site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बाबुरामले आफूलाई राष्ट्रपति, पत्नी हिसिलाका निम्ति उपराष्ट्रपति माग्नुभयो : यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् । शनिबार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराई राष्ट्रपतिको पद प्राप्त नगरेपछि नेकपा (माओवादी केन्द्र)सँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।

उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरे । भट्टराईले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवको भनाइ छ ।

Dabur Nepal
NIC Asia

अन्तिममा भट्टराईले पत्नी यमीका निम्ति गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य पद मागेको र सो पनि नपाएपछि माओवादी केन्द्रसित एकता हुन नसकेको उनले बताए ।

भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिनभित्रमा पार्टी एकता भइसकेको हुने उनले जिकिर गरे । उनले भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । भट्टराईलाई आफ्नो परिवारका निम्ति समाजवाद चाहिएको उनले बताए ।

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डे समेत उनीबाट टाढा भएको भन्दै यसले आधिकारिक नेसपा आफूहरूको भएको प्रस्ट पारेको बताए । उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए ।

बाबुराम वामपन्थी विचारबाट भाग्दा केशरजंग रायमाझीजस्तै हुन पुगेको उनको टिप्पणी थियो ।

महिन्द्र राय यादवको भनाइ पढ्नोस्–
डा. बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । उहाँलाई मैले चुनाव लड्नुस् भनेको थिएँ । उहाँले म लड्दिनँ भन्नुभयो । म आफ्नो छोरीलाई काठमाडौंमा चुनाव लडाउँछु भन्नुभयो । उहाँले यहाँ उनको नानीको घर हो, नेवार समुदाय हो, सबैले भोट दिन्छ भन्नुभयो । मैले ठिक छ भनेँ, तपाईंको छोरी जित्यो भने राम्रो हो । डा. सापले प्रचण्डलाई लिएर जानुभयो । उहाँले प्रचण्डजीलाई हँसिया हथौडामा भोट दिनुस्, हाम्रो एकता गर्ने सहमति भइसकेको छ, चुनावपछि पार्टी एकता गर्छौँ भनेर बाबुरामले गोरखामा भन्नुभएको हो । आज उहाँले गोरखाका जनतालाई जवाफ दिनुपर्ने हुन्छ । हामीलाई आरोप लगाउनुहुन्छ– सांसद, मन्त्री खानका लागि । त्यो वास्तवमा होइन । म भन्न चाहन्छु– डा. साप नेपाली जनताको बीचमा खडा हुनुपर्दछ अब । उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो । यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नु भएन । मलाई थाहा छ । डा. सापले मलाई भन्नुभयो– राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ । मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ– तपाईं पनि हिँड्नुस् । प्रचण्डजीले भन्नुभयो– मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साप विचलित हुनुभयो । अनि, मलाई भन्नुभयो– फलानो नेताकोमा जाऔँ । म सबै नेताकोमा गएँ । लास्टमा मैले भनेँ– छोडिदिनुस् यो अभियान । मैले भनेँ– पार्टी दर्ता नगर्नुस् तपाईं, यो राष्ट्रियसभाको चुनावमा हाम्रो पार्टीको भोट भनेको ४५ हो, नगर्नुस् । दर्ता गराइदिनुभयो । प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो– गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस् । यो राजनीतिक पार्टी उहाँको पारिवारिकजस्तो भयो । आफू, श्रीमती, बुहारी, छोरी सबैको लागि राजनीति गर्न सकिन्छ ? अनि, प्रचण्डजीले मलाई सोध्नुभयो– कसरी तपाईं दिनुहुन्छ ? पार्टी एकता गराउनुस्, बाबुरामले जेजे भन्छ, सबै दिनुस्, पार्टी एकताबिना केही नदिनुस् मैले भनेको प्रचण्डजीलाई । यथार्थ कुरा यही हो । सच्चाइ यही हो । लुकाउनुपर्ने कुरा होइन । अनि, हामीलाई चाहिँ मुद्दा लगाउने, हामीलाई चाहिँ लोभीपापी बनाउने ? यो देशमा हामीभन्दा बढी लोभीपापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्न सक्छु । अनि, बाबुरामले हामीलाई भन्न मिल्छ ?

मैले नेकपा (समाजवादी) नाम राख्ने सर्तमा त्यो चुनाव चिह्न लिएको हो । माओवादीको जनयुद्ध नभएको भए, पूरक रूपमा जनजाति, थारु, दलित आन्दोलन नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन । हाम्रो लागि यो देशमा संघीयता र लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता, समावेशी, समानुपातिक यी चारवटा विषय हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा (माओवादी केन्द्र) नै छ । नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने उद्देश्य महान् हो । नेसपाले मधेस आन्दोलनको मागलाई पूरा गर्नको निम्ति एकताको प्रक्रिया अगाडि बढाएको हो । गंगा श्रेष्ठ मन्त्रीजी, ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो ? दुर्गा भट्टराईजी उहाँ (बाबुराम भट्टराई)को पारिवारिक सदस्य र उहाँको परिवारिक सदस्यजस्तै विश्वदीप पाण्डेले आज उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले (आफ्नो पक्षले) लिएको बाटो ठिक छ भन्ने प्रमाणित भएको छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro