site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जलनका सबै घाइतेलाई ठूलो अस्पताल नै चाहिन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा तीन सैनिक गम्भीर घाइते भए । उनीहरूमध्ये एकजनाको सोही दिन र दुईजनाको भोलिपल्ट  कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

त्यसको तीन दिन नबित्दै चैत २९ गते डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी च्याउ टिप्न गएका तीन बालक घाइते भए । गम्भीर घाइते उनीहरूको पनि उपचारकै क्रममा मृत्यु भयो ।

यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका–८, रादेउमा भेडीगोठमा आगलागी हुँदा एक पुरुषको मृत्यु भयो । यो घटना पनि चैत २९ गते रातिकै हो । यसरी एक हप्ताको अवधिमा कर्णाली प्रदेशमा मात्र जलनका कारण सातजनाले ज्यान गुमाए ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकानुसार फागुनयता मात्र देशभर आगलागी र डढेलोका दुई हजारभन्दा बढी घटना भएका छन् । ती घटनामा दैनिक कम्तीमा दुईदेखि नौजनासम्म घाइते भएका छन् । आगोले जलेर फागुन १ देखि वैशाख २ गतेसम्म १३१ जना घाइते र ३० जनाको मृत्यु भएको छ । अधिकांश डढेलोका घटना तराई र आगलागीका अरू घटना तराई र पहाडी जिल्लामा भएको प्राधिकरणको तथ्यांक छ ।

आगलागीमा परी घाइते भएका अधिकांशको बाटोमा नै र कतिपयको उपचारका निम्ति स्वास्थ्य संस्थामा पुर्‍याउनासाथ मृत्यु भएको अस्पतालहरूको तथ्यांक छ ।

Global Ime bank

एउटै अस्पताललाई घाइतेको चाप धान्न मुस्किल
गम्भीर जलनका अधिकांश बिरामीलाई कीर्तिपुर अस्पताल नै पुर्‍याउने गरिएको छ । अहिलेको सिजनमा दैनिक ३५ देखि ४० जना उपचाररत रहेको अस्पतालको तथ्यांक छ । १०० बेडको अस्पतालमा ५० बेडमा प्लास्टिक सर्जरी उपचार भइरहेको छ । सन् २०२३ मा अस्पताल भर्ना भएका ७९० मध्ये १२७ जनाको मृत्यु भएको तथ्यांक छ ।

बर्न युनिट सञ्चालन गरिरहेका अरू अस्पतालहरूले एसिडजन्य जलनको समेत उपचार गरिरहेका छन् । त्रिवि शिक्षण अस्पतालले नौ वार्डको बर्न वार्ड सञ्चालन गरिरहेको छ । वार्डबाट वार्षिक ५० देखि ६० घाइतेको उपचार भइरहेको विभागीय प्रमुख डा. जयनमान श्रेष्ठ बताउँछन् ।

यस्तै, पाटन अस्पतालमा ६ बेड जलनका बिरामीका निम्ति छुट्ट्याइएको छ । यो वर्ष १२ जनाको उपचार गरिएको अस्पतालका प्रशासक तीर्थ भुजेलले जानकारी दिए ।

सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि वार्षिक करिब २०० बिरामीको उपचार भइरहेको तथ्यांक छ ।

कस्ता बिरामीको तत्कालै मृत्यु हुन्छ ? 
जलनका घाइतेको अवस्था कति गम्भीर वा कस्तो अवस्थामा मृत्यु हुनसक्छ भन्ने विषयमा दुई आधार हुन्छन् । ७० देखि ८० प्रतिशत भाग जलन भएका घाइतेलाई नेपालको परिवेशमा बचाउन कठिन रहेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई बताउँछन् ।

उनका अनुसार, २० प्रतिशतभन्दा बढी जलन भएका बिरामीलाई प्राथमिक उपचारसहित मुख्य उपचार केन्द्रमा पुर्‍याउनुपर्छ । ५० प्रतिशतसम्म भाग जलन भएमा उनीहरूलाई निरन्तर पानी, स्लाइन र प्राथमिक उपचार आवश्यक हुन्छ । पोलेपछि एक घण्टासम्म जलेको भागमा पानीले भिजाइरहनुपर्छ र प्राथमिक उपचार केन्द्रसम्म नपुर्‍याउन्जेल बढीभन्दा बढी जीवनजल पानी खुवाउनुपर्छ । यदि, प्राथमिक उपचार नपाएमा मुख्य उपचार केन्द्र पुर्‍याउँदासम्म निरन्तर पानी वा स्लाइन दिइरहनुपर्छ ।

तर, ४० प्रतिशतभन्दा कम जलन भए पनि उनीहरूको फोक्सोमा धुवाँको असर भए घाइतेको अवस्था जटिल हुन जान्छ । फोक्सोमा पुगेको खराब धुवाँ नै कार्बनमनोअक्साइड पोइजनिङ भएर मृत्यु हुने डा. जयनमान श्रेष्ठको अनुभव छ । यस्तै, दीर्घरोगीलाई जलन भएमा बचाउन कठिन हुन्छ ।

नेपालको सन्दर्भमा अस्पतालसम्म आइपुग्दा प्राथमिक उपचार, नुनपानी तथा स्लानइनको अभावमा धेरै घाइतेको मृत्यु हुने गरेको डा. राई र श्रेष्ठको अनुभव छ ।

संक्रमण र छाला अभावले निम्त्याइरहेछ मृत्यु
शरीरमा जति धेरै भागमा जलन फैलियो, त्यति नै बहुअंगमा असर पुग्ने जोखिम बढी हुन्छ । डा. राईका अनुसार, जलेका अधिकांश बिरामीको मृत्युको अर्को कारण छालामा हुने संक्रमण पनि हो । गहिरो पोलेका बिरामीको भित्रसम्मको छाला शल्याक्रिया गरेर दुई हप्ताभित्र नयाँ छाला राख्नुपर्ने हुन्छ ।

सामान्य ड्रेसिङ गरेका बिरामीको दुई हप्तासम्म नयाँ छाला राखिसक्नुपर्ने हुन्छ । अन्यथा, संक्रमण फैलिने सम्भावना धेरै हुन्छ ।

३० प्रतिशतभन्दा बढी शरीर जलेका अधिकांश बिरामी नयाँ छाला नपाएर नै संक्रमणका कारण मृत्यु हुने गरेको छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य भागबाट छाला लिएर पुर्न कठिन हुन्छ । छाला निकाल्न मिल्ने अंगहरू जलेमा घाइते निको हुने सम्भावना कम हुँदै जान्छ । यदि, शरीरको आधा भाग जलेमा घाइतेलाई बचाउनै कठिन हुन्छ ।

जलनका सबै घाइतेलाई ठूलो अस्पताल नै चाहिन्छ ? 
सरकारले हरेक आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा बर्न सेन्टर स्थापना गर्ने विषयलाई समेट्ने गरेको छ । तर, कतिपय घटनामा ठूला उपचार केन्द्रको खोजीमा घाइतेलाई दौडाउँदा बाटोमै मृत्यु हुने गरेका घटना छन् ।

यदि, जिल्ला र प्रदेशस्तरका अस्पतालहरूमा समेत जलनको प्राथमिक उपचारबारे तालिम, साधनस्रोत उपलब्ध गराउने हो भने कतिपय घाइतेको उपचार त्यहीँ सम्भव हुने डा. श्रेष्ठको धारणा छ । “यदि, मेडिकल अफिसर र सर्जनलाई मात्रै तालिम दिने र उपचार सामग्रीहरू उपलब्ध गराउने हो भने सानातिना घाइतेलाई त्यहीँ उपचार गर्न सकिन्छ । काठमाडौं पठाउनै परे पनि प्राथिमक उपचारपछि पठाउँदा मृत्युको जोखिम कम हुन्छ,” डा. श्रेष्ठ भन्छन् ।

जनशक्ति र साधनस्रोतको उपलब्धता नै जलनका बिरामीको मृत्युको जोखिमलाई कम गर्ने मुख्य उपाय भएको डा. राई समेत बताउँछन् । “सरकारले सबै प्रदेशमा बर्न सेन्टर, बर्न अस्पताल भनिरहन्छ, तर अस्पताल मात्रै समाधान होइन, विज्ञ र स्रोतसाधनको व्यवस्था अहिले भएकै अस्पतालहरूमा गरियो भने पनि जलनको उपचारमा ठूलो सहयोग पुग्छ,” डा. राई भन्छन् ।

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको चैत ६ गते प्रतिनिधिसभा बैठकमा नै सांसदहरूको प्रश्नको जवाफ दिँदै कीर्तिपुर अस्पताललाई जलनको प्रमुख अस्पतालका रूपमा विकास गर्ने बताएका छन् । त्यसका निम्ति अस्पताल विस्तार गर्न सरकारबाट दिने प्रक्रिया अघि बढेको पनि उनले जवाफ दिएका थिए ।

प्रधानमन्त्रीको यो आश्वासन कार्यान्वयन भएमा जलनका घाइतेलाई छुट्टै भवनमा राखी सहज उपचार गर्न सकिने अस्पतालका रिसर्ज इन्टरनेसल सर्जिकल आउटरिच प्रोग्रामका व्यवस्थापक हेमन्तध्वज जोशी बताउँछन् । यदि, कीर्तिपुर प्रमुख जलन अस्पतालका रूपमा विस्तार भएमा अहिलेको सेवाको स्तर बढाउन र उपचारमा फड्को मार्न सकिने उनको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement