्ण छ,” उनले भने, “चितवन र तनहुँको उपनिर्वाचनले जस्तै एउटा सन्देश इलामले दिनेछ ।”

चुनाव प्रचारप्रसारमा रहेका पार्टी प्रमुख सचेतक सन्तोष परियार चुलाचुली जाने क्रममा झापा दमकमा भेटिए ।  उनले निश्चित हुँदै मत परिवर्तनको पक्षमा आउने विश्वास गरे ।  अरूले तेस्रो चौथो भन्न भ्याए पनि नागरिकहरूसँग वान टु वान संवाद गर्दा तनहुँ जस्तै माहोल आफ्नो बन्दै गएको र चुनाव जितिने आधार तय भइसकेको दाबी उनको थियो ।

अनि मिसन ०८४ लाई यो उपनिर्वाचनले के संकेत दिन्छ भन्ने प्रश्न बाह्रखरीको थियो । उनले जनताले राजनीतिको बाटो र परिवर्तनको पक्षमा चितवन र तनहुँ जस्तै सन्देश इलामले पनि दिने उनको विश्वास देखियो । 

“नेपालको राजनीतिक इतिहासमा डिपार्चर बनाउँछौं हामी,” उनले बाह्रखरीसँग भने, “जित्दा सहजताका साथ डिपार्चरमा सहयोग हुन्छ एक खालको मोटिभेट हुन्छ ।”

उपनिर्वाचनले पार्टीलाई अवसर र चुनौती दुबै बोकेर आएको छ ।  “मिसन ०८४ को बीचमा अकस्मात आएको तरंग हो यो । हामी पार गरेर जान्छौं भन्ने पूर्ण विश्वास हामीमा छ,” परियारले बाह्रखरीसँग भने । 

यो निर्वाचन रास्वपाका लागि तमाम विषयको जवाफ दिने अवसर हो भन्ने मत पनि छ ।  विशेषगरि सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा जनताको बुझाइ पनि ब्यालेटबाट प्रष्फुटन हुने निष्कर्ष रास्वपाको देखिन्छ ।

सभापति लामिछाने आफू निष्पक्ष भनिरहँदा जनताले के जवाफ दिन्छन् भन्ने चासो उपनिर्वाचनको भएको एक स्थानीय मतदाताले जिकिर गरे । 

पहिचानको मुद्दा र रास्वपा 
इलाम क्षेत्र नम्बर २ मा जोडतोडले उठेको विषय हो किरात सभ्यता र जातीय पहिचानको । रास्वपाले उमेदवार उठाएका मिलन लिम्बु पनि विगतमा पहिचान पक्षधरको रूपमा देखिएकै हुन् । पत्रकार रहँदा पनि उनले पहिचानको मुद्दामा खरो बहस गर्दै आएका थिए ।

रास्वपा प्रवेश गर्नुअघि उनले पहिचानकै विषय उठाएर स्वतन्त्र उमेदवारी दिएकै हुन् ।  रास्वपालाई पनि पहिचान विरोधी हो भन्ने प्रचार हुने गर्दछ । लिम्बु समुदायबाट उमेदवार बने पनि मिलनलाई अवसरवादको ट्याग लाग्ने गरेको छ । 

माओवादी पार्टी निकट भएर काम गरेका उनलाई आक्षेपहरू पनि उत्तिकै लाग्ने गरेका छन् । 

रास्वपा उमेदवार लिम्बु पहिचान एक दल वा एक व्यक्ति विशेष भन्दा पनि सिङ्गो देशले सोच्ने र विचार गर्ने विषय भएको तर्क गर्छन् । बाह्रखरीसँग संवाद गर्दै उनले पहिचानको मुद्दा इलामको मात्र नभएको र सिङ्गो देशलेनै न्यारेटिभ बनाउनुपर्ने धारणा राखे ।

“पहिचान के हो र यसको समस्या समाधान कसरी गर्ने सोचेर जानुपर्छ,” उनले भने । 

“यहाँ कुनै पनि दलले पहिचानको विरोध गर्दैन । तर, पहिचानलाई कति फराकिलो बनाउने सबै पहिचान कसरी सुरक्षित गर्नुपर्छ भन्ने हामीले सोच्नुपर्छ,” उनले भने ।

अघिल्लो चुनावमा पार्टीको अवस्था 

वाम किल्ला इलाममा १५ गते उपनिर्वाचन हुँदैछ । इलाम– २ मा संविधानसभा अध्यक्ष समेत रहेका सुवास नेम्वाङको २०७९ भदौ २६ गते निधन भएपश्चात उपनिर्वाचन हुन लागेको हो । ०७९ निर्वाचनमा रास्वपाबाट चुनाव लडेका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro