site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुल्मीमा आगलागीबाट २८ घरगोठ नष्ट, दुईजना घाइते

तम्घास । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।

इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ । स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन् ।

यस्तै, चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी  मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीन गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए ।

इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको डढेलो शनिबार दिउँसोदेखि बस्तीमा फैलिएको थियो । त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपाया मरेका प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुर बस्नेतको समेत गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए ।

इस्मा गाउँपालिका–१ मा लागेको आगोका कारण ट्याक्टर चालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७, पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनहरूका हातखुट्टा र अनुहार जलेको छ । तम्घासस्थित गुल्मी अस्पतालमा घाइतेको उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्याक्टर जलेको छ ।

विद्युत् सबस्टेसन जल्यो
शुक्रबारनजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४, वीरवासको विद्युत् सबस्टेसन जलेको छ । सबस्टेसनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट दुई करोड रुपैयाँबराबरको क्षति भएको छ ।

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार, कन्डक्टर, केवललगायत सामग्री जलेकाले दुई करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।

डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro