site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइन लागेर माग्नेहरू नै २४ गते राजाले प्रधानमन्त्री बनाउँछु भन्दा मानेनन् 
SkywellSkywell

२०४६ को जनआन्दोलनको उत्कर्ष हुँदै गर्दा राजा वीरेन्द्रबाट प्रधानमन्त्री नियुक्त भए, लोकेन्द्रबहादुर चन्द ।  उनी २०४६ चैत २४ को बिहानीमा प्रधानमन्त्री नियुक्त भएका थिए ।  त्यसको दुई दिनपछि मुलुकमा ३० वर्षे निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य हुँदै दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा भएको थियो । 

आन्दोलनकारीसँग वार्ता गर्ने जिम्मेवारीसहित चन्द प्रधानमन्त्री नियुक्त भएका थिए । उनी त्यतिखेर जम्माजम्मी १३ दिनका लागि मात्र प्रधानमन्त्री भए । सँगै उनलाई १३ दिने प्रधानमन्त्रीको उपाधि मिलेको थियो । 

उनै चन्दसँग २०४६ चैत २६ प्रजातन्त्रको घोषणा र संक्रमणकालीन अवस्थाबारे केही समयअघि बाह्रखरीका हरिबहादुर थापा बलराम पाण्डेले गरेको कुराकानीमा आधारित आलेख ।
...
म २०४६ को जनआन्दोलन पनि उत्कर्षमा पुगेका बेला छोटो समयका लागि प्रधानमन्त्री भएँ । आन्दोलन चलिरहँदा मरीचमानसिंह श्रेष्ठ प्रधानमन्त्री हुनुहुन्थ्यो ।  आन्दोलनले चरम रुप लिएपछि दरबारमा राजा वीरेन्द्रबाट भूतपूर्व प्रधानमन्त्रीहरु र राष्ट्रिय पञ्चायतका वर्तमान तथा पूर्व अध्यक्षहरुलाई बोलावट भयो, त्यो २०४६ चैत २३ गते थियो ।

KFC Island Ad
NIC Asia

त्यसको चारदिन अघिमात्रै मरिचमानसिंहजीकै मन्त्रिपरिषद्मा हेरफेर गरिएको थियो । झन् आन्दोलन चर्किदै गएपछि राजाले परामर्श गर्न हामीलाई बोलाइबक्सेको थियो ।  दरबारमा मसहित पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नागेन्द्रप्रसाद रिजाल, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, पूर्वअध्यक्ष राजेश्वर देवकोटा र रामहरि शर्मा थिए ।

दरबारमा मरिचमानसिंहले सम्हाल्न नसक्ने निष्कर्षसहित कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुराकानी चल्यो । पूर्वअध्यक्ष रामहरि शर्माले आफू आँखा राम्रोसँग देख्न नसक्ने आफू सरकारमा बस्न नसक्ने आशय व्यक्त गरे ।

Royal Enfield Island Ad

त्यसपछि सूर्यबहादुर थापालाई सोधियो । उहाँले लामो समयका लागि भए त हुन्थ्यो २–३ महिनाका लागि म बस्दिनँ भन्नुभयो । अनि आमा बिरामी भएको हुँदा बाहिर रहेर सहयोग गर्ने धारणा राख्नुभयो ।

तत्कालै नवराज सुवेदीतिर इशारा गर्दै राजा वीरेन्द्रबाट हुकुम भयो, “सूर्यबहादुर थापा र रामहरि शर्मालाई गाडी चढाएर पठाऊ । हामी छलफल गर्छाैँ ।”

त्यसपछि राजाले मतिर हेरेर हुकुमभयो, “तिमी पनि नबस्ने लोकेन्द्र ?”

राजाको त्यस्तो बोली मलाई राम्रो लागेन । हिजोसम्म हामीबाट सबै प्रधानमन्त्री पाउँ भनी लाइन लाग्ने काम हुन्थ्यो । तर आज राजाले छोटो समयका लागि प्रधानमन्त्री बनाउँछु भन्दा सबैले नमान्ने अवस्था देखियो ।

मैले पहिला के भनेको थिएँ भने, “सरकार, अरुलाई बक्सियोस् म पूरा सहयोग गर्छु ।” अरू राजेश्वर देवकोटाजी र नागेन्द्रप्रसाद रिजालजीको पनि नाम त आएको थियो । तर राजाले उहाँहरूलाई नदिनेजस्तो गर्नुभयो ।

मलाई फेरि भन्नुभयो– “तिमी के गर्छौ त ?”

मैले भनेँ, “सरकार म बस्छु ।”

त्यो बेलाको संविधानमा सरकारसम्बन्धी एउटा धारा थियो । राजाले समस्या परेका बेला जो सुकैलाई पनि प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था थियो । कुनै कामका जिम्मा दिँदा त्यो सकिएपछि वा काम भएन भने त्यो सरकारले राजीनामा गर्नुपर्नेछ ।

२०४६ सालको आन्दोलनलाई केहीले यो आन्दोलन राजाविरुद्ध हो भनेका थिए । राजाकै खिलाफमा भएकाले यसलाई दबाउनुपर्छ भनेका थिए ।

मैले भनेँ, “यो राजसंस्थाविरुद्धको आन्दोलन होइन । यो प्रजातन्त्रको माग हो, सरकार । यसको दोष सरकारलाई पनि जान्छ । मेरो गाउँका मान्छेले पनि रोमानियामा के भइरहेको छ भनेर जान्न पाउने अवस्था आइसकेको छ । अब समयअनुसारको व्यवस्था हुनुपर्छ ।”

सायद, त्यही कारणले पनि हो कि मलाई प्रधानमन्त्री पद बक्सियो, मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद् विघटन भयो । 

२०४६ चैत २४ का दिन शाही घोषणासँगै मलाई प्रधानमन्त्री नियुक्त गरियो । मलाई प्रधानमन्त्री नियुक्त गर्दाको शाही घोषणामा ‘विभिन्न राजनीतिक विचारधारा राख्ने व्यक्तिहरूसँग वार्ता गर्नेछ’ भन्ने उल्लेख गरिएको थियो ।

उक्त शाही घोषणा भनिएको थियो, “लोक सम्मतिको परम्परालाई बुझी देशमा शान्ति सुरक्षा र अमनचैन कायम राख्नुपर्नेमा सो कुरा वर्तमान मन्त्रिपरिषद्ले गर्न नसकी जनधनको क्षति भएकाले नेपालको संविधान बमोजिम वर्तमान मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौं । यही घोषणाद्वारा लोकेन्द्रबहादुर चन्दलाई मन्त्रिपरिषद् गठन गर्न अह्राइबक्सेका छौं ।”

मन्त्रिपरिषद्मा नैनबहादुर स्वाँर, पशुपति शमशेर, अच्युतराज रेग्मी थिए । त्यतिखेर सहरमा आन्दोलनमा चर्किरहेकै थियो । अझ मन्त्रिपरिषद् घोषित भएकै दिन त ठूलै जुलुस निस्किएको थियो ।

मेरो नियुक्ति भएको पर्सीपल्ट बिहानै राजाको दर्शन भयो । अनि त्यहीँ साँझ दलमाथिको प्रतिबन्ध फुकुवा प्रक्रिया र वार्ता कुरा सुरु भयो ।

त्यतिखेर गणेशमानजी वीर अस्पतालमा हुनुहुन्थ्यो । म त्यहाँ गएँ । अनि मैले भनेँ– “सबै कुरा ठीक भइसकेको छ एकपल्ट राजाकहाँ जानुहोस् ।”

उहाँले भन्नुभयो– “म बिरामी छु, जान्न ।”

मैले भनेँ– “अब केही भएछ भने त्यसको जिम्मेवारी मैले लिन्छु ।”

त्यसपछि गणेशमानजीले भन्नुभयो– “म जान्न र जान पनि हुँदैन । म गएर राजालाई भेटेँ भने गणेशमान एक्लै राजालाई भेटेर के–के फाइदा लियो भन्ने पर्छ । त्यसैले म त्यो गर्न चाहन्न ।”

बरु किसुनजीलाई राजाकहाँ लैजानुहोस् भन्नुभयो । त्यसपछि म किसुनजीकहाँ गएँ । उहाँलाई लिएर प्रधानमन्त्री क्वाटर बालुवाटारमा बस्यौँ । 

कुराकानी हुँदा कम्युनिष्टका मान्छे पनि लैजानुपर्‍यो भन्ने भयो । किसुनजीले भन्नुभयो, “किन चाहियो कम्युनिष्ट ? हामी भए पुगिहाल्छ ।”

उनीहरूसँग सम्पर्क गरेर साहना प्रधान र आरके मैनाली, गिरिजाप्रसाद कोइरालालगायत हुनुहुन्थ्यो ।

२०४६ चैत २६ मा प्रजातन्त्र पुनःस्थापना भयो । हामीलाई राजनीतिक दलहरुसँग वार्ता गर्ने जिम्मेवारी दिइएको थियो । राजनीतिक दलहरुसँग वार्ता गर्न बेग्लै टिम थियो । अच्युत रेग्मीको पनि बिन्तीपत्र थियो । उनको बिन्तीपत्र म पनि हुनु पाउनुपर्छ भन्ने । 

कमलादीको प्रज्ञा प्रतिष्ठानमा २०४७ वैशाख २ गते वार्ता भइरहेको थियो । रेग्मीले मलाई फोन गरे– “एकैछिन आउनुहोस्, गणेशमानजी, किसुनजी पनि आउने कुरा छ एकैछिन भेटेर जानुहोला ।”

मलाई त्यो एक किसिमको षडयन्त्र हो कि जस्तो लाग्यो । किनभने उनी पूर्वकांग्रेस नै थिए । म त्यहाँ गएँ, त्यहाँ घेराबन्दी रहेछ । हामीहरुबीच धेरै कुरा सुल्टिइसकेको थियो । प्रज्ञा प्रतिष्ठानमा मान्छे चाहिँ भीड जम्मा रहेछ । मेरो गाडी छेकियो । तारानाथ रानाभाट हुनुहुन्थ्यो । मैले उहाँलाई माइक खोजिदिनुस् त मैले जनतालाई स्पष्ट कुरा भन्छु भनेर भनेँ ।

कहाँ के पाइन्थ्यो र ? त्यसपछि म यो वार्ता टोलीलाई माथिल्लो तलामा सार्दै गएँ । त्यहाँ खाना केही थिएन । राति सेनाले हामीलाई उद्धार गर्नु परेको थियो । अनि बालुवाटारमा गएँ । खाना पशुपति शमशेरकहाँ बनाइएको रहेछ । खाना पठाइदिए खाएँ ।

अर्को दिन गणेशमानजी राजाको दर्शनभेटमा जाँदा हिजोको घटनाप्रति म निकै दुःखी छु भन्नुभएछ । उहाँले भन्नुभएछ, “म आउन खोजेको थिएँ, तर कार्यकर्ताले आउन दिएनन् । जिपमा चढिसकेपछि कार्यकर्ता बाटोमै सुतिदिए । आउन सकिनँ ।”

त्यतिखेर पार्टीहरुका एउटा ऐतिहासिक क्षणलाई राम्रोसँग नलिएर खोसेरै लिएका हौँ जस्तो गरे । राजाले ‘एक्सन’ लिएको भए त्यसो हुँदैनथ्यो ।

एकजना विदेशीले मलाई सोधे– “अन्तरिम सरकार कहिले बन्छ ?”

उनको भनाइ रहेछ– “बहुदल र पञ्चायतको संयुक्त सरकार ।”

मलाई बीबीसीका पत्रकार मार्क टलीले सोधेका हुन् । उनलाई मैले जवाफ थिए कि ‘अन्तरिम सरकार त यही त हो नि ।’

त्यसको अर्थ भने म आफैं बस्न खोजेको जस्तो लाग्यो ।

दलहरूसँग वार्ता सकिएपछि २०४७ वैशाख ६ मैले राजीनामा दिएँ । मैले राजीनामा दिनुअघि राजासँग भनेँ, “अब यिनीहरू आइसकेका छन् । सरकारले पनि यत्रो त्याग गरिबक्स्यो । फेरि हामी नै बस्यौँ भने राम्रो हुँदैन । तर सरकारबाट जे हुकुम हुन्छ, मैले त्यही गर्छु ।”

मलाई सरकारमा बस्न मन थिएन । त्यो बेला संक्रमणकालमा शान्ति स्थापना गर्न सक्ने गणेशमानजी हुनुहुन्छ भन्ने कुरा भयो ।

मैले भनेँ, “सरकार ! गणेशमानजीलाई प्रधानमन्त्री बक्सियोस् ।”

राजाले भन्नुभयो, “उनी बस्दैनन् होला ।”

राजासँग त्यसबारे सूचना रहेछ । गणेशमानजीलाई त्यसबेला ४–५ घण्टा बाथरुममै लाग्थ्यो । अनि २०४७ वैशाख ६ गते मेरो राजीनामा स्वीकृत भयो भने आमनिर्वाचन गर्ने जिम्मेवारीसहित कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुनुभयो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro