site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पञ्चायत गयो, ‘तेरो’ र ‘मेरो’को धङधङी गएन
SkywellSkywell

पञ्चायती व्यवस्था गएको ३४ वर्ष भयो, तर त्यो पद्धतिका धङधङीमुक्त भइयो कि भइएन ? पञ्चायतकालीन राज्य चरित्र धङधङीले यतिखेर व्यवहारमा कसरी गाँजिरहेको छ त ? लामो समय भइसक्दा पनि निर्दल र व्यक्तिवादी चिन्तनमा किन परिवर्तन भएन त ? निरंकुशकालीन सोच–चिन्तन किन बदलिएन त ? यिनै र यस्तै प्रश्न राजनीतिक चिन्तक तथा अध्येता हरि शर्मासँग बाह्रखरीले राखेको थियो । तिनै प्रश्नको जवाफ शर्माले यसरी दिए ।

म निर्दलीय पञ्चायतकालमा बहुदलीय व्यवस्थाका निम्ति सक्रिय थिएँ । त्यसबखत ‘एक्टिभिष्ट’ भनौं या कार्यकर्ता भएका कारण राजनीतिमा गहिरो रुचि राख्ने नै भए ।

त्यो कालखण्डदेखि यतिखेरसम्म संरचनागत वा व्यवहारगत रूपमा के परिवर्तन भयो या भएन ? गणतन्त्रपछि पनि त्यही पुराना तौरतरिका यथावत छन् वा कसरी परिवर्तन भइरहेका छन् ? ती पुराना निर्दलीय व्यवस्थाका व्यवहार र सोचले पनि हामीलाई किन अड्काइरहेको छ कि भन्ने लागिरहन्छ । 

KFC Island Ad
NIC Asia

यसलाई ठूलो जटिल सैद्धान्तिक प्रश्नका रूपमा मात्र नभएर मनोवैज्ञानिक सामाजिक रूपमा पनि हेरिनुपर्छ । तर, कसैले अध्ययन गरेजस्तो मलाई लाग्दैन । जसरी शरीरमा रोगको किटाणुको प्रभाव पर्‍यो भने निको भइसकेपछि पनि त्यसको केही प्रभाव कायमै रहन्छ । 

यसलाई ‘प्याथोलोजिकल इम्प्याक्ट’ भनिन्छ । कसैलाई टाइफाइड भयो भने त्यसले पछि कुनै अंग प्रत्यङ्गमा हिर्काउन सक्छ । पुराना मान्यता–मूल्य सोच समाजमा जरा गाडेर बसेका हुन्छन्, ती किन सहजै हराउँदैनन् भन्ने हो ।

Royal Enfield Island Ad

सामाजिक मूल्य–मान्यता त अनेक कारणले परिवर्तन नहुन पनि सक्छन् । जस्तै धर्मका कारणले, ऐतिहासिक विश्वासका कारणले, परिवारका कारणले, हामीजस्ता समाजमा जात र भूगोलका कारणले रहिरहन्छ । 

तर मानिसका विचार र क्रियाकलापमा मात्रै होइन शारीरिक रूपमा पनि भौगोलिकता र संस्कृतिले पनि प्रभाव पारेको देखिन्छ ।

विगतमा नेपाल इतिहासको राजनीतिक अवस्था हेर्दा जटिलता देखिन्छ, बहुदल पुनःस्थापनादेखि गणतन्त्रसम्म आउँदाका अवस्थासम्म । यस्तो विषयमा कसरी हेर्नुपर्छ जस्तो लाग्छ भने दोस्रो विश्वयुद्धपछि संसारभरका औपनिवेशिक मुलुकहरू उपनिवेशबाट स्वतन्त्र हुँदै थिए । त्यहीकालमा २००७ सालको क्रान्तिसँगै नेपालमा प्रजातन्त्र आएको हो । 

चीनको कम्युनिष्ट क्रान्ति, भारतको स्वतन्त्रता संग्राम, स्वाधीनता आन्दोलन । यी दुवै आन्दोलन एकांकी थिएनन् । आफ्नै किसिमबाट मात्रै मञ्चन भएका थिएनन् । अन्य देशमा पनि परिवर्तन भइरहेका थिए ।

मलाई सधैँभरि द्विविधा लाग्छ कि त्यति ठूला आन्दोलन भए जसले मुलुकलाई स्वाधीन बनायो । तिनै मुलुक केही वर्षमै फेरि तानाशाही व्यवस्थामा प्रवेश गरेको हामीले पाउछौँ ।
 
भारतमा पनि ७० वर्षपछि अधिनायकवादी व्यवस्थाको पुनरोदय हुन लागेको देखिन्छ । प्रश्न उठ्छ– सन् ४० कि ५० को दशकमा भएका स्वाधीन आन्दोलन तथा संग्राम लोकतान्त्रिक थिए कि थिएनन् ?

नासिरदेखि सुकार्नोसम्म हेर्दा त्यो प्रश्न उठ्छन् ।

बंगलादेशको हेर्दा पनि बंगलादेशको स्वतन्त्रता आन्दोलन निश्चय पनि समानता र स्वतन्त्रताका लागि थियो भने यतिखेर बंगलादेश जुन ठाउँमा पुगेको छ । त्यसले के बताउँछ त ? 

बाह्रखरीको प्रश्न पनि ३४–३५ वर्षपछि पनि पुरानो राजनीतिक मूल्य मान्यताहरू नभत्किएर व्यवहारमा खासै परिवर्तन नआएकालाई कसरी हेर्ने भन्ने नै छ ।

२०४६ को आन्दोलन, प्रजातन्त्र स्थापनाका लागि थिएनन् त ? ती आन्दोलनले लोकतान्त्रिक चरित्र, भावना लोकतान्त्रिक काम गर्ने तौरतरिकामा काम गर्न नसकेर मानव समाजको पुरानै जातभात, मेरो मान्छे, तेरो मान्छे अर्काको मान्छे भन्नेमै राख्यो त ?

राजनीतिमा हुने विवाद यथावत् राखेको हुनाले परिवर्तनलाई कसरी हेर्ने भन्ने प्रश्न उठ्छ । स्वाभाविक पनि हो । परिवर्तनले जुन मूल्य–मान्यता जसरी उजागर गरेको थियो त्यसलाई संस्थागत गर्न कति समय लाग्छ भन्ने हो । 

अब त्यसलाई ‘फास्ट फर्वार्ड’ मा जाऔँ– ०४६ सालको जनआन्दोलनले के गर्‍यो त ?

त्यो आन्दोलनले सक्रिय राजतन्त्रबाट संवैधानिक राजतन्त्र बनायो । दलहरू प्रतिबन्धित थिए । दलहरूमाथिका प्रतिबन्ध फुकुवा भयो । सँगै संवैधानिक हिसाबले नै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता हुँदै अनेक किसिमका स्वतन्त्रता दियो ।

पञ्चायतकालमा स्वतन्त्रतामाथि लगाइने अंकुश हट्यो । ‘सेन्सरसिप भनेको के हो ?’ यो पुस्तालाई सोधियो भने कसैले बताउन सक्छ भन्ने मलाई लाग्दैन । यो पुस्ताले ‘इन्टरनेट सर्ट डाउन’ भन्न सक्ला ।

तर यो पुस्ताले ‘सेन्सरसिप’ भाका बुझ्दैन, किनभने यो पुस्ताले ‘सेन्सरसीप’ देखेको नै छैन । अर्को महत्वपूर्ण कुरा के हो भने यो समयमा ‘सेल्फ सेन्सरसिप’ चाहिँ छ ।

मानिस लेख्न या बोल्न डराइरहेको छ । हिजो प्रकाशन स्वतन्त्रतामा सम्पादक–प्रकाशकलाई थुन्ने वा प्रकाशन बन्द गरिन्थ्यो भने आज विभिन्न किसिमका मानहानिबाट प्रकाशक वा लेखकलाई समस्यामा पारिन्छ । लगातार दुःख दिने काम भइरहेकै छ ।

हिजो पञ्चायतकालमा ‘सेन्सरसिप’ थियो आज ‘सेल्फ सेन्सरसिप छ’ । राज्यको चरित्रमा परिवर्तन हुँदाहुँदै पनि हामीले त्यस्तो अवस्था बेहोर्नुपरेको छ । आजको दिनमा ‘सोसल मिडिया’को चक्करमा कति बोल्न हुने, कति बोल्न नहुने भन्ने अवस्था छ । हिजो खुलेर बोलिन्थ्यो भने आज बोल्न दकस पर्ने अवस्था छ ।

365-1712546919.JPG
 

हिजो शासकीय चरित्र त्यही किसिमको थियो भन्ने एकातिर छ भने तिनै व्यवहार विभिन्न स्वरूपमा फर्किएर आएको देखिन्छ । राजनीतिक संस्कारको ‘प्याथोलोजी’ विभिन्न स्वरूपमा पुनरावृत्ति भइराखेको छ । त्यसलाई निराकरण कसरी गर्ने भन्ने कुरा महत्व छ ।

हिजो पनि राजनीतिक रूप थियो, आज पनि राजनीतिक रूप छ । हिजो पनि राजनीतिक भ्रष्टाचार थियो र आज पनि छ । आर्थिक विचलन हिजो पनि थियो आज पनि । तर त्यसको स्वरूप मात्रै परिवर्तन भएको छ । त्यसलाई सजिलै निराकरण गर्ने उपाय आएका छन् कि छैनन् भन्ने कुरा आयो भने अलिकति सार्थक बहस पाउँछ जस्तो लाग्छ । मानिसको चरित्र सजिलो गरी बदलिन्छ कि बदलिँदैन यो ठूलो उदाहरण हो ।

तपाईंहरूले उठाएको यो प्रश्न महत्वपूर्ण छ । 

कुनै जनावरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि जस्ताको त्यस्तै हुन्छ भनिन्छ । त्यो पशुमा मात्रै होइन, मान्छेमा पनि लागू हुन्छ । मान्छेको चरित्र, बनोट सजिलैसँग परिवर्तन हुँदैन । त्यसमाथि मान्छेको समाजको त झनै हुँदैन ।

ती पुराना चरित्र किन परिवर्तन भएन भनी तपाईंहरूले उठाएको प्रश्नमा, करिब ३५ वर्ष लामो राजनीतिक यात्रापछि पनि राजनीतिमा संरचनात्मक परिवर्तन त भएको छ । संसद्मा संख्या हेर्दा त्यो लाग्छ । मिडिया पनि बग्रेल्ती खुलेका छन् । 

पुस्तक पसलमा गएर हेर्दा ३५–३६ सालमा पढ्ने पुस्तकको ‘टाइटल’ भन्दा यतिखेर बढेकै छ । लेख्ने मान्छेले लेखिराखेकै छन् । आवाज थप बुलन्द हुँदै गएको छ । तर चुरो कुरो, मूल्य र मान्यतामा परिवर्तन नभएको देखिन्छ । जुन राजनीतिमा सदादेखि नै थियो ।

संरचना निर्माण गरेपछि ती कुरा पनि नियन्त्रण हुन्छन् भन्ने थियो । भ्रष्टाचार हिजो र आज फरक छैन । भ्रष्टाचारमा नियन्त्रण गर्न जुन संरचना निर्माण गरेका छौँ, त्यसले काम गर्न सकेको छैन । 

यसकारण भ्रष्टाचारको चरित्र र स्वरूप परिवर्तन भए होला, संरचना पनि त परिवर्तन भएको छ । ‘अख्तियार दुरूपयोग निवारण आयोग’ भन्ने थियो प्रजातन्त्रसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयो । हिजोको प्रेस काउन्सिलले जे हेर्नुपर्थ्यो आज अर्कै कुरा हेरिरहेको छ ।

तर के भने प्रश्न उठ्छ कि यति संरचनामा परिवर्तन हुँदा पनि व्यवहारमा किन आएन ?

लोकतान्त्रिक गणतन्त्र आयो, राजालाई फ्याक्यौँ । तर नेताहरू राजाजस्ता भए । ‘किन ?’ प्रश्न यहाँ उठेकै छ । राजाजस्ता किन भए ? किनकि सबैलाई राजाजस्तै हुने मनसाय अन्तरकुन्तरमा रहेछ । त्यो सजिलैसँग पखालिन्छ कि पखालिँदैन ? 

बीपी कोइराला भन्नुहुन्थ्यो, ‘हरेक मान्छेको मनमा छुचुन्द्रो हुन्छ ।’

त्यो छुचुन्द्रोलाई परिवर्तन गर्न सकिन्छ कि सकिँदैन ? नेपाली समाजको चुरो किन परिवर्तन हुन सकेन ?

हिजो पञ्चायतमा ‘मेरो मान्छे, ‘तेरो मान्छे’, ‘व्यवस्थाको मान्छे’, ‘इतर मान्छे’ थियो । आज पनि त्यही किन छ ? हिजोको ‘तेरो’ र ‘मेरो’, ‘भेगीय’, ‘जातीय’ रूपमा थियो भने आज दलीय रूपमा होला । दलभित्र पनि गुटमा होला । त्यसमा पनि उत्तर, दक्षिण, पूर्व पश्चिम होला ।
 
हिजो को कता बसेको थियो ? कता खान्छ भन्ने थियो । नेपाली राजनीतिक वृत्तको संस्कृति साँघुरो र व्यवस्था मात्रै फराकिलो हुँदै गएको हो कि ?  एकातिर संरचनाहरूले खुलापनको कल्पना गरिदियो । तर, हामी जस्ताको त्यस्तै मात्र होइन कि अझ संकीर्ण हुँदै गएको र परिवर्तन नभएको आभास हुन्छ ।

यहाँनेर प्रश्न उठ्छ ?

संस्थाहरू परिवर्तनका लागि महत्वपूर्ण छन्, तर मान्छेको चरित्र र व्यवहार कसरी बदलिन्छ ? मान्छेको चरित्र र व्यवहारका हकमा एउटा धारणा के छ कानुनहरूबाट बदलिन्छ भन्ने छ । कानुनको प्रयोग र पालनाबाट मान्छेको मूल्य–मान्यताको विकास हुन्छ भनिन्छ ।

सजिलैसँग बुझ्न उदाहरण दिन पनि सकिन्छ– ‘यो राजनीतिक परिदृश्यसँग मिल्छ कि मिल्दैन, तर मलाई बोल्न सहयोग हुन्छ ।’

368-1712546920.JPG
 

त्यो के हो भने काठमाडौंमा हर्न बजाउन नपाइने नियम । काठमाडौंमा हर्न नबजाउनू भनियो । कानुनले निषेधित गरेसँगै मानिसले पालना गरे । त्यो काठमाडौंले देखायो । दक्षिण एसियामा सबैभन्दा कम हर्न बज्ने देश बनेको छ ।

अब कसैले हर्न बजायो भने हामीलाई झिजो लाग्ने भयो ।  कानुनबाट पनि परिवर्तन गर्न सकिन्छ भन्ने देखायो ।  कानुनको प्रयोग त हुँदोरहेछ । तर, ट्राफिकको व्यवहार उस्तै छ कि फरक भयो त भन्ने हो भने उस्तै छ । टुँडिखेल जत्रो बाटो भयो भने काठमाडौंमा जाम हुन्छ कि हुँदैन ? भन्ने प्रश्न छ ।

कानुनले कति समय लिन्छ त मान्छेको व्यवहार र चरित्रमा परिवर्तन ल्याउनका लागि ?

हामीले कानुनलाई एउटा संस्था मान्ने हो भने शासकीय संस्थाहरूल शासकीय चरित्रमा परिवर्तन ल्याए कि ल्याएनन् ? आजको मूलभूत प्रश्न त्यो हो । व्यवस्था परिवर्तनले शासकीय चरित्र या त्यसलाई अनुशीलन गर्नेमा परिवर्तन आएन भन्नेमा बाह्रखरीले चिन्ता लिएको देखिन्छ ।

त्यसलाई हेर्दा के देखिन्छ भने दुईवटा कुरा जोड्नुपर्ने हुन्छ । नेपाली राज्यको चरित्र र स्वरूप । म धेरै वामपन्थी ‘रेटोरिक’मा जान पनि चाहन्न । तर राज्यको चरित्र र स्वरूपमा एकाधिकार भएको राजतन्त्रीय शासन पद्धतिबाट बहुदलीय समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्रमा त हामी परिवर्तन भयौँ ।

तर हाम्रो व्यवहार तद्नुकूल किन परिवर्तन भएन ? 

यहाँ के छ मानिस यस्तो जात हो कि जो लोभी–पापी छ । र, नेपालको आर्थिक र सामाजिक विकासक्रममा राज्यसँग मात्रै साधनस्रोत देखिन्छ ।

मलाई सम्झना पनि छ २०४६ सालको परिवर्तनपछि निजी तवरमा जब बजार खुल्न थाले । बैंक खुल्न थाले, एयरलाइन्सहरू कम्पनी थाले  । तर, सामान्य मानिसको काम गर्ने आय आर्जन गर्ने क्षेत्र घुमिफरी राज्य नै थियो ।

साइकल चलाउन पनि सरकारको सानो जागिर खानैपर्ने बाध्यता थियो ।

आफ्नो घरमा गाडी हुँदाहुँदै राज्यको गाडीमा हिँड्दा अर्कै सान–शौकत हुने देखियो । राज्यमा जुन कल्पना छ कि राज्य भनेको शासन गर्न बनेको हो । राज्यको साधन स्रोत दोहन गर्न हो ।

राज्यको साधन स्रोतमा पस्यौँ भने हिजो गाउँमा कालो टोपी लगाएर वा चाँद टाउकोमा राखेर जाने मान्छेको उपस्थितिले राज्य एउटा नियन्त्रणका लागि हो । राज्य एउटा दोहन गर्न थियो । राज्यले जे पनि दिन सक्छ । राज्यभन्दा विकल्प छैन भन्ने थियो ।

राज्य र राजनीतिभन्दा अर्को ठूलो कुरा छैन त ?

नभए विनोद चौधरी किन राजनीतिज्ञ हुनुपर्छ ? विश्वभरको विख्यात अर्बपति भएको मान्छे राजनीतिमा किन आउँछ ? हरेक मान्छे राजनीतिमा किन आउन खोजिरहेका छन् ? व्यापारीले व्यापार मात्र गरे हुँदैन र ? 

हरेक मान्छे राजनीति किन गर्न खोज्छ ? त्यसले के बताउँछ भने राजनीतिबाट राज्यमा नियन्त्रण गर्ने हो । किनभने राज्यसँग सबैभन्दा ठूलो साधन–स्रोत छ ।

नेपाली राज्यले सिर्जना गरेको जुन सामाजिक परिवेश छ आजसम्मको, त्यो फेरि तुरुन्तै फेरिँदैन ।  त्यो यति विभेदपूर्ण र अन्यायपूर्ण छ कि धनी र गरिबको खाल्डो ठूलो खाडल छ । हुने र नहुनेबीच खाडल ठूलो छ ।

राज्यले नै साधन–स्रोतमा हालीमुहाली गरेको हुनाले राज्यलाई नै नपक्री केही हुँदैन भन्ने छ ।  त्यहीकारण सामान्य मान्छेले पनि समाज परिवर्तन भइसक्यो भन्दाभन्दै हरेक तहमा काम गर्नेलाई पनि राज्यको ‘प्रोटोकल’ चाहिन्छ ।

विश्वविद्यालयमा काम गर्ने प्राध्यापकलाई पनि म कुन तह हो भन्ने छ ? त्यहाँ पनि तह चाहिन्छ र ? 

शिक्षक त शिक्षक नै हो नि । अमेरिकामा प्राथमिक विद्यालयमा पढाउने शिक्षकले कलेज पढाउने शिक्षकभन्दा बढी पारिश्रमिक पाउँछ ।

मैले ०४६–४७ सालमा पढाएका विद्यार्थी कहाँ–कहाँ पुग्नुभएको छ ? उहाँहरूले मलाई ‘सर’ भनेर सम्बोधन गर्दा मलाई जुन आनन्द हुन्छ, त्यो आनन्द मलाई प्रधानमन्त्रीको प्रमुख सचिव वा राष्ट्रपतिको सल्लाहकार भन्दा हुँदैन ।

म भिन्नै किसिमको भएँ होला । तर, हामी सबैलाई राज्यसँग जोडिन मन लाग्छ । 

366-1712546919.JPG
 

हिजो म एक ठाउँमा ‘क्लास’ लिन पुगेको थिएँ, त्यहाँ मलाई पूर्वप्रधानमन्त्रीको सचिव, पूर्वराष्ट्रपतिको सल्लाहकार भनी सम्बोधन गरियो । त्यसो गर्नुको अर्थ के हो ? मलाई त्यो रूपमा बोल्न त बोलाइएको थिएन ।

एउटा पढ्ने, लेख्ने मान्छे र विचार राख्ने मान्छेको हैसियतले बोलाइएको थियो । तर, मलाई समाजले जसरी चिनाउँछ, त्यो कालखण्ड गुज्रेर गइसक्यो । मेरो सत्तासँग कुनै लेनदेन छैन । सत्तासँग हाम्रो जुन आकांक्षा छ, त्यो आफैँ जाँदैन भन्ने लाग्छ । यथार्थ के हो भने नेपाली राज्य, दक्षिण एसियामा सबैभन्दा पुरानो, निरन्तर चलिरहेको राज्य हो ।

यसले सिञ्चित गरेको राजनीतिक, आर्थिक चरित्र र सामाजिक चरित्र यथावत् छ । यस्तो राज्यमा हामी बसिरहेका छौँ, शासकीय वृत्तका पात्रका बोलीका आधारमा जात परिवर्तन भएका छन् । हुन त, मनुस्मृतिले जात बनायो भन्छन्, तर यहाँ राज्यले नै जात परिवर्तन गरेको छ ।

कुनै समय थियो कि कुनै शासकले त्यो समयको ‘तल्लो जातको केटीसँग विवाह गरेपछि उच्च जातमा परिणत गरेको’ अवस्था पनि थियो ।

हेर्नुस् त, शासकले जातसमेत बदल्थे । तैपनि जात भनेको तिम्रो धर्मसँग आउँछ भन्ने कुरिति र थिति चलेकै छ । तर राज्यले जातलाई सिध्याउन किन सकिरहेको छैन भने उसले जातलाई नै प्रयोग गरेर आफ्नो बर्चश्व कायम गरेको देखिन्छ ।

मलाई के लाग्छ भने अब तोकेर भन्नुपर्दा पुराना के–के निरन्तर छन् त ? 

क्षेत्रीयता अझै पनि चलेको छ । यसको आफ्नै किसिमको परिवेश छ । तर भेगीय राजनीति अझै पनि देख्छौँ । अर्घाखाँचीमा फिलिप र्‍यामिरेजहरूले गरेको सामाजिक अध्ययनमा क्रममा त्यहाँ बाहुनभित्रै दुईथरि विवाद भएको देखियो । त्यो पूर्वदेखि पश्चिमसम्म र पार्टीभित्र पनि त्यस्तो देखिन्छ ।

अर्को विवाद मेरो ठाउँमा साधन–स्रोत पुग्नुपर्छ भन्ने विवाद हिजो पनि थियो र आज पनि छ ।  हिजो पञ्चायतका बेला सदरमुकाम सार्नेमा ठूलो विवाद हुन्थ्यो । अझै पनि अदालत अड्डा, पालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद हुन्छ ।

प्रदेशमा राजधानी कहाँ राख्ने भन्ने विवाद छ । आफ्नो नजिकमा राज्यको संरचना बसोस् भन्ने लाग्छ । मान्छे जन्मले भ्रष्ट हुन्छ त ? कुनै जमाना थियो, जातले पनि मान्छे ‘चोर’ हुन्छ भन्थे ।

भारतमा उपनिवेशकालीन सोचाइ थियो, राजस्थानमा मीना भन्ने जात छ उनीहरूलाई ‘आपराधिक समूह’ भनेर भनिएको थियो । जातबाट अपराधी हुन्छ त ? अझै राजस्थानमा त्यो सोच बदल्न मीनाहरू लडिरहनुपरेको छ ।

यहाँ पनि बेला–बेलामा राज्यले कसलाई कहाँ राख्ने भन्ने चलन देखिन्थ्यो । अझै त्यो चलन देखिएकै छ ।

पञ्चायतकालीन राजनीतिमा कुनै बेला ‘गाउँ फर्क अभियान’ सशक्त थियो । पञ्चायती तहका चुनाव लड्न गाउँ फर्कको अनुमोदन प्रणाली थियो । यतिखेर हेर्दा दलभित्रका संसदीय बोर्ड, कमिटीहरू त्यही गाउँ फर्ककै ‘चरित्र’को निरन्तरता हो भन्न सकिँदैन र ? उतिखेर कसलाई निषेध गर्ने भन्ने थियो, यतिखेर पनि छ ।

यतिखेर कांग्रेसमा हेर्दा इलाम–२ मा सबै नेता एकातिर शेरबहादुर देउवा अर्कोतिर देखिए । त्यो ‘सहवरण’ गर्ने ठाउँमा पूर्णबहादुर खड्कालाई राखे, अरुलाई पन्छाइदिए ।  त्यसलाई पञ्चायतको ‘प्याथोलोजी’ किन नभन्ने ? त्यो पञ्चायत पद्धति अझैसम्म परिवर्तन भएन भन्ने कि नभन्ने ? हाम्रो राजनीतिक मूल्य र मान्यतामा त्यही अड्किएको छ । त्यसबाट बाहिर निस्केका छैनौँ । 

जतिसुकै कमिटी बनाए पनि संरचना निर्माण गरे पनि हामी तदनुकूल चल्न सक्ने नभएको देखाउँछ ।

अझ व्यापकरूपमा सम्झँदा या संसारभर हेर्दा बेलायत होस् या भारत जहाँको पनि संसद् आधारभूत सवाल एकै देखिन्छन् । जापान र नेपालको संसदीय ‘रुल्स एन्ड रेगुलेसन’ हेर्दा केही फरक देखिँदैन ।

तर, जापानको संसदमा कुनै राजनीतिज्ञलाई भ्रष्टाचारको आरोप लाग्यो भने उ आत्महत्या (हाराकिरी) गर्ने ठाउँमा पुग्छ, तर, हामी कहाँ भ्रष्टाचारकै ‘राजनीतिकरण’ हुन्छ ।

किन त ?

संसद्को ‘रुल्स एन्ड रेगुलेसन’ एउटै छ । जापानमा सम्मान र प्रतिष्ठामा आँच आयो भन्नासाथ मान्छेको नुर खसेजस्तो हुन्छ । त्यो मान्छे पब्लिक लाइफबाट ऊ बाहिर जान्छ । नेपालमा जति प्रतिष्ठा कम भयो, त्यति फूर्ति बढेको देखिन्छ । 

बेलायतमा एकपल्ट प्रधानमन्त्री भएको व्यक्ति फेरि फर्किएर आउँदैन, त्यो त कहीँ लेखेको छैन । अमेरिकामा पनि हामीले सुनेका थिएनौँ, तर ट्रम्प फर्किएर आउँदैछन् ।

अमेरिकामा पनि तेस्रो कार्यकाल कल्पना पनि गर्न सकिँदैनथ्यो । अब त्यसले कस्तो मूल्यले निर्धारण गर्छ होला ? ‘बिल क्लिन्टन’लाई फर्किन उत्प्रेरणा भएन, तर ट्रम्पलाई भयो । समस्या अमेरिकी राजनीतिको हो कि संस्थाको ?
 
त्यस्तै, यहाँ शेरबहादुर देउवा आठांै पल्टसम्म प्रधानमन्त्री हुने सपनामा बाँचेका छन् । सायद, त्यही कल्पनाले उनलाई बाँच्न उत्प्रेरणा दिन्छ होला । जहाँ अन्य मुलुकमा हाम्रोजस्तै संविधान छ, त्यहाँ मान्छे फर्किएर शासकीय राजनीतिमा किन आउँदैन त ?

रामचन्द्र पौडेल १७ पल्टसम्म प्रधानमन्त्रीको उमेदवार बनिरहन्छन् ? त्यो कस्तो उत्प्रेरणा होला । त्यो व्यक्तिमा पनि भर पर्ने रहेछ । समाजका आधारभूत चरित्रमा पनि भर पर्ने रहेछ । त्यसकारण राजनीतिक चरित्र र व्यक्तिलाई दोष लगाउन पनि एउटा ठाउँमा मिल्छ ।

यो कुरा गरिरहँदा भोलि मैले पाएँ भने म दौडिन्न भन्ने के ग्यारेन्टी छ ? म गइनँ भने मेरो परिवार र समाजले तँ त लाक्षी रहिछस् र केही गर्न नसक्ने रहेछस् भन्ने टीकाटिप्पणी गर्छन् नै ।

काठमाडौंमा हामी पढ्न आउँदा अर्थात् स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँचीबाट आउनेको एउटै उद्देश्य हुन्थ्यो, ‘लोकसेवा पास गर्ने, एउटा घर बनाउने ।’

घर कसरी बनाउने म भन्दिनँ, तर जसरी पनि बनाउने । किनभने घर बनाउन नसक्ने मान्छे लाक्षीमा दर्जामा उभ्याइन्थ्यो । भ्रष्टाचार नगरीकन कुनै अधिकृत वा उपसचिवको घर त बन्न सक्दै सक्दैन । तर, घर बनाउन नसक्नेहरू केही गर्न नसक्ने दम नभएको व्यक्तिमा दरिन्थ्यो ।

त्यसरी घर सबनाउन नसक्नेलाई त्यसरी हेर्ने ठाउँ र समाजमा परिवर्तन कसरी हुन्छ ? 

हाम्रो नेपाली समाजको नैतिक मूल्य–मान्यताको धरातलीय यथार्थता के हो ? हामी सबै या हाम्रो पुस्ता ६० वर्ष पुगेका व्यक्ति भनौँ, हामी अधिकांश मानिस पहिलो पुस्ता हौँ पढालेखा मान्छे । हाम्रा बाबु–बाजेले घिउ सँगालेर पाल्पा होस् या धरान या बनेपामा बेचेर केटाकेटी पढाए ।

हामीकहाँ अपवादबाहेक यही पुस्ताका मानिसले पहिलोपल्ट जहाज चढेका हुन् । हाम्रा बाबु–बाजे जहाज चढेका थिएनन् । समाजको प्रगति झट्टै हुन्छ या ‘म्युटेसन’ वा ‘शक रियाक्सन’ले हुन्छ या विस्तारै हुन्छ ? सबै समाज एउटै लिकबाट हिँड्नुपर्छ भन्ने छैन ।

जस्तो ‘स्टिम इन्जिन’ आयो, त्यो अनुसार चल्नुपर्छ भन्ने छैन । नेपालमा हामी त एकैचोटी कलर टीभी देखेका पुस्ता हौँ ।

हामी एकैचोटी मोबाइलमा पुगेका मान्छे छौँ, अहिले । समाज विकासको क्रममा कुन किसिमको अनुभवबाट गुज्रिनुपर्ने ।  हामीलाई म हेर्छु– बसमा ठाउँ छैन, तर चढ्नुपर्छ । एउटा त हामीलाई पुग्न हतार छ भनियो त्यो त मानेँ । हामी त्यो बस बिग्रेको छ कि कस्तो अवस्थामा छ भनेर प्रश्न गर्न सक्दैनौँ । किनकि हाम्रो पहिलो आवश्यकता बस चढ्नु हो । 

राम्रो बस चढ्नु होइन, हाम्रो पहिलो आवश्यकता स्कुल हो राम्रो स्कुल होइन । हाम्रो पहिलो आवश्यकता अस्पतालमा गएर स्लाइन लगाउनु वा औषधि लगाउनु हो राम्रो डाक्टर भेट्नु होइन ।

अझै पनि हाम्रो सामाजिक र राजनीतिक विकासक्रममो त्यो लेभलमा छौँ । मलाई सानो छँदाको पनि याद आउँछ । म विदेशमा हुर्किएको व्यक्ति थिए, मलाई पैसा तिरेपछि राम्रो बस र सिट पाउनुपर्छ भन्ने थियो ।

म मेरो घर गुल्मी गएको बेलामा मलाई बाटोसम्म छाड्न आउनेले भन्नुहुन्थ्यो, जानुस् बाबु बस आयो । मैले भन्थेँ, ‘म जान्न ।’ म पैसा तिरेपछि सिट पाउनुपर्छ भन्थेँ । तर मलाई छाड्न आउने दाइलाई बस चढ्नु नै ठूलो कुरा थियो, त्यसैले बस देख्नासाथ चढिहाल्नु भन्नुभयो ।

त्यसैले सामाजिक सुविधा र विकास भन्ने कुरा राज्यको सुविधाको प्रयोग गर्ने भन्ने हामीले विकास क्रमबाट सिकेर आउने कुरा रहेछ । हाम्रा विद्यार्थीले ‘जेब्राक्रस’ भन्ने जुम्लामा पनि पढे । तर ‘जेब्राक्रस’ त्यहाँ पुगेको छ त ? गाउँ–गाउँमा पढाइ हुने ठाउँका विद्यार्थीले ‘जेब्राक्रस’ देखेका छन् त ?

हामी ‘लेट कमर्स’मा छौँ । ‘लेट कमर्स अफ इकोनोमिक डेभलपमेन्ट’ भन्छौँ । हाम्रो विकास अर्कै थियो । यो विकास आएपछि हाम्रोमा गरिब, धनी भयो । नभए गाउँमा सबैको घर खरैले छाएको हुन्थ्यो । अलि राम्रो भए स्लेटले छाएको हुन्थ्यो । स्लेट उपलब्ध हुने भए कसैले पनि खरले छाउँदैनथे ।

गरिबी कहाँ देखिन्थ्यो भने धानको कुन्यु बनाउने बेलामा देखिन्थ्यो । त्यहाँ गरिबी होइन, धेरै र थोरै हुन्थ्यो । खान पुग्ने हुन्थ्यो र नपुग्ने हुन्थ्यो । जब हाम्रोमा विकासको आइडिया आयो त्यसपछि विभेद सुरु भएको देखिन्छ ।

राजनीतिक संरचनाका सन्दर्भमा अमेरिका, बेलायत वा हाम्रोमा पनि त्यही हो । तर हामी त्यो संस्थाअनुकूल परिवर्तन हुन नसक्नुमा बडा अनौठो छ ।

नयाँ आएका व्यक्तिले सिकेको पनि देखिँदैन । मानव समाजको विकासको सन्दर्भमा विकास सँगसँगै कति छिटो परिवर्तन हुन्छ । त्यही सिंगापुर र मलेसियामा हेर्‍यौँ भने एउटै लेभलको सोसाइटी हो, तर सिंगापुर कहाँ छ मलेसिया कहाँ छ ? 

यहीँ हेर्दा पनि हामीले टाटा एटोमिक बम, न्यूक्लियर बम बनाएको भारतमा थाल पिटेर कोरोना भगाउने मान्छे पनि त्यहीँ छन् । राजनीतिमा को आएका छन् भने थाली पिटेर कोरोना भगाउने छन् । भारतको विकासक्रम बढेको भन्ने कि घटेको भन्ने ?

यो समाजको विकासक्रम र समष्टिमा तपाईंहरूले सोधेको प्रश्नको उत्तरमा के हुन्छ भने संरचना निर्माण गर्दैमा मान्छेको व्यवहार र चरित्र परिवर्तन हुन्छ कि हुँदैन ? संरचना परिवर्तन गरेर, संस्था निर्माण गरेर कानुन निर्माण गर्दाखेरि मान्छेको व्यवहार र चरित्र पनि फरक त हुन्छ, तर कति समय लाग्छ ?

हामीले हाम्रो पुस्तामै जुन कल्पना गरेका छौँ, त्यो नहुने देखेर हामीलाई चित्त दुखेको छ । तर समाजको इतिहासको क्रमलाई हेर्ने हो भने दुई, तीन पुस्ता केही पनि होइन ।
 
हिजोको अवस्था कस्तो थियो भने कुनै घरमा फरक–फरक जातको व्यक्ति पुगेको भए या मेरा बा आमा त्यहाँ बसेको भए फरक जातको मान्छेलाई मैले भित्र ल्याउँथे होला त ? परिवर्तन त भएको छ । मैले त्यो देखेकै हुँ, म चिया खाएपछि भने गिलास छाडेर हिँडथेँ, तर फरक जातका साथीलाई पसलेले कप पखाल्न लगाउँथे । 

परिवर्तन नभएको होइन, भएको पनि छ । कप पखाल्नेबाट राजनीतिक परिदृश्यमा आउँदा उसलाई कत्तिको आत्मविश्वास बढेको छ र अर्कोले कत्तिको स्वीकार गर्न सकेको छ ? चेतना र परिवर्तनको मेरा निम्ति सबैभन्दा ठूलो सूचक त्यहाँ छ ।

दलहरूले त भने– वडामा महिला र दलितलाई पनि भोट हाल्नुपर्छ । दलका कारणले भोट हाले, तर जातका कारणले स्वीकार गरे कि गरेनन् त ?

तदनुकूल व्यवहारमा परिवर्तन भएको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ । यो जटिल सैद्धान्तिक बहस हो । 

हिजो चप्पल लगाएका मान्छे आलिसान महलमा गए भन्ने बहस त छ । आमरूपमा मान्छेले राज्यलाई हेर्ने दृष्टिकोण, परिवर्तनप्रतिको दृष्टिकोण, सार्वजनिक सुनुवाइका क्रममा विकासका नाममा वा पैसा जहाँ छ, त्यहाँ इच्छा वा आकांक्षा छ र इष्र्या पनि छ ।

पैसा नभएको ठाउँमा सार्वजनिक बहस हुँदैन । यहाँ कसैले त प्रश्न पनि पैसामा निकाल्थे । हाम्रो राज्यलाई साधन स्रोतका कारण हेर्ने दृष्टिकोणले परिवर्तन दुरुह र जटिल भएको मैले अनुभव गरेको छु ।

‘प्रधानमन्त्री दुईपल्ट भन्दा बढी हुन नपाउने कानुन बन्यो भने सहज हुन्छ कि ?’ तपाइँहरूको प्रश्न छ । त्यसमा दुईपल्ट हुने भन्यो भने यो जटिल विषय हो । मानिलिऊँ, सांसद दुईपल्ट हुने कि नहुने ? सांसद भएपछि मन्त्री या प्रधानमन्त्री त हुन पाउनुपर्‍यो । सांसद दुईपल्ट भन्यो भने दुईपल्टको सांसदले सिक्छ के ?

अमेरिकामा एउटा बडा राम्रो ‘इनोभेसन’ छ । ‘हाउस अफ कंग्रेस’मा दुई वर्षमा चुनाव हुन्छ, तर सेनेटर पाँच वर्षमा हुन्छ । त्यो स्थायित्वका लागि गरिएको हो ।

कुनै एक चर्को बोल्ने सांसद मन्त्री पनि भएको होला । त्यो व्यक्ति अपरिपक्व देखिन्छ, तर चर्को पल्ट उसमा परिपक्वता आउँछ कि ?

दुई कार्यकालले मान्छेलाई पुग्छ कि पुग्दैन ? दुईपल्टको सांसद त्यसपछि प्रधानमन्त्री हुन्छु भन्न पाउने कि नपाउने ? अलिकति प्राविधिक कुरा छ । पदीय बन्देज हुन सक्छ । नेपालमा राजनीति अलि आलोकाँचो नै छ ।

जस्तो कांग्रेसका उदाहरण दिने हो भने सभापतिमा दुईपल्ट त राखिएको छ । सुनिँदैछ, देउवाले फेरि संशोधन गर्न चाहेका छन् । विधिबाटै मूल्य र मान्यता स्थापित हुन सक्यो भने त्यो एकदम राम्रो हो । तर त्यसका लागि निकै लामो समय लाग्न सक्छ ।

त्यही नेपाली यहाँ लाइनमा बस्नुभन्दा यताउता आफ्नो मान्छे हेर्छ । तर त्यही मान्छे विदेशमा गयो भने लाइनमा बस्छ ।  कानुन त एउटै हो, मान्छे पनि उही हो । यहाँ ‘तेरो’ र ‘मेरो’को धङधङी अझै हराएको छैन ।

दुई कार्यकाल सांसदमा नराखेर पदमा राख्ने हो कि ? सांसदमा जति पुरानो भयो त्यति अनुभवी हुन्छ कि ! फेरि सधैँ हुने त भन्ने प्रश्न पनि उठ्छ, त्यसैले यो कानुनी रूपबाट मात्रै निरूपण हुने विषय होइन ।

यसलाई कानुनी रूपमा जाँदा निषेध गरेको जस्तो हुन्छ । कानुन निषेध गर्नेमात्रै होइन, सहजीकरण गर्ने पनि हो । चोरलाई पक्राउ गर्नुको अर्थ अरुले नचोरोस् भनेको हो नि त । 

मूल्य–मान्यता पनि कानुनले विकास गर्नुपर्छ । एउटा उदाहरण लिउँ– स्कुलमा पालैपालो बोल्नुपर्छ भन्ने विषय शिक्षकले सजाय दिएर पनि सिकाए होलान् नि ! तर अब भनिरहनुपर्दैन नि त ! विद्यार्थी बुझ्ने भइसके ।

कक्षामा सोधेरमात्रै बाहिर जानुपर्छ भनेको के हो ? त्यहाँ अनुशासनमात्रै होइन । सबै गए भने के हुन्छ ? क्लास हुन्छ त ? हुँदैन । कक्षामा एक एक गरेर सबै गए भने पढाइ त हुँदैन । यो त कतै लेखेको हुँदैन नि ।

नियन्त्रण, राज्यको परिभाषामा यसरी हेरिन्छ । चित्त बुझेन भने राज्यविरुद्ध हतियार उठाउन पनि पाइन्छ भन्ने त मिल्स पनि भने, बीपीले पनि भन्नुभयो । तर सबैले हतियार उठाए भने राज्य रहन्छ त ? रहँदैन नि ! राज्यको नियन्त्रण गर्ने अधिकारलाई पनि हामीले सुरक्षित राखेका हुन्छौँ ।

कानुन वा फोर्स मान्छेले स्वतः गर्ने अभ्यासको विकास हुनुपर्छ । त्यसैले कानुन भनेको संवैधानिक प्रपञ्चमात्रै होइन यो नैतिक व्यवस्था पनि हो ।

राजनीतिलाई कानुनी व्यवस्था या संरचनात्मक व्यवस्थाको आधारमा मात्रै हेर्न भएन । नैतिक मूल्य–मान्यतासँग पनि जोडेर हेर्नुपर्छ । लोकतन्त्रमा म हारेपछि पनि मौका आउँछ भनेर पर्खिन त सक्नुपर्छ नि !

संसद्मा हेर्ने हो भने कांग्रेससँग सबैभन्दा बढी सिट छ । बढी सिट भएको पार्टीलाई कसरी सहजीकरण गर्ने र अर्को चुनावसम्म कसरी ठूलो पार्टी भन्ने ध्येय हुनुपर्ने होइन र ? नियम र कानुनले दिएको परिधिभित्र रहेर ।

विपक्षीलाई जहिले पनि संसद्का लेखा समितिका सभापति दिने प्रचलन नै हो नि ! तर यहाँ सत्तापक्षले पनि राखे नि त !

त्यो पनि नछाडेर बसेको अवस्था हो नि । यसरी प्रणाली चल्दैन, धैर्यता नभइ लोकतन्त्र चल्दैन । एकजना विद्धान के भन्छन् भने– ‘लोकतन्त्र अनिश्चिततालाई संस्थागत गर्ने प्रणाली हो ।’  चुनावमा हार्छु कि जित्छु थाहा नभए पनि प्रतिस्पर्धामा भाग लिन्छन् । किनभने हारे पनि भोलि फेरि चुनाव हुन्छ त्यसबेला जित्छु, र पालो आउँछ ।

जित्नेले जितेको जित्यै गर्दा त्यहाँ लोकतन्त्र बलियो हुन्छ होला र ? फुटबलमा एउटा टिमले नै जितिरह्यो भने भए को जान्छ हेर्न ? जसलाई खेलसँग मतलब छैन उनीहरू जान्छन् । 

राजनीति पनि हार्नु र जित्नुसँग मतलव होइन कि जित्नुसँग मात्रै मतलब भयो भने समाजमा के हुन्छ ? समाजमा कोही न कोही त हार्छ नि !  लोकतन्त्रमा हार्नु र जित्नु सामान्य कुरा हो भनेर किन भन्न सकिएको छैन । त्यसमा पञ्चायतकै पुनरावृत्ति देखिँदैन र ?

कुराकानीमा आधारित 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro