site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुजरातविरुद्ध नेपाल आठ विकेटले विजयी

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । 

आइतबार भारतको वापीमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा अविजित रहेका कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । रोहितसँगै अविजित रहेका अनिल साहले ३२ रन थपे । यी दुई ३४–२ को अवस्थाबाट तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्‍याएका हुन् । 

यसबाहेक, ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले क्रमशः १७ र १६ रन बनाए । 

गुजरातका हेमांग पटेल र तेजस पटेलले समान एक विकेट लिए ।

त्यसअघि नेपालका मध्यम गतिका बलरले आठ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो । 

गुजरातलाई सस्तैमा रोक्न नेपालका गुल्सन झाले चार विकेट लिएका थिए । चार ओभर बलिङ गरेका गुल्सनले २२ रन खर्चिए । करण केसीले तीन विकेट लिए । उनले ३.२ ओभरमा २२ रन खर्चिए । यस्तै, सोमपाल कामीले एक विकेट हात पारे ।

गुजरातका रुद्र पटेलले सर्वाधिक २३ रन बनाएका थिए । हेमांग पटेलले २०, सरल प्रजापतिले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन थपे । गुजरातका अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि हाल नेपाली टिम भारतमा छ । नेपालले अब अप्रिल २ मा बरोडासँग खेल्नेछ । यसपछि अप्रिल ३ मा गुजरातसँग र अप्रिल ५ मा पुनः बरोडासँग खेल्नेछ । शृंखलाका शीर्ष दुई टिम उपाधिका निम्ति अप्रिल ७ मा भिड्नेछन् । शृंखलाका सबै खेल वापीमै हुनेछ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro