
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीमा सुरक्षामा खटिएका प्रहरी, चालक र यात्रुहरूलाई मिठाइ बाँडेर शुभकामना आदानप्रदान गर्दै गृहमन्त्री लामिछानेले नागरिकका गुनासा सम्बोधन गर्दै सभ्य व्यवहार गरेर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
उनले प्रहरीका गुनासा र समस्याप्रति जानकार रहेको भन्दै प्याकेजमा नै समाधान गर्न छलफल गरेर काम गरिरहेको जानकारी दिए । उनले नेताको चाकडी नभइ जनताको हितमा काम गरे संगठनमा स्थापित हुनसक्ने बताए ।
गृहमन्त्री लामिछानेले उपत्यकालाई २४ घण्टा नै चलायमान बनाउँदै आर्थिक अवस्था र रोजगारको सिर्जना गर्न सकिने उल्लेख गरे । २४ घण्टा नै व्यवसाय सञ्चालन गर्दा नियम र कानुन कडाइका साथ पालना गराइने र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।