site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
६ महिना प्रतिपक्षमा बसेपछि एमालेले फिर्ता लियो मुख्यमन्त्रीलाई दिएको समर्थन

काठमाडौं । कोसी प्रदेशमा ६ महिना प्रतिपक्षमा बसेको नेकपा (एमाले)ले सोमबार मुख्यमन्त्रीमा केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको समर्थनमा गएको असोज २७ गते नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्की मुख्यमन्त्री बनेका थिए ।

कांग्रेससहितको तत्कालीन सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, संविधानको धारा १६८(५) को सरकार बनाउँदा दलीय 'ह्विप' नलाग्ने भएपछि कार्की एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि उमेदवारी दिएका थिए ।

कांग्रेसका आठ सांसदको समर्थन लिएर मुख्यमन्त्रीको उमेदवार बनेका कार्कीलाई बहुमत पुर्‍याउन एमालेले साथ दिएको थियो । तर, पछि प्रदेशको निर्णयमा केन्द्रीय गठबन्धनले हस्तक्षेप गरेपछि कार्की एमालेलाई सरकारमा सहभागी गराउन असफल भएका थिए ।

त्यसपछि कार्कीले ‘प्रदेशलाई बलियो बनाउन सर्वदलीय सरकार’को धारणा अघि सारेका थिए । कार्कीको धारणमा असहमति जनाउँदै एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।

“कार्तिक १८ देखि हामी प्रतिपक्षमा बसेका थियौँ,” एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बाह्रखरीसँग भने, “हामीले राजनीतिक रूपमा त त्यसबेला नै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका हौँ । तर, प्रक्रियागतरूपमा लिन बाँकी थियो ।”

उनले अन्य दलले समर्थन दिएपछि बहुमत रहेकाले एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।

संसदीय अभ्यासमा सरकारलाई समर्थन दिएको पार्टीलाई सत्तापक्षकै सूचीमा राख्ने गरिन्छ । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि संसद्‌मै उसको प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्रश्न उठेको थियो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त कांग्रेसलाई प्रतिपक्षको मान्यतासँगै सेवा सुविधासमेत नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, उनको रिटमा सुनुवाइ नहुँदै सत्ता गठबन्धनमा बदलाब आएपछि नेपाली कांग्रेस सरकारमै सामेल भएको थियो ।

०७९ चैत १७ मा कांग्रेस सरकारमा गएपछि कांग्रेसलाई प्रतिपक्षको मान्यता र सेवा सुविधा नदिन माग गरेको रिटको महत्त्व घटेको थियो । तर, त्यसबाट नजिर प्रतिपादन हुने अपेक्षा गरिए पनि अहिलेसम्म उक्त रिटमा फैसला भएको छैन ।

संविधान र कानुन निर्माणमा सक्रिय सहभागिता जनाउनेमध्येका वरिष्ठ अधिवक्ता रामनारायण बिडारी सरकारलाई विश्वासको मत कायम राखेर विपक्षी नहुने बताउँछन् । सरकारलाई दिएको विश्वासको मत कायम रहँदासम्म सत्तापक्ष नै हुने भन्दै उसलाई विपक्षीको मान्यता नहुने उनको तर्क छ ।

तर, एमालेले कोसीमा सरकारलाई दिएको समर्थन कायम राखेर झन्डै ६ महिना प्रतिपक्षी भूमिकासहित सेवा सुविधासमेत लिएपछि सोमबार समर्थन फिर्ता लिएको छ । यस्तो अवस्थाबारे राखिएको जिज्ञासामा बिडारीले त्यस्तो अवस्थाबारे कानुन मौन रहेको बताए ।

“कुनै दलले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षीको सुविधा लिन्छ भन्ने परिकल्पना संसदीय व्यवस्थामा गरिँदैन । यस्तो त्यसकारण त्यस्तो हुँदा के हुने भन्ने कानुनी व्यवस्था पनि रहेको छैन,” बिडारीले बाह्रखरीसँग भने, “यदि यस्तो भयो र अदालतमा प्रश्न उठाइयो भने अदालतले व्याख्या गर्छ ।”

उनले यसअघि नै प्रतिनिधिसभा सदस्य सुवालले लगेको रिटमा सर्वोच्चले फैसला गर्दा यस विषयको अन्योल अन्त्य हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro