site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जबर्जस्ती मुख्यमन्त्री नियुक्त गरे स्वीकार गर्दिनँ : पाण्डे
फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशमा सभामुखलाई समेत गणना गरेर नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र दीपक मनाङे (राजीव गुरुङ)ले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । तर, यो दाबी आफैँमा ‘असंवैधानिक’ छ भन्ने कोसी प्रदेशको घटनाले नै पुष्टि गरेको छ ।

कोसीमा यसअघि सभामुखलाई समेत गणना गरेर बहुमत पुर्‍याउँदा सर्वोच्च अदालतले उक्त सरकार अवैध ठहर गरेको थियो । सोही प्रकरणजस्तै गण्डकीमा माओवादीले सभामुखलाई पनि आफ्नो सांसदका रूपमा गणना गरेको छ ।

Dabur Nepal
NIC Asia

गण्डकीका कार्यवाहक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि गठबन्धनको यो दाबी असंवैधानिक रहेको बताए । उनले भने, “सभामुखसहित त दाबी गर्नैै पाइँदैन । सभामुखको पदमा रहँदा संख्या गणना गर्न पाइँदैन भन्ने कुरा त कोसीको घटनामा सर्वोच्चले नजिर देखाएको छ । त्यसैले यो संवैधानिक हुँदै होइन । यो गैरसंवैधानिक छ ।”

एमालेका २२, माओवादीका आठ र दीपक मनाङे एक गरी ३१ प्रदेशसभा सदस्यको समर्थनसहित आफूसँग बहुमत रहेको दाबी गठबन्धनले गरेको छ । तर, मुख्यमन्त्री पाण्डेले ३१ जनाको सनाखत देखाउन चुनौती दिए ।

“दलका नेताले मात्र हस्ताक्षर गरेर हुँदैन । स्वयं सांसदको हस्ताक्षर पनि बुझाउनुपर्छ । त्यो नबुझाउने कारण के हो भने उहाँहरूले ३१ सांसदको हस्ताक्षर बुझाउन सक्ने अवस्था छैन । यो पनि कानुनी प्रक्रियाभन्दा बाहिर छ,” उनले भने ।

उनले जबर्जस्ती मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पनि आग्रह गरे । संवैधानिक प्रक्रियामा रहेर नै काम गर्न उनको आग्रह छ । “प्रदेश प्रमुखलाई के आग्रह छ भने, यदि यस्ता विवादास्पद काम उहाँले गर्नुभयो भने उहाँको कार्यक्षमता, कार्यकुशलतामा भोलि प्रश्नचिह्न खडा हुन्छ । विवादास्पद भइन्छ । यो विवादास्पद काम गर्नु हुँदैन । संवैधानिक काम, परम्परागत प्रक्रियामा अगाडि बढ्नुपर्छ । पार्टीगत, दलीय दबाबमा र चाहनामा होइन कि संविधान, प्रक्रिया र यसअगाडिका घटेका घटनाक्रम के छन्, त्यसलाई राम्ररी केलाएर मात्र निर्णय गर्नुपर्छ,” पाण्डेले भने ।

जबर्जस्ती मुख्यमन्त्री नियुक्त गरेको खण्डमा आफूले त्यसलाई स्वीकार नगर्ने उनले बताए । त्यसको विकल्पमा कानुनी उपचारमा आफूहरू जाने उनको भनाइ छ । “गैरसंवैधानिक तरिकाले नियुक्त गरे म स्वीकार गर्दिनँ । बलजफ्ती नियुक्त गर्नुभयो भने त्यो स्वीकार गर्ने कुरा हुँदैन । हामी कानुनी प्रक्रियामा जान्छौँ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro