site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रतिघण्टा चारजनाको मृत्यु, युवामा हुक्का र ई–सिगरेटको प्रयोग बढ्दो 

काठमाडौं । सुर्तीजन्य पदार्थको प्रयोगबाट नेपालमा प्रतिघण्टा चारजनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको पछिल्लो सर्वेक्षणमा प्रतिवर्ष ३७ हजार ५२९ जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको देखिएको हो । 

सर्वेक्षण सन् २०२४ को सुरुआतमा सबै प्रदेशका १८ स्थान छनौट गरी गरिएको थियो । प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले नेपालमा १५ देखि ६९ वर्षसम्मका ३४.१ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको देखाएको छ ।

प्रतिवेदन अनुसार १०.७ प्रतिशतले धूमपान, १८.९ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ र ४.५ प्रतिशले दुवैखाले पदार्थ प्रयोग गर्ने गरेका छन् । सुर्तीजन्य पदार्थको उपभोग दर पुरुषमा ५७ र महिलामा ११ प्रतिशत छ । 

सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका  व्यक्ति धेरै छन् । यो उमेरका ५६ प्रतिशतले कुनै न कुनै प्रकारबाट प्रयोग गर्ने गरेको पाइएको छ । 

विशेष गरेर युवा वर्गमा हुक्का र ई–सिगरेटको प्रयोग बढ्दै गएको सर्वेक्षणले देखाएको छ । उनीहरूमा बिँडी वा हातले बनाइने सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ११ प्रतिशत छन् भने ई–सिगरेट २.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ । 

यस्तै, ८.३ प्रतिशतले हुक्का र ६७ प्रतिशले चपाएर खाने पदार्थ र २८ प्रतिशतले धूमपान गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।सुर्तीजन्य पदार्थको प्रयोगका कारण रोग लागी वार्षिक ४४ अर्ब क्षति हुने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रणका निम्ति यसमा लाग्ने कर र खरिद मूल्य बढाउनुपर्ने प्रतिष्ठानको सुझाव छ । हाल नेपालमा सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ४१ प्रतिशत कर लगाइएको छ, यो दक्षिण एसियाली राष्ट्रहरूमध्ये निकै कम रहेको प्रतिष्ठानका अध्यक्ष डा. कृष्ण पहारी बताउँछन् । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ । 

साथै, सुर्तीजन्य पदार्थ छोड्न चाहनेहरूका निम्ति यस्ता सर्वेक्षणहरूलाई आधार मानेर सरकारले नीति लिनुपर्ने उनको सुझाव छ । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro