बाह्रखरी मिडियाले लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यको पक्षमा आमनेपालीलाई समाचार मात्र दिने काम गरेको छैन, यसले लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यकाबारेमा जनतालाई सचेतसमेत गराउँदै आएको छ । यसका साथ साथै बाह्रखरी मिडिया हाउसले सन् २०१७ देखि (सन् २०२० बाहेक) हरेक वर्ष ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ आयोजना गर्दै आएको छ । सन् २०२० मा भने कोभिडको महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेन ।
यस वर्षको ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता” रमणीय–पर्यटकीय शहर पोखरास्थित हिमालयन गल्फ कोर्समा मार्च १५ र १६ मा आयोजना हुन गइ राखेको छ । संसारमा रहेको ‘टप टेन एडभेन्चेरस गल्फ कोर्स’मध्ये हिमालयन गल्फ कोर्स पनि पर्छ भनिन्छ ।
बाह्रखरी अनलाइनले आयोजना गर्ने ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ नेपालको सबैभन्दा प्रतिष्ठित गल्फ प्रतियोगिता भन्दा अतिशयोक्ति हुनेछैन । मैले गल्फ खेल्न शुरु गरेको सन् २०१९ देखि हो । सन् २०२१ मा मैले पहिलो चोटि ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता” मा सहभागी भएदेखि मलाई प्रत्येक वर्ष सहभागी हुने अवसर प्रदान गरिराखेको छ । र, सन् २०२१ को ‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’मा म विजयी भएको कुरा उल्लेख गर्न पाउँदा सुखद अनुभूति हुन्छ ।
‘बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता’ हुन गइराखेको अवसरमा गल्फको इतिहास र कहिले नेपालमा यो खेलको प्रारम्भ भयो भन्ने विषयमा पाठकसमक्ष लेख पस्किन गइरहेको छु ।
गल्फ खेल १५औं शताब्दीको पूर्वाद्र्धतिर स्कटल्यान्डको राजधानी एडिनवर्ग नजिकै उत्पत्ति भएको मानिन्छ । शुरुवाती दौरमा गिट्टी (पेवल) लाई एल आकारमा बांगेको डण्डी, जसलाई गल्फको भाषामा ‘क्लब’ भनिन थालियो, ले हान्दै हान्दै तोकिएको गन्तव्यमा पुर्याउने र जसले कम भन्दा कम पटक हिर्काएर गन्तव्यमा पुर्यायो, उही बिजेता हुने खेलको रुपमा विकसित भएको खेल हो, गल्फ ।
शुरुमा स्याण्ड ड्यून (हावाले बनाएको बालुवाको पहाडको थुप्रो) मा गल्फ खेल्न प्रारम्भ भएको हो । पछि गएर घाँसे चौरमा खेलिन थालियो । पछि गएर गन्तव्यलाई होल (प्वाल) मा परिणत गरियो । जसले कम भन्दा कम पटक हिर्काएर होलमा बल छिराउँछ, उही बिजेता हुने नियम बन्यो ।
१५ औं शताब्दीमा बेलायतको आक्रामणको प्रतिरक्षाका लागि स्कटल्याण्डले जनतालाई सैनिक तालिम दिन आरम्भ गरेको थियो ।
गल्फ खेलको लोकप्रियता यति बढ्यो कि, युवाहरूमा यो खेलको लतले सैनिक तालिममा समेत प¥यो भनेर स्टकल्याण्डको राजा जेम्स द्वितीयले गल्फ खेलमाथि प्रतिबन्ध नै लगाइदिए । आममानिसले प्रतिबन्धलाई बेवास्ता गर्दै खेल खेली नै रहे । पछि गएर राजा जेम्स चौथो आफैँ गल्फ खेल्ने भए, अनि सन् १५०२ मा खेलले राजाको स्वीकृति प्राप्त भयो ।
राजाको स्वीकृतिपछि खेलको लोकप्रियता ह्वात्तै बढ्न गयो । १६ औं शताव्दीमा राजा चार्ल्स प्रथमले बेलायतमा गल्फ ल्याएका हुन् । स्टकल्याण्डकी रानी मेरीले १६औं शताव्दीमा नै फ्रान्समा अध्ययन गर्दा गल्फलाई फ्रान्समा लगेकी हुन् ।
इडन्वर्गको नजिक लिथ भन्ने स्थानमा पहिलो गल्फ कोर्स (गल्फ खेलिने ठाउँलाई कोर्स भनिन्छ) बनेको हो, जहाँ सन् १६८२ मा पहिलो गल्फ म्याच आयोजना भएको थियो ।
लिथमा गल्फ क्लव बनेपछि रमाइलोका लागि मात्र खेलिने गल्फ खेल (गेम) औपचारिकरूपमा स्पोर्टस् (प्रतियोगिताका लागि खेलिने) मा परिभाषित भएको हो । यही नै डन्कन फोर्वस् भन्ने व्यक्तिले खेलको नियम बनाएका हुन्, जसलाई लिथको नियम भनेर चिनिन्छ । खेललाई अझ निष्पक्ष र प्रतिस्पर्धी बनाउन केही थपघट गर्नेबाहेक, त्यही नियम मूलतः आजको दिनसम्म कायम छ ।
सन् १५५२ बाट गल्फको केन्द्रबिन्दू स्कटल्याण्डको ऐतिहासिक शहर सेन्ट एन्ड्रू भएको मानिन्छ । सन् १७६४ मा सेन्ट एन्ड्रु गल्फ कोर्सलाई १८ होलको कोर्स बनाएपछि १८ होलको गल्फ कोर्सको इतिहास प्रारम्भ भएको हो । त्यसैले सेन्ट एन्ड्रु गल्फ कोर्सलाई संसारको पहिलो गल्फ कोर्स मानिन्छ ।
जसै बेलायती साम्राज्यको विस्तार हुँदै गयो, गल्फ पनि बेलायती साम्राज्यसँगै बिस्तार भएको देखिन्छ । सन् १८२९ मा कलकत्तामा निर्मित रोयल कलकत्ता गल्फ कोर्स संसारको दोस्रो र एसियाको पहिलो गल्फ कोर्स मानिन्छ ।
अमेरिकामा सन् १८९४ मा यूनाइटेड स्टेट्स गल्फ एशोसियन (यूएाजिए) को गठन भएको हो । सन् १९०० सम्ममा अमेरिकामा १००० गल्फ क्लव बनिसकेका थिए । व्यापारी प्रायोजनमार्फत् प्राप्त हुने लगानीको सुलभ उपलब्धताले अमेरिका रातारात प्रोफेसनल गल्फको केन्द्रबिन्दूमा परिणत हुन गयो । सन् १९१६ मा प्रोफेशनल गल्फ एशोसियन अफ अमेरिका गठन भएको हो । प्रोफेसनल गल्फरका बीचमा प्रतियोगिता (टुर्नामेन्ट) आयोजना गर्न सन् १९२९ मा पिजिए टूर (पुरुषहरुको लागि) को स्थापना भएको हो । वर्षको ५२ हप्तामा करिव करिव हरेक हफ्ता नै पिजिए टूरअन्तर्गतको गल्फ च्याम्पियनसीप आयोजना हुन्छ ।
गल्फ च्याम्पियनसीपमा ४ वटा प्रतियोगिता (मास्टरस, यूस ओपन, पिजिए च्याम्पिएनसीप, ब्रिटिश ओपन) लाई प्रतिष्ठाको हिसाबले प्रमुख (मेजर) प्रतियोगिता मानिन्छ । यी ४ वटै प्रतियोगिता पिजिए टूर अन्तर्गत पर्दैनन् ।
पिजिए टूरअन्तर्गतको गल्फ च्याम्पियनसीपमको प्रथम पुरस्कार राशि केही लाख डलरदेखि १८ मिलियन (सन् २०२३) सम्मको छ । एउटा मात्र पिजिए टूर वा मेजर जित्ने प्रोफेसनल खेलाडी रातारात मल्टी मिलिनेर बन्न पुग्छ । गल्फ खेललाई शान्त खेल मानिन्छ । यसमा खेलाडीले जोश प्रदर्शन गर्दैनन्, दर्शक समेत शान्त र सौम्य रहन्छन् ।
तर सन् १९९० को उत्तराद्र्धमा टाइगर वुड्स भन्ने यस्ता खेलाडी जन्मिए उसको खेलमा जादू थियो । जसले करिब करिब गल्फ खेलको सबै प्रकारका रेकर्ड बनाए । वुड्सको खेलले दर्शकलाई यस्तो मन्त्रमुग्ध बनाइदियो कि उसको फ्यान फोलोविङ अभूतपूर्व रहन गयो । वुड्सले कोर्समा जोश देखाएर खेल्छन् । उनको जोश र जादूमय खेलले दर्शकलाई शोरसरावा गर्ने बनाइदियो । गल्फ खेलेर नै टाइगर वुड्स बिलिनेर बनेका छन् ।
अमेरिकाको पिजिए टूर जस्तै सन् १९७२ मा दुबईमा डिपि वर्लड टूर स्थापना भएको छ । । त्यस्तै अमेरिकामा सन् १९५० मा लेडिज प्रोफेसनल गल्फ एशोसिएन (एलपिजिए) स्थापना भएको छ । यी दुवै टूरले वर्षको करिब करिब सबै हप्ता प्रतियोगिताको आयोजना गर्छ । पिजिए टूरको पुरस्कार राशीसँग तुलना गर्दा यी दुइ टूरको पुरस्कार राशी भने न्युन छ ।
सन् १९१७ मा नेपालका तत्कालीन राणा प्रधानमन्त्रीसँग स्टकल्याण्ड गएकाहरु फर्किदा गल्फ क्लव लिएर आए । गौचरन (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको स्थान) मा खेल्न शुरु गरे । त्यही वर्षलाई नै नेपालको गल्फको इतिहास मानेको देखिन्छ । जसलाई किरण शमशेर राणाले गौचर गल्फ कोर्सको नामले स्थापना गरेका थिए ।
सन् १९६५ मा यसको नाम रोयल नेपाल गल्फ कोर्स (आरएनजिसी) नामांकरण गरियो । हाल ९ होलको आरएनजिसीको गल्फ कोर्स भने सन् १९८६ मा निर्माण भएको हो ।
नेपालमा ७ वटा गल्फ कोर्स छन् । काठमाण्डौंमा आरएनजिसीको अलावा गौचरण एरियामा नै ९ होलको त्रिभुवन आर्मी गल्फ क्लव र नेपालको एकमात्र १८ होलको गोकर्ण गल्फ क्लव (जिजिसि) छ । धरानमा ९ होलको, पोखरामा १६ होलको, फुलवारी रेसोर्ट पोखरामा र चौधरी ग्रुपको नवलपरासीमा ९/९ होलका गल्फ कोर्स छन् । २ वर्षअघि मुस्ताङका प्रदेश सांसदको पहलमा अपर मुस्ताङको लोमाङथाङमा ९ होलको गल्फ कोर्स निर्माण भएको छ । यो विश्वको सबैभन्दा अग्लो स्थानको गल्फ कोर्स मानिन्छ । तर, यसको जुन अवस्था र विकटता छ, यसले गल्फ कोर्सको मान्यता पाउन कठिन छ ।
गोल्फ कोर्सलाई दुरुस्त (मेनटेन्ड) राख्ने काम निकै खर्चालु हुन्छ । कोर्स मेन्टेन्ड राख्न आवश्यक रकम जम्मा गर्ने माध्यम भनेको सदस्यता शुल्क र टुर्नामेन्ट आयोजना गर्ने हो । नेपालमा गल्फ खेल्नेको संख्या न्यून रहेको र टुर्नामेन्ट पनि खासै नहुने भएकोले आरएनजिसी र जिजिसीबाहेकका गल्फ कोर्सको हालत नाजुक छ । तर हिमालयन गल्फ कोर्स पोखरालाई जेनतेन कोर्सलाई ठीक–ठाक अवस्थामा राखिएको छ ।
सन् १७६४ देखि गल्फ कोर्स १८ होलको बनाइएको तथ्य माथि नै उल्लेख गरिसके । १८ वटा होलमा ३ किसिमका होलहरू हुन्छन् । एउटा ३ चोटीमा हानेर प्वालमा छिराउने हुन्छ, जसलाई पार ३ होल भनिन्छ । अर्को ४ चोटिमा हानेर प्वालमा छिराउने हुन्छ, जसलाई पार ४ होल भनिन्छ । अनि अर्को ५ चोटिमा हानेर प्वालमा छिराउने हुन्छ, जसलाई पार ५ होल भनिन्छ । यसरी सबै होलको पार जोड्दा एउटा कोर्स कुनै ७०, कुनै ७१ र कुनै ७२ पारको हुन जान्छ । कुनै कुनै कोर्स पार ६८, ६९ र ७३ को पनि छन् ।
प्रायः सबै अन्तर्राष्ट्रिय र प्रोफेसनल गल्फ टुर्नामेन्ट स्ट्रोक प्लेमा खेलाइन्छ । एक पटक बल हिर्काउनुलाई एक स्ट्रोक भनिन्छ । पार ३ को होलमा ३ पटक हानेर प्वालमा बल छिराएमा, पार ४ को होलमा ४ पटकमा हानेर प्वालमा बल छिराएमा, पार ५ को होलमा ५ पटकमा बल प्वालमा छिराएमा त्यसलाई पार भनिन्छ र स्कोर शून्य हुन्छ ।
तोकिएको पारमा एक स्ट्रोक कममै बल प्वालमा छिराएमा स्कोर–१ हुन्छ । त्यसलाई ‘वर्डी’ भनिन्छ; दुई स्ट्रोक कममै बल प्वालमा छिराएमा स्कोर–२ हुन्छ, त्यसलाई ‘इगल’ भनिन्छ । तीन स्ट्रोक कममै बल प्वालमा छिराएमा स्कोर–३ हुन्छ, त्यसलाई ‘एलवाट्रस’ भनिन्छ । तोकिएको पारमा एक स्ट्रोक बढी हानेर प्वालमा बल छिराएमा स्कोर+१ हुन्छ, त्यसलाई ‘बोगी’ भनिन्छ । तोकिएको पारमा जति स्ट्रोक बढी हानेर प्वालमा बल छिर्छ, त्यति नै संख्याको ‘बोगी’ भनिन्छ ।
१८ होल खेल्दा जसले सबैभन्दा कम स्ट्रोकमा होल पूरा गर्छ, उ नै बिजेता हुन्छ । अन्तर्राष्ट्रियस्तरको टुर्नामेन्ट ४ दिन खेलिन्छ । ४ दिन खेल्दा ७२ होलको खेल हुन्छ ।
जसले ७२ होल खेल्दा कम स्ट्रोकमा खेल पूरा गर्छ, उ बिजेता हुन्छ । जसले ७२ होल खेल्दा दोश्रो कम स्ट्रोकमा खेल पूरा गर्छ, उ उपबिजेता हुन्छ । एवम् रितले खेल्ने खेलाडीको र्याकिङ तय हुन्छ ।
यदि ७२औं होल खेलिसक्दा दुई वा दुईभन्दा बढी खेलाडीको स्कोर टाइ (समान) भएमा ती खेलाडीको बीचमा ‘टाइब्रेक’ हुन्छ, जसलाई ‘प्लेअफ’ भनिन्छ ।
‘प्लेअफ’मा त्यो खेलाडी विजयी हुन्छ, जसले प्लेअफ होलमा सबैभन्दा कम स्ट्रोकमा बल होलमा छिराउँछ । यदि प्लेअफ होलमा पनि खेलाडीको बीचमा टाइ भयो भने यो प्रक्रिया चलिरहन्छ, जबसम्म एउटा खेलाडी विजयी हुँदैन ।
क्रिकेटमा व्याट्समेनले १४० किमीको रफ्तारमा आएको बललाई हान्न पर्छ । टेनिसमा २०० किमीको रफ्तारमा आएको सर्भिस फर्काउनुपर्छ । बेसबलमा १६० किमीको रफ्तारमा आएको बललाई हान्नुपर्छ । सबै खेलमा फुटबल होस् कि बास्केट बल होस् कि, भलिबल होस् सबैमा प्रतिद्वन्द्वीसँग आमनेसामने भएर खेलिन्छ । एकले अर्कोलाई अप्ठ्यारोमा पारेर जित्न कोसिस गर्नुपर्छ । आफ्नो खेलको स्तर प्रतिद्वन्द्वीको खेलको स्तरले निर्धारण गर्छ ।
गल्फ एउटा यस्तो बिीचत्रको खेल हो, जसमा आफ्नो खेललाई प्रतिद्वन्द्वीले कुनै असर गर्दैन । प्रतिद्वन्द्वीको खेलबाट आफ्नो खेल अछुत रहन्छ । एउटा समूहमा २ देखि ४ जनासम्म खेलिन्छ । समूहमा जति खेलाडी भए पनि सबैले आ–आफ्नो खेल खेल्ने हो । समूहमा कसले जित्यो भनेर खेल समाप्त भएपछि सबैको स्कोर (भिन्नाभिन्नै टिपिएको) ट्याली (गिन्ती) गरेर निर्क्यौल गरिन्छ ।
पिजिए टूर, डिपी वर्ल्ड टूर र एलपिजिए टुरअन्र्तगतको टुर्नामेन्टमा १७० जनासम्मको प्रतिस्पर्धीले भाग लिन्छन् । संसारमा यस्तो कुनै खेल छैन जसमा एउटा प्रतियोगितामा यतिका धेरै खेलाडीलाई जित्नुपर्छ, विजयी हुन ।
यो खेलको सुन्दर पक्ष भनेको एमेच्युर खेलाडीका लागि ह्यान्डीक्यापको प्रबन्ध गरिएको हुन्छ । एमेच्युर खेलाडी कुनै न कुनै क्लबसँग आवद्ध भएका हुन्छन् । प्रत्येक क्लवले आ–आफ्नो खेलाडीको ह्यान्डीक्याप निर्धारण गरेको हुन्छ । क्लबको आ–आफ्नो प्रचलित नियमानुसार शुरु शुरुमा खेल्ने खेलाडीको ह्यान्डीक्याप साधारणतया २४ तोकिएको हुन्छ । तर कुनै कुनैमा २७, ३६ सम्म पनि निर्धारण गरेको हुन्छ । खेलाडीले आफ्नो खेलमा कौशलता बढाउँदै लगेपाछि उसको ह्यान्डीक्याप कम हुँदै जान्छ ।
खेल परिस्कृत हुँदै गएपछि ह्यान्डीक्याप शून्य हुँदै + १,२,३ वा अझ बढी पनि हुन सक्छ । यहाँ + १,२,३ भनेको शून्य भन्दा पनि कम ह्यान्डीक्याप हो, गल्फको भाषामा । तोकिएको होलमा ह्यान्डीक्याप भएकाले ह्यान्डीक्यापअनुसार स्ट्रोक पाउँछ भने + ह्यान्डीक्याप भएकाले नेगेटिब स्ट्रोक पाउँछ । नेगेटिभ स्ट्रोक पाउने होलमा स्कोर गणना गर्दा खास खेलेको स्ट्रोक भन्दा एक स्ट्रोक बढी गणना हुन्छ । उदाहरणका लागि कसैले पार खेल्यो भने त्यो बोगी हुन्छ ।
एमेच्युरले कुनै टुर्नामेन्ट खेल्दा वा साथीभाइका बीच खेल्दा यही ह्यान्डीक्यापमा खेल्नुपर्छ । गल्फको ह्यान्डीक्यापले भिन्नभिन्न लेभेल (स्तर) का खेलाडीलाई समान लेभेलमा ल्याएर प्रतिस्पर्धा गराउँछ ।
एकछिन मानौं, कसैको ह्यान्डीक्याप १८ छ । यसको अर्थ उसले प्रत्येक होलमा एउटा एक्स्ट्रा (थप) स्ट्रोक पाउँछ । यसको अर्थ उसले कुनै होलमा पार खेल्यो भने उसको स्कोर त्यो होलमा बर्डी हुन्छ, बर्डी खेल्यो भने इगल हुन्छ, बोगी खेल्यो भने पार हुन्छ, डबल बोगी खेल्यो भने बोगी मात्र हुन्छ ।
यसै होलमा ह्यान्डीक्याप नभएको खेलाडीले पार खेल्नु र ह्यान्डीक्याप भएको खेलाडीले बोगी खेल्नु समान स्कोर प्राप्त गर्नु हो । यसरी ह्यान्डीक्यापको व्यवस्थाले दुई फरक लेभेलको खेलाडीलाई समान स्तरमा ल्याएर खेललाई प्रतिस्पर्धायुक्त बनाइदिन्छ ।
प्रत्येक गल्फ कोर्सको १८ होलमा खेल्न अप्ठेरो हुने आधारमा स्ट्रोक इन्डेक्स (एसआइ १ देखि एसआइ १८) दिइएको हुन्छ । एसआइ १ भनेको सबैभन्दा अप्ठेरो होल भने एसआइ १८ भनेको सबैभन्दा सजिलो होल हो । यदि कसैको ह्यान्डीक्याप १ छ भने उसले एसआइ १ मा एकस्ट्रा स्ट्रोक पाउँछ, ह्यान्डीक्याप २ छ भने उसले एसआइ १ र २ मा एकस्ट्रा स्ट्रोक पाउँछ, ह्यान्डीक्याप ३ छ भने उसले एसआइ १, २ र ३ मा एकस्ट्रा स्ट्रोक पाउँछ । एवम् रितले सबै खेलाडीको ह्यान्डीक्याप र स्ट्रोकको निर्धारण हुन्छ ।
स्ट्रोक प्लेमा जसले जति कम स्ट्रोकमा खेल समाप्त गर्यो, त्यो विजयी हुने कुरा माथि उल्लेख भइसक्यो । गल्फमा २ जनाको बीचमा स्ट्रोक प्लेको अलावा म्याचप्लेको आधारमा पनि प्रतिस्पर्धा गराउन सकिन्छ । म्याचप्लेमा कुल स्ट्रोकको गणना हुँदैन ।
म्याचप्लेमा प्रत्येक होलमा प्रतिस्पर्धा हुन्छ । जसले कम स्ट्रोकमा होलमा बल छिराउँछ, उसले होल जिच्छ । १८ वटा होल खेल्दा जसले सबैभन्दा बढी होल जित्छ, उ विजेता हुन्छ । इमेच्युरको बीचमा हुने म्याचप्लेमा पनि ह्यान्डीक्याप अनुसार नै खेल हुन्छ । प्रोफेसनलहरुको बीचमा हुने खेलमा ह्यान्डीक्यापको व्यवस्था हुँदैन ।
ह्यान्डीक्यापको प्रवन्ध खेललाई प्रतिस्पर्धी बनाउन अत्यन्तै वैज्ञानिक छ । विश्व च्याम्पयिन टाइगर उड्स र हामी जत्तिको खेलाडीको बीचमा म्याचप्ले खेल्ने हो भने १८ होलमा २, ४ होल हामीले पानि जित्न सक्छौं । टाइगर वुड्ससँग खेल्दा हामीले प्रायः सबै होलमा स्ट्रोक पाइहाल्छौं । २, ४ वटा होलमा हामीले पार खेलिहाल्छौं, जुन होलमा टाइगर वुड्सले पनि पार मात्र खेल्न सक्छ । त्यस होलमा हामी विजेता हुन्छौं ।
संसारमा यस्तो कुनै खेल होला जसमा एउटा सामान्य खेलाडी र विश्व च्याम्पियनको बीचमा प्रतिस्पर्धामक खेल हुन सकोस् । हामीले डोच्योविकसँग टेनिस खेल्यौं भने एक गेम पनि जित्दैनौ, सेटको त परै जाओस् ।
विराट कोहलीलाई बलिङ गर्यौं भने उसले छक्का र चौका मात्र हान्नेछ । मेसीसँग फुटबल खेल्यौं भने हामीले एकचोटि पनि बल छुने अवसर मिल्ने छैन । त्यसैले गल्फबाहेक कुनै पनि खेलमा एउटा हबि (सोख) का लागि खेल्ने सामान्य खेलाडी र विश्व च्याम्पियनको बीच प्रतिस्पर्धात्मक खेलको परिकल्पना गर्न सक्दैनौं ।
गल्फ नखेलेको मानिसका लागि यो खेल हेर्दा निरस लाग्न सक्छ । जसलाई गल्फबारे केही जानकारी छैन, उसका लागि भुइँमा टक्क बसेको बल एउटा डण्डीले हानेको हेर्दा गल्फ स्पोर्टस जस्तै लाग्दैन । हेर्दा गल्फ यस्तो सामान्य लाग्छ कि जोसुकैको मनमा लाग्न सक्छ म सजिलैसँग गल्फको बल हान्न सक्छु । तर गल्फ कहिल्यै नखेलेको मानिसलाई हान्न दियो भने उसले क्लव र बलको कन्ट्याकसम्म पनि गर्न सक्दैन ।
गल्फमा एउटा सुन्दर सर्ट हान्न धेरै कुराको सिंक्रोनाजेसन हुनुपर्छ । एउटा सुन्दर गल्फ सर्ट हान्न कति कुरा मिल्नुपर्छ भनेर एउटा लेखमा व्याख्या गर्न असम्भव छ । गल्फ स्किल (कौशलता) को अलावा फिल (महसूस) र मसल मेमोरीले खेलिने खेल हो । खेल्दा खेल्दै खेलाडीको फिल र मसल मेमोरी त्यतिकै हराएर जान्छ । उसको फिल र मसल मेमोरी हराएको कुरा खेलाडीले थाहा नै पाउँदैन ।
उसलाई सबै कुरा ठीक गरिराखेको जस्तो लाग्छ । तर उसले करेक्ट (सही) सर्ट हान्न सकिराखेको हुँदैन । जसका कारण कुनै खेलाडीको खेलको स्तर २० छ भने कुनै दिनमा ५ मा झरेको हुन्छ । यस्तो खेलको स्तर एकाएक यति तल झर्ने कुनै खेलमा हुँदैन । अन्य खेलमा नराम्रो खेलेको दिन खेलको स्तर २० बाट १७, १८ झरेको हुनसक्छ, त्यो पनि विशेषत प्रतिद्वन्द्वीको खेलको स्तरमा भर पर्न जान्छ ।
अरु कुनै पनि खेल संसारको कुनै पनि स्थानमा खेल्दा समान ग्राउण्ड (मैदान) मा, समान कोर्टमा, समान व्याट वा र्याकेटले, समान नेटमा, सधैँ समतल सतहमा खेलिन्छ ।
गल्फ भने हरेक पटक बडो असमानतामा खेल्नुपर्छ । गल्फमा बल कहिले उकालोमा बस्छ, कहिले ओरालोमा बस्छ, फेरि यो उकालो ओरालो कतै होलको दिशातिर हुन्छ भने कहिले अर्को दिशामा हुन्छ । कहिले लामो लामो घाँसमा गएर बस्छ । कहिले बंकर (बालुको गड्डा) मा गएर वस्छ ।
भिन्न भिन्न होलमा हरेक पटक भिन्नाभिन्नै दुरिमा हान्न पर्छ । बलको लाइ (बसाइ) हरेक पटक भिन्न प्रकारको सर्फेस (सतह) मा बसेको हुन्छ । भिन्न भिन्न प्रकारको सतहमा हान्ने तरिका फरक फरक हुन्छ ।
एउटा खेलाडीसँग १४, १५ को संख्यामा क्लव हुने गर्छ । प्रत्येक क्लवको लम्बाइ, तौल, साइज र सेप फरक–फरक हुन्छ । भिन्न–भिन्न क्लव प्रयोग गर्ने तरिका एकै हुँदैन । कोर्समा जंगल हुन्छ ।
जंगलमा गएको बल जंगलबाट नै हान्नुपर्छ । कोर्समा ह्याजार्ड (पोखरी, नाला) यत्रतत्र विद्यमान हुन्छन् । हाजार्डमा गएको बल कोर्समा ल्याएर हान्न एक एक्स्ट्रा स्ट्रोकको पेनाल्टी लाग्छ । साथै होलहरुको बाउन्डरी (सीमा) निर्धारण गरिएको हुन्छ । केही गरी हानिएको बल बाउन्डरी बाहिर गएमा दुइ स्ट्रोकको पेनाल्टीसहित पुनः त्यही स्थानबाट हान्नुपर्छ ।
यी सबै कारणले गल्फ खेल आफैँमा चुनौतिपूर्ण हुन्छ । गल्फ खेल्न हेर्दा सरल लाग्छ, तर त्यसको ठीक उल्टा संसारमा खेलिने सबै खेल भन्दा गल्फ खेल कठिन र चुनौतिपूर्ण हुन्छ ।
गल्फ फिलका साथ खेलिने खेल भएकाले यो खेलले शारीरिक तन्दुरुस्ती वा खेलुन्जेलको आनन्दोभूति मात्र दिँदैन, यसले खेल समाप्त भएको घन्टौ पछिसम्म पनि मनलाई आनन्दित बनाइ राख्छ । गल्फ मात्र यस्तो खेल हो जुन खेल हरियाली तथा स्वच्छ वातावरणमा प्रकृतिसँग साक्षात्कार भएर खेलिन्छ ।
गल्फ कोर्समा गल्फ खेल्दै हिँड्दा स्वर्गको अनुभूति हुन्छ । गल्फ खेलले दिने शारीरिक तन्दरुस्ती, आनन्द र प्रकृतिसँगको सामीप्यले १८ औं शताव्दीमा डा. बेन्जामिन रशले भनेका थिए, ‘यो खेल हफ्ताको १ वा २ चोटि खेल्नाले मात्र पनि मानिसको आयु १० साल बढाउँछ ।’
गल्फ अत्यन्तै लोकप्रिय खेल हो । भनिन्छ, संसारमा गल्फकाबारेमा लेखिएको किताव तथा लेखलाई एक ठाउँमा र अन्य सबै खेलहरुका बारेमा लेखिएको किताब र लेखलाई एक ठाउँमा राखेर तौलने हो भने गल्फबारे लेखिएको किताब तथा लेखको तौल बढी हुन्छ ।
अन्य खेलको स्तर उमेरसँगै कम भएर जान्छ । शारीरिक स्फूर्तिका लागि खेलिने अन्य खेलका खेलाडीलाई ५० को हाराहारीमा पुगेपछि खेल्न नसक्ने बनाउँछ । ५०, ६० को उमेर आफूले वर्षौं खेलेको खेल त्यागरे मानिस वाक (हिँड्न) गर्न थाल्छ । गल्फ खेल यस्तो खेल हो, एउटा मानिस हिँड्न सक्ने बेलासम्म खेल्न सक्छ । गल्फ खेल सिक्न उमेरको हद हुँदैन । कुनै पनि उमेरमा गल्फ आरम्भ गर्न सकिन्छ ।
म सबै प्रकारका खेल खेल्थे, युवा अवस्थामा । र पछि गएर मैले टेनिस ५५ वर्षको उमेरसम्म खेले । मलाई बिस्तार ढाड दुख्ने र टेनिस एल्वोले सताउन थाल्यो र डाक्टरको सल्लाहमा मैले टेनिस खेल त्यागी दिए । शारीरिक तन्दुरुस्तीका लागि मैले केही गर्नैपर्ने भयो । मलाई वाक मन पर्दैनथ्यो । मेरो काका पवित्र कार्की गल्फ खेल्नुहुन्थ्यो । काकाले पनि ४० वर्ष कटेपछि नै गल्फ खेल्न शुरु गर्नु भएको हो ।
२०७६ सालमा म सचिववाट निवृत्त भएको अर्को दिन नै काकाले मलाई आएनजिसिमा लगेर कोच सचिन भट्टराइलाई भेटाइदिनु भएपछि मैले गल्फ आरम्भ गरेको हुँ । म अहिले १० ह्यान्डीक्यापमा खेल्छु । मैले हालसम्म ४ वटा टुर्नामेन्ट जितेको पनि छु । म पूर्णरुपमा निवृत्त जीवन बिताइराखेको छु, म प्रायः हफ्तामा न्यूनतम ५ दिन नै गल्फ खेल्छु ।
मैले गल्फ खेल्न आरम्भ गरेको कारणले नै म चरम पिडादायी अवस्थावाट बिस्तार सामान्य जीवन बिताउन सक्ने भएको छु । म अहिले पूर्णरुपमा शारीरिक रुपमा स्वस्थ्य छु । हरेक दिनको खेल समाप्तिपछि फेरि भोलि गल्फ खेल्न पाउँछु भन्ने अनुभूतिले हर्षले गदगद् हुन्छु । गल्फ खेल्नका लागि नै लामो जीवन जिउने चाहना राख्छु ।