
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ स्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट अपरिचित समूहले काटेको छ । बिहीबार राति १ बजे आएका १५/२० जनाको समूहले ठाकुरानीको बारीको बुद्धचित्तको बोट काटेको हो ।
बोट काटेको समूहले उनको घरमा समेत चारवटा सकेट बम राखेको थियो । बम राखिएको ठाउँ नजिक जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट समेत फेला परेको छ । स्थानीयले राति नै कोभ्रे प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरी पुग्दा बोट काटिएको थियो ।
प्रहरीले बोट काट्ने समूहमाथि अनुसन्धान सुरु गरेको छ । काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार केही युवामाथि आशंका गरिएको छ । तर, उनीहरू भेटिएका छैनन् ।
उक्त बोटको बुद्धचित्तको दाना गत वर्ष ९० लाख रुपैयाँमा बिक्री गरिएको थियो । यो वर्ष समेत बिक्रीका लागि विभिन्न व्यापारीहरू ठाकुरानीको घर पुग्ने गरेको खुलेको छ ।