काठमाडौं । घरेलु मैदानमा जारी ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका करण केसीले चौथो सफलता दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड वुल्भ्सले १४.१ ओभरमा नेइल रकलाई गुमाएको हो । नेपालका करणले रकलाई सन्दीप जोराबाट क्याच गराए ।
जारी खेलको १५ ओभर समाप्त हुँदा आयरल्यान्ड वुल्भ्सले चार विकेट गुमाएर १०८ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो ।
शृंखलाको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।
नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।