site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई पीडितको कथाले देखाएको सहकारीको यथार्थ चित्र !

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सोमबार काठमाडौंस्थित तीनकुनेमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहकारी पीडितबीच नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र अध्यक्ष कुशलभ केसीको आमरण अनशनको विषयमा जानकारी दिने भनिएको थियो ।

कार्यक्रम सुरु भएपछि पीडितहरूलाई पनि आफ्ना कुरा राख्न दिइयो । यसै क्रममा ललितपुरको सुमेरू सेभिङ एन्ड क्रेडिट को–अपरेटिभकी बचतकर्ता सुशिला शाहीले आफ्नो समस्या व्यक्त गरेकी थिइन् । स्टेजमा उनी एक वर्षीया छोरी बोकेर पुगेकी थिइन् ।

हेर्दा पुरानाजस्ता देखिने कपडा लगाएर चप्पलमा आएकी शाहीले आफ्ना समस्या भावुक हुँदै सुनाइन् । उनले आफूले दुःख गरेर कमाएको पैसा सहकारीका सञ्चालकहरूले खाएर भागेको बताइन् । आफूलाई परेको दुःखको सम्बोधन प्रहरी, सहकारी विभाग, मन्त्रालय कुनै पनि ठाउँबाट नभएको उनले गुनासो थियो ।

Dabur Nepal
NIC Asia

“हामीले दुःख जेला गरेर जम्मा गरेको पैसा फिर्ता माग्न जाँदा हामीलाई दिइएन,” शाहीले भनिन्, “हामी कसैको व्यक्तिगत पैसा लिन गएका हैनौँ, बालबच्चा पढाउन सहज हुन्छ भनेर बचत गरिएको पैसा माग्न गएका हौँ ।”

बचत फिर्ता माग्न मन्त्रालयदेखि प्रहरीसम्म सात महिनाकी छोरी बोकेर धाएको उनी बताउँछिन् । तर, आफ्नो विषय कतैबाट पनि सुनुवाइ नभएको शाही बताउँछिन् ।

भाइले विदेशबाट पठाएको साढे तीन लाख रुपैयाँ पनि आफूले दैनिक बचत गर्दै आएको सहकारीमा राखेको उनको भनाइ छ । त्यही पैसाका कारण भाइसँग झगडा भएको पनि उनले सुनाइन् ।

“ब्याज आउँछ भनेर भाइले विदेशबाट पठाएको पैसा सहकारीमा लगेर जम्मा गरेँ,” उनले भनिन्, “अहिले भाइसँग पानी बाराबार छ । झगडा भएको छ ।”  

पीडितका कुरा सुनाउने क्रममा हाम्रो नयाँ कृषि सहकारीकी ७२ वर्षीया बचतकर्ता ठूलीमायाँ तामाङले आफ्नो कथा सुनाएकी थिइन् । उनी दैनिक सडकपेटीमा खुर्सानी बेचेर जीविका चलाउँछिन् । उनले चक्रपथमा सञ्चालनमा आएको हाम्रो नयाँ कृषि सहकारी संस्थामा दैनिक २५ रुपैयाँ बचत गरेको सुनाइन् ।

कार्यालयका अन्य कर्मचारी नचिनेको भए पनि दैनिक बचत उठाउन आउनेको विश्वासमा रकम जम्मा गरेको उनको भनाइ छ । उनको एउटा खुट्टा असामान्य छ । राम्रोसँग उभिन नसक्ने ठूलीमायाले बसेरै आफ्ना कुरा रुँदै राखेकी थिइन् ।

उनका एक छोरा छन् । उनी पनि नपढेको र आफूलाई खुर्सानी बेच्न सघाउने गरेको बताउँछिन् । भक्तपुरको रानीकोट सल्लाघारी छेउमा भएको आफ्नो जग्गा बेचेको पैसा सहकारीमा फसेको उनले बताइन् ।

“मेरो आम्दानी केही छैन । सडकमा दैनिक खुर्सानी बेचेर गुजार गर्ने गरेकी छु,” उनले भनिन्, “मेरो पैसा कसरी फस्यो भने भक्तपुरको रानिकोटमा भएको जग्गा बेचेर ल्याएको पैसा राख्न सहकारीका मेडमहरूले कर लगाए ।”

आफ्नो चार रोपनी जमिन बेचेको पैसा सहकारीमा फसेको तामाङ बताउँछिन् । जग्गा र आफूले कमाएको गरी कुल १० लाख रुपैयाँ हाम्रो नयाँ कृषि सहकारीमा फसेको उनको भनाइ छ । यो पैसाले गाउँमा घर बनाएर बस्ने रहर भएको भए पनि आस गर्दागर्दै आफ्नो मृत्यु हुने हो कि भनेर चिन्ता बढेको उनी रुँदै सुनाउँछिन् ।

सहकारीमा पैसा फसेका यी दुई नमुना पात्र हुन् । सहकारीहरूले बचतको नाममा बोल्न र हिँड्न नसक्नेहरूको करोडौँ रुपैयाँ अपचलन गरेका छन् । उनीहरूले बचत  तथा ऋणको नाममा सोझा–साझा जनतालाई उठिबास लगाएको यी दुई उदाहरणले प्रस्ट देखाउँछ । तर, राज्यले सहकारीहरूलाई नियन्त्रणमा लिएर बचतकर्ताको बचत फिर्ता गर्ने अवस्था बनेको छैन ।

विगत केही वर्षदेखि सहकारीले आफ्नो बचत फिर्ता नदिएको भन्दै पीडितहरू आन्दोलनमा छन् । उनीहरू सडकमा समेत बास बस्न पुगे । गत वर्ष लगातार ६३ दिनसम्म माइतीघरमा सहकारी पीडितहरूले धर्ना गरेका थिए । उनीहरूले माइतीघरमा दिन–रात बिताए ।

सरकारले आन्दोलन स्थगित गर्न पीडितहरूसँग सम्झौता गर्‍यो । सहकारीको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन भयो । सहकारीमा आएका समस्या समाधन कार्यदलले प्रतिवेदन पनि बनायो ।  तर, त्यो प्रतिवेदनका सुझाव कार्यान्यन हुन सकेका छैनन् ।

उता बचतकर्ताहरू आफ्नो बचत फिर्ता कहिले होला भनेर पर्खेर बसेका छन् । काठमाडौंका सडकमा दैनिक सामान्य व्यापार गरेर २०–५० रुपैयाँ जम्मा गर्ने बचतकर्ता सबैभन्दा ठूलो मारमा छन् ।

पछिल्लो समय पनि सहकारी पीडितहरूसँग सरकारले आठ बुँदे सम्झौता गरेको छ । तर, काम प्रभावकारी रूपमा अगाडि बढाउन नसेको पीडित पक्षको आरोप छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro