site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सिनेमालाई मनोरञ्जनको रूपमा मात्रै लिन नहुने बताइन् । सिनेमाले सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान दिने उनको भनाइ छ ।

साथै विश्वभरका फिल्म मेकरका लागि नेपाल महत्त्वपूर्ण स्थान रहेको बताउँदै उनले भनिन्, "हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र सांस्कृतिक हिसाबले चलचित्र छायांकनका लागि विश्वमै महत्त्वपूर्ण स्थल हो । त्यसैले सिंगो नेपाल नै फिल्म स्टुडियोको हिसाबले विकास गर्न आवश्यक छ ।"

निर्देशक तथा अभिनेता नीर शाहले वर्तमान अवस्थामा नेपाली फिल्मलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्न सकिने बताए । "वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभूति हुन थालेको छ । तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्रले आफ्नो अभियानलाई सही दिशा तिर तीव्रता दिन सफलता हाँसिल गर्दै गएको पनि छ ।"

नेपालमा एकदमै थोरै राम्रा फिल्म बने पनि नराम्रा फिल्मको तुलनामा राम्रा फिल्मकै प्रभाव बढी रहेको पनि उनको भनाइ छ ।

बोर्डका अध्यक्ष भुवन केसीले यस्ता कार्यक्रम नियमित गर्न निकै कठिन रहेको बताए । सरकारका तर्फबाट कलाक्षेत्रले उचित सम्मान नपाएको बताउँदै केसीले भने, "भन्नका लागि कला संस्कृति र कलाकारलाई देशको गहना भनिए पनि नेपाली सिनेमा क्षेत्र अपहेलित छ भनेर दुःखका साथ भन्नुपर्छ ।"

बिहीबारदेखि सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदै छन् ।

आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसनइम्पोसिबलसँगै सुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म डेसान पनि देखाइएको छ । चैत्र ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिलमल, लबिममल र भक्तपुर भाटभटेनीका क्यूएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमा सम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro