site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बिजनेस शून्य राष्ट्रियसभा :  १५ दिनभित्रै अधिवेशन अन्त्यको तयारी 

काठमाडौं । विधेयक शून्य राष्ट्रियसभालाई ‘बिजनेस’ दिन सरकारले तीनवटा विधेयक दर्ता गर्ने तयारी गरेको छ । हाल राष्ट्रियसभासँग कुनै पनि विधेयक छैन । विधेयक नपाएर सभाको बैठक सञ्चालन समस्या परेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले केही दिनभित्र तीन वटा विधेयक राष्ट्रिय सभामा दर्ता गराउने तयारीमा सरकार रहेको जानकारी दिए ।

उनका अनुसार, जलस्रोत तथा सिँचाइसम्बन्धी विधेयक मन्त्रालयले मस्यौदा तयार गरेपछि कानुन मन्त्रालयले सहमति दिएपछि विधेयक समितिमा छलफल भएर अन्तिम अवस्थामा पुगेको छ । आउँदो मन्त्रिपरिषद् बैठकबाट पारित गरी राष्ट्रियसभामा दर्ता गर्न पठाउने उनले जानकारी दिए । 

यस्तै सरकारले नवीकरणीय ऊर्जासम्बन्धी विधेयक र मिडिया काउन्सिलसम्बन्धी विधेयकहरू अन्तिम चरणमा पुगेको भन्दै अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारीमा रहेको मन्त्री गिरीको भनाई छ । “अबको मन्त्रिपरिषद् बैठकबाट केही विधेयक स्वीकृत हुन्छन् । त्यसपछि राष्ट्रियसभामा हामी पेश गर्छौं,” कानुन मन्त्री गिरीले बाह्रखरीसँग भने, “दुई–तीन दिनभित्र सबै तयारी सक्छौं । राष्ट्रियसभाले बिजनेस पाउँछ ।”

हाल चलिरहेको सदनको हिउँदे अधिवेशन हो । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिइन्छ । यी विधेयकहरू राज्य सञ्चालन र संविधान कार्यान्वयनसँग सम्बन्धित हुन्छन् ।
 
संघीय संसद सचिवालयका अुनसार, विधेयक अभावमा सदन छ । विशेषगरेर राष्ट्रियसभामा एउटा पनि विधेयक छैन । सदनलाई विजनेस दिने सकारले कुनै पनि विधेयक दर्ता गराएको छैन भने प्रतिनिधिसभाले पनि पास गरेर कुनै विधेयक राष्ट्रिय सभालाई पठाएको छैन । यसबाहेक कुनै पनि गैर सरकारी (प्राइभेट विल) पनि दर्ता भएको छैन ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला विधेयक अभावका कारण सभाको बैठकमात्र हैन, सभाको कार्यतालिका निर्माण गर्न पनि समस्या परेको बताउँछन् । 

मन्त्रालयको कार्ययोजनामा ११७ विधेयक, गति भने सुस्त 

कानुन मन्त्रालयले ११७ विधेयकलाई प्राथामिकतामा राखेको छ । मुलुकमा सुशासनको प्रत्याभूति गर्नमात्र होइन संघीयता कार्यान्वयन गर्न र सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्न यी विधेयकलाई कानुनी रूप दिनुपर्ने मन्त्रालयको जोड छ । मन्त्रालयले कतिपय विद्यमान कानुनमा सुधार र कतिपय नयाँ कानुन तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
 
मन्त्रालयले पहिलो प्राथमिकतामा ६३ विधेयक सदनमा पेश गर्ने योजना बनाएको छ । दोस्रोमा ३९ र तेस्रोमा १५ विधेयक प्राथमिकतामा राखेर सदनमा लैजाने कार्ययोजना तयार पारेको छ । तर, पनि सदनको हिउँदे अधिवेशनमा विधेयकको अभाव खेपेर सभा बस्नुपरेको लजास्पद स्थिति छ । 

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनअनुसार, संघ सरकारले ४०, प्रदेश सरकारले २४ र स्थानीय सरकारले ६ वटा बाध्यात्मक कानुन बनाउनुपर्ने हुन्छ । यी कानुन बनेको खण्डमा संविधानको कार्यान्वयन र संघीयताबाट सिर्जित संस्थाहरू चलायमान बन्नेछन् ।

तर कानुन नबन्दा सरकारलाई खासै फरक पारेको देखिँदैन । प्रतिवेदनअनुसार संविधान कार्यान्वयन गर्न १८१ कानुन निर्माण गर्नुपर्ने तथ्य अघि सारिएको छ । जसमध्ये संघले मात्र १५१ कानुन निर्माण गर्नुपर्ने हुन्छ । प्रदेशले २४ र स्थानीय तहले ६ वटा कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याउन जरुरी छ ।

संघले बनाउनुपर्ने १५१ मध्ये ४० कानुन बाध्यात्मक कानुन हुन् । अर्थात्, ४० वटा कानुन तर्जुमा गरेपछि मात्र संविधान कार्यान्वयनको बाटो सहज हुने अध्ययन प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनले यति धेरै कानुन निर्माणको आवश्यकता औंल्याए पनि सदन कामविहीन अवस्थामा पुगेको देखिन्छ । सरकार राष्ट्रिय सभालाई विजनेस दिन असफल भएको देखिन्छ । 

सरकार भने विधेयक पाइपलाइमै भएको दाबी गर्न छाड्दैन । सदनलाई विजनेस दिने विषयमा गम्भीर भएको दाबी गर्दै तयारीहरू अन्तिम चरणमा पुगेको भनाई सरकारको छ ।  “मन्त्रालयसँग सम्बन्धित विधेयकहरूको मस्यौदा तयार गर्न मन्त्रालयहरुसँग समन्वय गरिरहेका छौं । केही सहमतिका लागि आएका छन् जसलाई हामीले सहमति दिइसकेका छौं,” मन्त्री गिरी भन्छन् ।

उनका अनुसार, विधेयक समितिमा छलफल भएर विधेयकहरु अन्तिम चरणमा छन्, प्रतिनिधिसभा र राष्ट्रियसभा गरी सदनको दुवै सभामा विधेयक पेश गर्ने गरी तयारी छ ।
 
अब बढीमा हिउँदे अधिवेशन १५ दिन 

त्यसो त, सकार सदनको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ । सरकारले बढीमा १५ दिन सदन चलाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो । 

जेठ १५ भित्र बजेट ल्याउनुपर्ने हुन्छ । त्यसअघि नीति कार्यक्रम पनि ल्याउनुपर्ने हुन्छ । चैत महिनाको अन्त्यतिरको समय छ । त्यसैकारण हिउँदे अधिवेशनलाई लामो तन्काउने छुट सरकारलाई छैन । किनभने एउटा अधिवेशन अन्त्य गरेर ब्रेक गरेर मात्र अर्को अधिवेशन चलाउनुपर्ने वैधानिक व्यवस्था छ ।
 
“यो हिउँदे अधिवेशन १५ दिन भन्दा बढी चलाउन सकिने अवस्था छैन । किनभने हामीले बजेटको तयारी गर्नुछ । नीति कार्यक्रम ल्याउनुपर्नेछ,” मन्त्री गिरीले भने, “१०–१५ दिन मात्र हामीले विधेयक पठाउने हो ।”

उनले अर्को अधिवेशनलाई बाँकी विधेयक जाने जिकिर गरे । यसका लागि धेरै विधेयकको मस्यौदा कोर्ने काममा सरकार लागिपरेको भनाई उनको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro