काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले अविजित ३७ रन बनाए । उनले ३२ बलमा चार चौका प्रहार गरे । ३७–३ को अवस्थाबाट भुर्तेलले सन्दीप जोरासँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएका थिए ।
७.२ ओभरमा व्यक्तिगत एक रनमा क्याच हुनबाट बचेका सन्दीपले ३५ बलमा तीन चौका र दुई छक्कासहित ३६ रन बनाए । यसबाहेक, दीपेन्द्रसिंह ऐरीले अविजित २० रन थप्दा ओपनर आसिफ सेखले १६ रन जोडे । कप्तान रोहितकुमार पौडेल भने ‘डक’ भए । गुल्सनकुमार झाले टिमको खातामा चार रन थपे ।
आयरल्यान्ड वुल्भ्सका ग्यारेथ म्याकार्थीले दुई विकेट लिए । बेन ह्वाइट र थोमस मायेसले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड वुल्भ्सले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रनको योगफल खडा गरेको थियो । आयरल्यान्ड वुल्भ्सका स्टेफन डोहेनीले ४६ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए । थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन थप्दा आयरल्यान्ड वुल्भ्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका ललितनारायण राजवंशी, गुल्सन र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।
नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।