site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै गर्ने निर्णय, कार्यतालिका सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुने समेत निर्णय गरेको छ ।

Argakhachi Cement Island Ad

कार्यतालिकाअनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने, संगठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याउनु पर्ने, १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिनेछ ।

त्यसैगरी, वैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ । संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको छ ।

यसैगरी, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।  गत पुसमा जसपाको सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्