site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राजनीतिक विषयमा लेखिएका किताब पूर्ण हुँदैनन् 
Sarbottam CementSarbottam Cement

(दर्शनशास्त्रका प्राध्यापक डा. वीरेन्द्रप्रसाद मिश्र कुशल राजनीतिक विश्लेषक हुन् । एक कार्यकाल निर्वाचन आयोगको आयुक्तका रूपमा कार्यरत उनी राजनीतिक विषयवस्तुमाथि सटीक टिप्पणी मात्र गर्दैनन्, दर्शनशास्त्र र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि आफ्नो धारणा विभिन्न आलेख र पुस्तकमार्फत राख्दै आएका छन् । उनले नेपाली, हिन्दी र अंग्रेजीमा अनेक पुस्तक प्रकाशनमा ल्याइसकेका छन् । उनको अंग्रेजी पुस्तक ‘स्ट्रेन्ड नेपाल इन्डिया रिलेसन्स’ हालै सार्वजनिक गरिएको छ । सोही पुस्तकका विषयमा गरिएको कुराकानीको सम्पादित अंश)

‘स्ट्रेन्ड नेपाल इन्डिया रिलेसन्स’ लेख्ने सोच कसरी आयो ?

म राजनीतिशास्त्रको विद्यार्थी होइन । मेरो विषय दर्शनशास्त्र हो र मैले तिनै विषयमाथि किताब लेख्दै आएको छु । तर, कहिलेकाहीँ आफ्नो विषयभन्दा फरक पनि गएको छु । म निर्वाचन आयोगमा हुँदा निर्वाचनसम्बन्धी लेखहरू लेख्थेँ । त्यसैक्रममा कहिलेकाहीँ नेपाल–भारत सम्बन्धलाई लिएर पनि लेख लेखेँ । विभिन्न पत्रपत्रिकामा मेरो आलेख छापिएको पनि हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी नेपाल–भारत सम्बन्धलाई लिएर केही लेखहरू आयो । तर, ती किताबकै स्वरूपमा ल्याउने संख्यामा थिएनन् । पछि विचार आयो, यस विषयमा एउटा किताब नै तयार गरूँ । किनभने, एकपटक तत्कालीन भारतीय राजदूत केभी राजनसँगको एउटा मिटिङमा डा. भेषबहादुर थापा र पूर्वसभामुख दमननाथ ढुंगानासहित अरूहरू पनि हुनुहुन्थ्यो । म पनि त्यस मिटिङमा थिएँ । त्यहाँ नेपाल–भारत सम्बन्धलाई लिएर लामै कुरा भयो । यस विषयमा मैले बोल्ने कुरो थिएन । मैले सुनिरहेँ ।

तर, अन्त्यमा मैले केभी राजनलाई भनेँ, ‘नेपाल–भारतको रिलेसनमा एक किसिमको मनोवैज्ञानिक अवरोध (साइकोलोजिकल ब्यारियर) छन् । त्यसैले गर्दा अप्ठ्यारो भइरहेको छ ।’

Global Ime bank

मैले यति भन्नासाथ त्यहाँ कुनै अवरोध नभएको डा. थापाले भन्नुभयो । मैले यो हठात् भनेको थिएँ, किनभने कहीँ न कहीँ त समस्या छ । नभए बेलाबेलामा अनेक किसिमका कुरा भइरहेको नै देखिन्छ ।

त्यसैपछि मैले नेपाल–भारत सम्बन्धको विषयमा थप लेखरचना लेख्न थालेँ । केही सामग्री समेटेर ‘साइकोलोजिकल ब्यारियर्स टु नेपाल इन्डिया रिलेसन’ शीर्षकमा लेख नै लेखेँ, जुन एउटा दैनिक पत्रिकामा छापियो । यसरी समय–समयमा लेखहरू छापिँदै गयो । त्यसपछि ती लेखहरूलाई पुस्तकाकारमा ल्याएँ । त्यो किताब हो, ‘ऐसेज अन इन्डियन डिप्लोमेटिक डाइलेमा इन नेपाल’ । यो किताब सन् २०१९ मा एउटा भारतीय पब्लिकेसनले छाप्यो ।

पछि त्यो अपूर्ण लाग्यो । त्यसबाट सायद म सन्तुष्ट थिइनँ । अनि, त्यो अपूर्ण किताबलाई पूर्णता दिन मन लाग्यो । त्यसपछि नै ‘स्ट्रेन्ड नेपाल इन्डिया रिलेसन्स’को काम थालेँ । अन्ततः यो पनि केही समयअघि प्रकाशनमा आयो ।

पहिलेको किताब अपूर्ण लाग्नुको कारण के थियो ?

केही कारण थियो नै । एउटा त मोदीजीले सत्ता सम्हालेको केही वर्ष मात्रै बितेको थियो । उहाँको नेपालप्रतिको दृष्टिकोण के हो भन्ने स्पष्ट थिएन । यता, संविधान निर्माणपछि चुनाव भएर ओलीजी प्रधानमन्त्री भइसक्नुभएको थियो । उहाँको भारतप्रतिको दृष्टिकोण आइसकेको थिएन । यसअर्थमा २०१८ मा किताब प्रकाशित भए पनि त्यो आफैँलाई अपूर्ण लाग्यो । फेरि, पछिल्लो तीनचार वर्षमा विविध राजनैतिक कारणले गर्दा केही थपिनुपर्ने विषयहरू सिर्जना भए । त्यसपछि मात्रै यो किताब लेखियो र अहिले पाठकहरूको हातमा छ ।

अहिले पनि मलाई लाग्छ– यो किताब अपूर्ण नै छ, किनभने प्रचण्डजी प्रधानमन्त्रीका रूपमा हुनुहुन्छ, तर उहाँले यसबीचमा दुईपटक सत्ताको घटक परिवर्तन गरिसक्नुभएको छ । दुई महिनाअघि उहाँको भारतप्रतिको जुन दृष्टिकोण थियो, सायद अहिले बेग्लै भइसकेको होला ! उता, भारतमा निर्वाचन आउँदै छ, अब मोदीजी आउनुहुन्छ या अरू कोही । यसरी राजनैतिक परिवर्तनले किताब अपूर्ण नै भएको देखाउँछ ।

त्यसो भए राजनीतिक विषयवस्तुमाथि लेखिएका किताब त सधैँ अपूर्ण नै रहने भयो ?

ठिक भन्नुभयो । राजनीतिक विषयमा लेखिएका किताबहरू पूर्ण हुँदैनन् । राजनीतिक पद्धतिमा त दिनदिनै परिवर्तन भइरहन्छ । त्यसैले त्यसलाई पूर्ण भन्नै सकिन्न । जस्तो कि, गान्धीजीको आत्मकथा अझै पनि अपूर्ण लाग्छ, किनभने अझै केही कुरा छुटेका हुन् कि भन्ने पाठकलाई भान हुनसक्छ ।

यो किताबमा कति वर्ष काम गर्नुभयो ?

पहिलेको किताबसँगै जोड्ने हो भने त लामै समय भयो । सन् २०१९ मा सी चिनफिङ नेपाल आउनुभएको थियो । त्यहाँसम्मको विषय अघिल्लो किताबमा उल्लेख छ । त्यसपछिको समयका घटना–परिघटना यस किताबमा उल्लेख गरिएको छ । तर पनि आमनिर्वाचनपछिको गतिविधि यस किताबमा उल्लेख छैन । त्यो पनि लेखूँ कि भन्ने लागिरहेको छ । त्यतातिर सोच्दै छु ।

हेर्नुस्, ००७ सालमा मुलुकमा प्रजातन्त्र आयो । त्यसको केही वर्षअघि भारत स्वतन्त्र भएको थियो । ००७ सालपछिको समयमा हाम्रो देशबाट चामल, दाल, गहुँलगायत खाद्यान्न निर्यात हुन्थ्यो । तर, आज उल्टो अवस्था आएको छ । हामीले चामल, दाल, गहुँ आयात गरिरहनुपरेको छ । यसले के देखाउँछ भने देशका लागि सोच्ने मानिस कोही पनि भएनन् । सबै पावरको खेलमा लागे । जनताको हक र हिततिर कसैको दृष्टिकोण गएको छैन । आज हाम्रो देशको अधिकांश खेत बाँझो छ । युवापुस्ता विदेश पलायन भइरहेका छन् । मैले यिनै समस्यालाई यस किताबमा उठाएको छु ।

जहाँसम्म समाधानको कुरा गर्नुहुन्छ, त्यो भनेको आपसी संवाद नै हो । संवादले नै समस्याको समाधान गर्न सकिन्छ ।

किताबमाथि पाठकको ‘फिडब्याक’ कस्तो पाउनुभयो ?

मैले कतिपयलाई यो किताब दिएको छु । कतिले आधा पढेको छु भन्नुभएको छ । कतिले पढ्दै छु भन्नुभएको छ । एउटा लेखकका लागि किताब बजारमा आउनु, पाठकको हातमा पुग्नु नै सन्तुष्टिको विषय हो । कसैले पढ्दैनन् भने मैले के नै भन्न सक्छु र ! यद्यपि, यो किताब मैले तटस्थ भएर लेखेको छु ।

पुस्तक नेपाली भाषामा नै ल्याएको झनै राम्रो हुन्थ्यो होला नि !

निश्चित रूपमा राम्रो हुन्थ्यो । तर, म कम्प्युटरमा बसेर अंग्रेजीमा टाइप गर्न सक्छु, नेपालीमा सक्दिनँ । मैले नेपालीमा लेख्ने हो भने हातैले लेख्नुपर्छ । मैले लेखेका नेपाली र हिन्दीका केही किताबहरू हातले लेखेर अन्तै टाइप गराएर छापिएका हुन् । अर्को कुरो, अंग्रेजीमा लेखेपछि भारतका पाठकले पनि पढ्छन् र नेपालबारे केही बुझ्छन् कि भन्ने पनि हो । हुन त हो, नेपालीमा लेखिएको भए, अझै केही खण्ड थपिएको भए राम्रो हुने थियो ।

अनुवाद गर्छु भन्ने कोही आएनन् ?

छैन, त्यस्तो केही कुरा भएको छैन । किताब त भर्खर आएको छ ।

पठन संस्कृतिमा कमी आएको भन्ने चर्चा छ, तपाईंलाई कस्तो लाग्छ ?

पठन संस्कृतिमा कमी निश्चय नै आएको छ । जबदेखि टेलिभिजनको प्रचलन सुरु भयो, त्यसपछि नै किताब पढ्नेतिर मानिसको रुचि घट्दै गएको हो कि भन्ने मलाई लाग्छ । अहिले त झन् मोबाइल आइसकेको छ । हुन त इन्टरनेटले धेरै पठन सामग्रीलाई प्रस्तुत गर्दै आएको छ, तर आत्मिक सन्तुष्टि किताब पढ्दा नै हुन्छ भन्ने मलाई लाग्छ । पछिल्लो समय नेपाली किताबहरू पनि प्रशस्त प्रकाशित भइरहेको मैले पाएको छु । मैले केही किताबहरू पढेको पनि छु ।

म पत्रिका पसलमा देख्छु, साहित्यिक पुस्तकहरू । विभिन्न विषय र साहित्यका किताबहरू प्रकाशित भइरहेका छन् । त्यो देख्दा खुसी पनि लाग्छ । हाम्रो देश सानो होला, तर नेपालीको बौद्धिकस्तर व्यापक छ । विचार र चिन्तनमा नेपाली कम छैनन् । यसमा कुनै शंका छैन ।

तपाईंका ‘तुलसी के राम’, ‘मानस की सीता’ कृति पनि आए नि ! 

मैले भने नि, म दर्शनशास्त्रको विद्यार्थी हुँ । मेरो काम पढ्ने र लेख्ने नै हो । लेख्नलाई पढ्नुपर्छ । कोरोनाकालमा एक किसिमले घरमै बन्धक भइयो । त्यही समयमा मैले रामचरित मानसको अध्ययन गरेँ । त्यसपछि नै रामायणको दार्शनिक उद्देश्य के हो भन्नेतर्फ दृष्टि गयो । यसरी पढ्दै जाँदा ‘तुलसी के राम’, ‘मानस की सीता’ प्रकाशित भएको हो । केही समयअघि ‘मानस मे भक्ति’ लेखेँ । यी पढ्दै जाँदा जन्मिएका पुस्तकहरू हुन् । रामचरित मानस, वाल्मीकि रामायण, अध्यात्म रामायण र भानुभक्त रामायणमा के फरक छ त भन्ने सन्दर्भ यी पुस्तकहरूमा प्रस्तुत गरेको छु । दर्शनशास्त्र मेरो विषय भएकोले त्यसमा चिन्तन गर्ने प्रयत्न गरेको हुँ ।

प्रस्तुति : राजेश खनाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement