काठमाडौं । घरेलु मैदानमा जारी ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले दुई ओभरमा दुई विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड वुल्भ्सले पाँचौँ र छैटौँ ओभरमा दुवै ओपनरलाई गुमाएको हो ।
आयरल्यान्ड वुल्भ्सले ४.६ ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका सोमपाल कामीले आयरल्यान्ड वुल्भ्सका स्टेफलन डोहेनीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । लगत्तै अर्को ओभरको दोस्रो बलमा कुशल मल्लले रोस अडाएरलाई गुल्सन झाबाट क्याच गराए । डोहेनीले आयरल्यान्ड वुल्भ्सका लागि २६ र रोस अडाएरले १७ रन बनाए ।
जारी खेलको ६ ओभर समाप्त हुँदा आयरल्यान्ड वुल्भ्सले दुई विकेट गुमाएर ४६ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९८ रनको योगफल खडा गरेको थियो । शृंखलाको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।
नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।