राजा ज्ञानेन्द्र शाहले विसं. २०६१ माघ १९ गते बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको घाँटी निमोठेर शासन सत्ताको बागडोर आफ्नै हातमा लिएका थिए । जनताका प्रतिनिधिहरूको संस्था संसद् विघटन थियो । प्रजातन्त्रमाथि ‘कू’ गरे । सरकार ज्ञानेन्द्रको हातमा थियो । दलहरू सडकमा पुगेका थिए ।
राजाबाट पटक–पटक हन्डर र ठक्कर खाइसकेपछि कांग्रेस, एमालेलगायत दलहरू सडक संघर्षको विकल्प नरहेको निष्कर्षमा पुगेका थिए । त्यसैले उनीहरू विसं. २०६२ को चैतमा संयुक्त सडक संघर्षमा उत्रिएका थिए ।
प्रजातन्त्रको घाँटी निमोठिएपछि सञ्चारमाध्यममा बुट बजार्दै बर्दीमै आर्मी पुगेका थिए । सम्पादकीय स्वतन्त्रतामा अंकुश लागेको थियो । समाचार प्रकाशन तथा प्रशारण अगाडि आर्मीका अफिसरलाई सेन्सर गराउनु परेको अमिलो अनुभव संगालेका सञ्चारमाध्यम पनि जतिसक्दो चाँडो प्रत्यक्ष शाही शासन अन्त्य चाहन्थे ।
त्यसैले उनीहरूले राजाको शासनसत्ताविरुद्ध सडकमा उत्रिएका राजनीतिक दलप्रति सफ्टकर्नर अपनाउनु स्वभाविक थियो । ‘कान्तिपुर दैनिक’ पनि अपवाद थिएन । एक, प्रकाशनगृहका नाताले सम्पादकीय स्वतन्त्रता चाहनु नौलो भएन । दुई, कसैको पक्षमा होस् वा विपक्षमा अथवा राम्रो होस् वा नराम्रो घटना समेट्नु सञ्चारमाध्यमको धर्म नै हो ।
राजा जति निरंकुश हुँदै जाँदै थिए । त्यति नै दलहरू पनि आक्रामक हुँदै थिए । सरकार जति दमनको भाषा बोलिरहेको थियो, त्यति नै आन्दोलनकारीको संख्या पनि सडकमा बढ्न थालेको थियो । आन्दोलन चर्किँदै गयो । आन्दोलन जति चर्किदै थियो, त्यति नै तस्बिर खिच्ने चटारो बढ्दै थियो ।
काठमाडौंका हरेक चोकचोकमा आन्दोलन हुन्थे । सकेसम्म कहाँ राम्रो तस्बिर पाइन्छ ? फोटो पत्रकारले खोज्नै पर्यो । खोज्थे । मनमौजी डुल्दा सबै एकैतिर पुग्ने सम्भावना हुने सम्भावना बढ्यो ।
आन्दोलन चर्किँदै गयो । राजनीतिक दलका कार्यकर्ता मात्रै होइन आमजनता सडकमा स्वतःस्फूर्त दलको आन्दोलनमा उत्रिन थाले । काठमाडौंका सडक आन्दोलनकारीको भीडले भरिन थाल्यो । शाही सरकार अत्तालियो । कर्फ्यु जारी गर्यो । कर्फ्यु लगाएपछि अवस्था सहज रहेन ।
सरकारले सीमित पासमात्र सञ्चारमाध्यमलाई उपलब्ध गरायो । आन्दोलन जति चर्किँदैथियो त्यति नै दौडधुप पनि थपिँदैथियो । पत्रकार भएकाले केही सहज त अवस्य थियो । पास पनि थियो । तर राज्यको नजर निजी सञ्चारमाध्यमप्रति सकारात्मक थिएन । त्यसैले सुरक्षाकर्मीसँगै सुरक्षित भएर पनि हिँड्नुपर्ने अवस्था थियो ।
“हामी एक्लै कहिल्यै पनि हिँड्दैन थियौँ । समूहमै हिँड्थ्यौँ । एक्लै हिँड्दा राज्यकै तर्फबाट कर्के नजर परे कुनै पनि बेला जहाँ सुकै जे पनि हुने त्रास बोकेर हिँड्नुपर्ने अवस्था थियो,” विकास रौनियार भन्छन्, “त्यसैले हामी ग्रुपमा हिँड्थ्यौँ । सोल्टीमोडमा बस्ने भएकाले मलाई भित्री गल्लीहरू पनि थाहा भएकाले लुक्दै, छलिँदै गोंगबु र कलंकी पुग्थेँ । गोंगबु र कलंकी दोस्रो जनआन्दोलनको केन्द्र पनि भएकाले हुलमुलबाट पनि जोगिनु पनि थियो ।”
आन्दोलन जति चर्किंन्थ्यो, राम्रो तस्बिरको पनि त्यति नै सम्भावना हुन्थ्यो । तर जति ठूलो भीड हुन्थ्यो, त्यसकै अनुपातमा जोखिम पनि बढ्थ्यो । काठमाडौंभर कर्फ्यु थियो । पूरै सहरलाई सरकारले घरभित्र थुनेको थियो । दिनदिनै प्रहरी दमनले घाइते भएका खबर आउथ्यो ।
टेलिभिजनका स्क्रिन मुठभेड र घाइतेका तस्बिरले भरिन्थे । प्रहरी र प्रदशर्नकारीको घम्साघम्सीले सञ्चारमाध्यमको अधिकांश समय र स्पेस लिइरहेका थिए । यस्तो बेला बिहान सबेरैदेखि राति अबेरसम्म घरबाहिर निस्किँदा परिवारले चिन्ता लिनु स्वभाविक थियो ।
“घरबाट निस्किने बेलामा हुलमुलमा नजानू, जोखिम नलिनू, आफू रहे जागिर रहने हो, बेलाबेलामा घरमा खबर गरिरहनू भन्ने कुरा हुन्थ्यो,” विकास १९ वर्ष अगाडि फर्किन्छन्, “तर हाम्रो पेसा नै त्यस्तै थियो । जोखिम लिनैपर्ने । भीडको बीचमा गएर लेन्स तेर्स्यानुपर्ने । जोखिकैबीच राम्रो काम निस्कने । त्यसमै रमाउनुपर्ने ।”
निजी सञ्चारगृहका सञ्चारकर्मीप्रति प्रहरी सकारात्मक नभए पनि आन्दोलनकारीको साथ थियो । सुरुसुरुका दिनमा सहज नभए पनि पछिपछि आन्दोलनको तस्बिर कहाँ बसेर कसरी खिच्दा भनेजस्तो आउँथ्यो भन्नेमा विकास पोख्त भए ।
“यताबाट आन्दोलनकारी आउँछन्, यताबाट प्रहरी आउँछ र यहाँबाट खिच्यो भने सहज तरिकाले दृश्य पाउँछौँ भन्ने हुन्थ्यो,” विकास भन्छन्, “जोगिएर खिच्ने अनुभवले निखार्दै गयो । त्यसै गरियो ।”
कलंकी दोस्रो जनआन्दोलन सबैभन्दा पहिला भड्किएको ठाउँ थियो । दुर्जकुमार राईले आन्दोलनकारीमाथि गोली प्रहार गरेपछि कंलकी रणभूमि जस्तै भएको थियो । त्यसबाट आफू र आफ्नो क्यामेरो जोगाउँदै तस्बिर खिच्नुपर्थ्यो ।
“त्यो समय अनेक हल्लाहरू फैलिरहेका थिए । वास्तविकता एकातिर हुन्थ्यो, तर हल्ला अर्कै हुन्थ्यो,” विकास सम्झिन्छन्, “त्यसमा पनि सरकारी सञ्चारमाध्यमहरू भ्रामक खबर सम्प्रेसण गरिरहेका हुन्थे, त्यसलाई चिर्न तस्बिर नै चाहिन्थ्यो । तस्बिर आफैँ बोल्ने भएकाले कहाँ कतिबेला के हुन्थ्यो भनेर हामी कुरेर बस्थ्यौँ ।”
शालिकराम तिवारीले सरकारी हल्लाहरूलाई चिर्ने गज्जबको तस्बिर पनि खिचे, दुर्जकुमार राईले आन्दोलनकारीलाई पेस्तोल ताक्दै गरेको तस्बिर । जुन कान्तिपुर दैनिकको पहिलो पृष्ठमै छापियो । तत्कालीन राज्यसत्ता कति ‘एग्रेसिभ’ थियो भन्ने त्यही तस्बिरले छर्लंग पारिदियो ।
० ० ०
गोंगबुमा पनि आन्दोलन भड्किएको थियो । प्रहरी अश्रुग्यास र रबरका गोली बर्साउँथ्यो ।
आन्दोलनकारी इँटा र ढुंगाले प्रतिकार गरिरहेका थिए । आन्दोलनकारी टायर बालेर प्रहरीलाई रोक्ने प्रयास गर्थे । प्रहरी सडकमा अस्थायी काँडेतारको बार लगाएर आन्दोलनकारीलाई अगाडि बढ्नबाट रोक्ने प्रयास गर्थ्यो ।
आन्दोलन उत्कर्ष (वैशाख ११ गते)मा पुग्न त्यस्तै तीन÷चार दिन अगाडि होलाजस्तो लाग्छ विकासलाई । आन्दोलनकारी इटा र ढुंगाले प्रहरीको प्रतिकार गरिरहेका थिए । त्यतिकैमा एकजना फोटो पत्रकार टाउकोमा ढुंगा लागेर सडकमा ढले । पत्रकारकै ठूलो भीडभाड हुन थालिसकेको थियो । सबैसँग सबैको चिनजान हुन छोडिसकेको थियो ।
त्यसैले ती व्यक्ति कुन सञ्चार माध्यमका पत्रकार भन्ने विकासलाई थाहा थिएन ।
“उनलाई ढुंगाले टाउकोमा लाग्यो । उनी ढले । मेरो क्यामेरामा त्यो दृश्य कैद भयो,” विकास सम्झिन्छन्, “त्यसपछि हामीले तुरुन्त उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठायौँ । नाम र सञ्चारमाध्यम त थाहा छैन । तर उनी थाइल्यान्ड वा कम्बोडियातिरका हुनुपर्छ ।”
केही दिनमै उनी आन्दोलनको तस्बिर खिच्न फर्किएको विकासको सम्झनाको तरेलीबाट ओझेल परेको छैन । यस्ता घटनाले मनमा जति त्रास सिर्जना गर्थ्यो, त्यति नै उत्साह पनि भर्थ्यो । ८० वर्षको छेउमा हिँडिरहेकी छायादेवी पराजुलीजस्ता महिला आन्दोलनको अग्रमोर्चामा रहेर प्रहरीसँगको मुठभेडमा उत्रिन्थे । यस्ता व्यक्तिले थप उर्जा भर्थ्यो । आन्दोलनका तस्बिर खिच्नलाई उत्प्रेरित गर्थ्यो ।
त्यसैले कहाँ छुटाउनै नहुने तस्बिर पाइएला भनी भीडको बीचबीचमा विकास डुलिरहन्थे । क्यामेराको भ्युफाइन्डरमा एउटा आँखा राखिरहन्थे । कतिबेला मनखाने दृश्य देखिन्थ्यो खिचिक्क पार्थे ।
० ० ०
विकास थोरैमध्येका तिनै फोटो पत्रकार थिए, जसले ०४६ सालको जनआन्दोलनका तस्बिर पनि खिचेका थिए । जो ०६२÷०६३ को दोस्रो जनआन्दोलनको तस्बिर पनि खिचिरहेका थिए । यी दुईवटा आन्दोलनमा एउटै संयोग के थियो भने दुवै आन्दोलनमा कांग्रेस र कम्युनिष्टको संयुक्त आन्दोलन थियो ।
दुवै आन्दोलनका कांग्रेस र कम्युनिष्टका झण्डाहरू बराबर देखिन्थे । विकासलाई यो दृश्यलले रोमाञ्चित पनि बनाउँथ्यो । धेरै खालका समाचार आउँथे, त्यसैले फोटोले नै समाचार बोकोस् भन्ने हुन्थ्यो ।
त्यसैले त्यस्तै तस्बिरको खोजीमा हुन्थे विकास र उनका सहकर्मीहरू । दिन त अहिले विकासलाई यही नै हो भनेर थाहा छैन । तर तस्बिर ताजै छ । गोंगबुमा आन्दोलन चर्किएको थियो । रिंगरोडभरि आन्दोलनकारी जम्मा हुन थालेका थिए ।
“गोंगबुमा एकजना रिटायर्ड पुलिस अफिसरले आफूसँग रहेको बन्दुक निकालेको तस्बिर प्रकाश माथेमाले खिचे,” विकास भन्छन्, “सम्भवतः उनी पूर्वडीएसपी थिए, उनले निकाल्दै गरेको बन्दुक र हातको तस्बिर निकै गज्जब थियो । होइन भनेर दाबी गर्नेहरूलाई यस्ता तस्बिर नै आएपछि त्यो आफैँ प्रमाण हुन्थ्यो । यस्तै तस्बिर खिच्ने हाम्रो जिम्मेवारी हो भन्नेजस्तो लाग्थ्यो ।” त्यसैले घाँटीमा क्यामेरा झुण्ड्यायो, दौडियो ।
० ० ०
आन्दोलनमा माओवादीको सहयोग छ भन्ने हल्ला थियो । विकास स्वयंलाई पनि त्यो लाग्थ्यो । तर को आम जनता, को कांग्रेस, एमालेको कार्यकर्ता र को माओवादी भन्ने चिनिदैन थियो । एकाध तत्कालीन कांग्रेस, एमालेलगायत कार्यकर्ता चिनिनु बेग्लै कुरा थियो । त्यस्तो संख्या कति नै हुन्थ्यो र ?
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सार्वजनिक भइसकेका थिएनन् । बाबुराम भट्टराई, कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, जनदर्शन शर्मा जो सरकारसँगको वार्तामा बसेका थिए, उनीहरूबाहेक अरुलाई चिनेका थिएनन् ।
“त्यसैले आन्दोलनमा यी अनुहार देखिएनन्, अरुलाई मैले चिनेको थिइनँ । पछि आन्दोलन उत्कर्षमा पुग्ने बेला र विजयोत्सवका दिन रुखका हांगा बोक्ने माओवादी थिए भन्ने पछि मात्रै पो थाहा भयो,” विकास नोस्टाल्जिक हुन्छन्, “सायद, यो पहिला नै थाहा पाएको भए हाम्रो क्यामेराका भ्यूफाइन्डरमा उनीहरू अलि कैद हुन्थे कि !”
आफैँले खिचेका कति तस्बिरले विकास आफैँलाई मोहित बनाए । कति आजै खिचेजस्तो सम्झनामा ताजै छन् । विडम्बना उनले ती तस्बिर अर्काइभ गर्न कसेनन् ।
तर उनलाई आन्दोनकारीले कलंकीमा साइकल उठाएर दन्किरहेको आगोमा हाल्दै गरेको तस्बिर आफैँले खिचेमध्ये राम्रो लगाएको एउटा थियो । थुप्रै विदेशी सञ्चारमाध्यममा पनि प्रकाशन भएको ।
“म आफैँलाई गज्जव लागेको अर्को तस्बिर कलंकीबाट स्वयंभूतर्फको रिंगरोड मान्छेले पूरै भरिएको मान्छेका टाउकै मात्रै देखिने तस्बिर हो,” विकास भन्छन्, “कान्तिपुरको पहिलो पृष्ठमै पनि छापिएको थियो, त्यो तस्बिर पनि ।”
० ० ०
नेपालमा आन्दोलन उत्कर्षमा पुग्दै थियो । भारतले करण सिंहलाई आफ्नो सन्देश लिएर राजा ज्ञानेन्द्रलाई भेट्न पठाएको थियो । नारायणहिटीमा शाह र सिंहको भेट हुँदै थियो । त्यो आफैँमा ऐतिहासिक क्षण थियो । तस्बिर त चाहियो । कर्फ्यु थियो कसरी दरबार जाने ?
दरबार जान औपचारिक पोसाकमा दौरा–सुरुवाल लगाएर जानु पर्थ्यो । दौरा–सुरुवाल लगाएको देखेपछि सरकारी कर्मचारी रहेछ भनेर आन्दोलनकारीकै तारो बनिएला भन्ने त्रास थियो ।
“नभन्दै दरबारले भन्यो, तपाईंको लोकेसन दिनूस्, आर्मीको गाडी लिन आउँछ । दरबार छाडिदिन्छ र फोटो खिँचेपछि पुनः तपाईंकै लोकेसनमा ड्रप पनि गरिदिन्छ,” विकास अफ्ठ्यारोबीचको सहज प्रसंग सम्झिन्छन् ।
० ० ०
कहिले देख्दा देख्दै राम्रो दृश्य उम्किन्थ्यो । ज्या है ! भन्ने लाग्थ्यो । तर फेरि विकासलाई लाग्यो– क्यामेर छँदै छ, म छँदै छु, तस्बिर छाप्ने प्लेटफर्म छँदै छ, यस्ता मुभमेन्ट त कसो क्याप्चर गर्न नसकिएला र ? तर हमेशा एउटा कुरा भने खड्किरहन्थ्यो विकासलाई ।
के ?
“आफू कलंकीमा भएका बेला गोंगबुमा आन्दोलनकारी र प्रहरीबीच गोंगबुमा मुठभेड भयो भने त्यता जानुपर्ने रहेछ भन्ने हुन्थ्यो,” उनी भन्छन्, “गोंगबुमा भएका बेला कलंकी कालीकाटीमा ठूलो आन्दोलन भयो कि भन्ने धुकचुक भइरहन्थ्यो ।” राम्रो तस्बिर खिच्ने हुटहुटी सुनाउँछन् विकास ।
केही ठाउँमा आन्दोलनकारी स्वयंले खबर गर्थे । यो समय यो ठाउँमा आन्दोलन हुँदै छ है भन्थे । त्यसैले फोटो पत्रकारहरूलाई केही सहज हुन्थ्यो । आन्दोलनमा हिँड्दाहिँड्दै त्यो सम्बन्ध बनिसकेको थियो । अक्सर यसरी जानकारी दिनेमा अहिलेको दोस्रो तहमा रहेका नेताहरू बढी थिए ।
जस्तै ?
गगन थापा, योगेश भट्टराई, रामकुमारी झाँक्री, प्रदीप पौडेललगायत नेताहरूसँगले कहाँ कसरी आन्दोलन हुँदै छ भनी सूचना दिन्थे ।
आन्दोलन भर्खर सुरु भएको थियो । कर्फ्यु लागिसकेको थिएन । आन्दोलनमा सहभागी जुटाउनै दलहरूलाई सकस थियो । त्यसमा पनि प्रहरीको धरपकडले जम्मा हुनै नदिने अवस्था थियो । त्यसैले गुरिल्ला शैलीमा प्रदर्शन गर्थे ।
त्यस्तो अवस्थामा काठमाडौंमा भित्री गल्लीमा कुन दलले कुन नेताको अग्रसरतामा कहाँ कतिबेला प्रदर्शन हुन्छ भनेर थाहा पाउनै सकस हुन्थ्यो ।
थाहा पाएर पुग्दासम्म प्रहरीले आन्दोलनकारीलाई तितर–वितर पारिसकेको हुन्थ्यो । त्यसैले त्यो बेला रामकुमारी झाँक्री, योगेश भट्टराई, गगन थापाजस्ता नेताले दिने सूचनाले तस्बिर खिच्न सहज हुने गरेको विकास सम्झिन्छन् ।
तस्बिर खिच्न जति कठिन हुन्थ्यो, त्यतिनै साँझ समाचारकक्षमा आएर छान्न पनि ।
समाचारअनुसार तस्बिर प्रयोग हुन्थ्यो । हजारौँ तस्बिरमध्ये आठ/दशवटा तस्बिर छान्न महाभारत हुन्थ्यो । जुन हे¥यो त्यही प्रयोग गरौंजस्तो तर सीमित स्पेसका कारण केही छान्नै प¥थ्यो ।
० ० ०
एलए टाइम्सका लागि हेनरी चु दिल्लीबाट काठमाडौं आएका थिए । अनुवादकका रूपमा लोकेसन गाइड गर्न पनि सहज हुने गरेर उनी विकाससँगै हिँड्थे ।
उनको गाडीको कर्फ्यु पास पनि भएकाले विकासलाई सहज भएको थियो । उनका लागि अन्तर्वार्ता मिलाउन मुख्य दलका शीर्ष नेताहरूसँग विकासको भेट हुन्थ्यो । त्यसले पनि आन्दोलनको सूचना र अवस्थाबारे कान्तिपुर दैनिकबाहेकबाट पनि विकास सूचना पाइरहेका हुन्थे ।
० ० ०
शीर्ष नेताको प्रसंग आयो । उनीहरूले आन्दोलनका ज्यानको बाजी थापेर रिपोर्टिङ गर्ने र तस्बिर खिच्ने पत्रकारलाई कति एप्रिसिएट गरे औपचारिक र अनौपचारिक भेटहरूमा ? विकासको सम्झनामा खासै छैन, समग्र सञ्चार क्षेत्रप्रति राजनीतिक दल अनुग्रहीत भएकोबाहेक ।
तर विकासले केही दिन अगाडि मात्रै बितेका ओल्गा मुर्रेलाई सम्झिए । जो समाजसेवी थिए । सामाजिक संस्था ‘नेपाल युथ फाउन्डेसन’मार्फत् नेपालमा बसेर सेवा गरिरहेका थिए । उनी टेलिभिजनमा आन्दोलनका समाचार हेर्दारहेछन् ।
आन्दोलनमा पत्रकारहरू खटेको देखेर उनी प्रभावित भएछन् ।
एक दिन सोम पनेरु (ओल्गासँगै काम गर्ने)ले विकासलाई भने, ‘ओल्गाजीले धुलो, धुवाँ, घाम र जोखिमबीच फोटो पत्रकाहरूको काम देखेर प्रभावित भएर एप्रिसिएट गर्न चाहनु भएको छ । यसका लागि केही सेलेक्टेड फोटो पत्रकारलाई बोलाऊ, म डिनर खुवाउन चाहन्छु भन्नु भएको छ ।’
कस–कसलाई बोलाउने पनेरुले विकासलाई जिम्मा दिए । विकासले पनि सक्रिय फोटो पत्रकारलाई बोलाइदिए ।
आफू पनि गए । पाटनमा घरमै बोलाएर डिनर खुवाउँदै उनले भने, “तपाईंहरूले खिचेका यी तस्बिर इतिहासका भिजुअल हुन् । इतिहास सुरक्षित गरिदिएकोमा धन्यवाद ! यो मिहिनेत र जोखिम उठाएको देखेर म साँच्चै प्रभावित भएँ, यो कामका लागि सम्मान छ, मेरो धन्यवाद !”