
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताएका छन् ।
बुधबार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन गर्दै उनले कोइराला नेपाली राजनीतिमा निर्भीक, सशक्त र निडर नेताका रूपमा रहेको बताए ।
उनले कोइरालाको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको पनि बताए ।
"गिरिजाप्रसाद कोइरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसादको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोइराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने साहस उहाँको उदाहरणीय छ," उनले भने ।