काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने÷खाने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघट समेत गरी सरकारलाई तीन लाख ७७ हजार २३६ रुपैयाँ हानिनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार गरेको पाइएपछि अख्यिारले तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र सोही विद्यालयका तत्कालीन लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा दुवै जनासँग तीन लाख ७७ हजार २३६ रुपैयाँ बिगो दाबी गरिएको छ ।