‘घिउ बेचुवा र तरबार बेचुवा’ स्कुले जीवनमा पढेको एक रोचक कथा थियो । यतिखेर मञ्चित राजनीतिक घटनाक्रमसँगै त्यो कथा झल्झल्ती सम्झना गराइराख्छ ।
उक्त कथाका दुईपात्र एक आपसमा परिचित थिएनन् । एउटा पात्र धुलोले भरिएको ठेकीको माथिल्लो भागमा मात्र राखिएको ‘असल घिउ’ बेच्दैथियो । अर्काे पात्र खिया परेको पत्रु तरबारमा चाँदीको जलप लगाएको थियो । अनि ऊ ‘चाँदीको तरबार’ भन्दैथियो ।
घिउ बेचुवा र तरबार बेचुवाबीच सामान्य परिचयसमेत नहुँदा उनीहरुलाई नक्कली सामान साटासाट गर्न सम्भव भयो । तर, हाम्रा प्रमुख तीन दलका नेताहरुबीच ‘बाघले चिनेको जंगल र जंगलले चिनेको बाघ’ जस्तै सम्बन्ध रहँदै आएको छ, लामो समयदेखि ।
तिनीहरुबीच हुने पारिस्परिक सम्बन्ध ‘कहिलेको गलप्राणी त कहिलेको तातो खरानी’को रुप लिने गर्छ । समय–समयमा उनीहरू भद्र सम्झौता पनि गर्छन् । उक्त सम्बन्धमा दरार आएपछि एकले अर्कालाई ‘धोका’ दिएको आरोप लगाउँछन् ।
धोका खाए भनी तड्प्नेलाई धोका दिनेले हाकाहाकी भन्छ, ‘तिमीसँग रहँदा धोका नहुने अर्कोसँग जाँदा धोका हुने ?’
खडगप्रसाद ओली तथा पुष्पकमल दाहालबीच एक–आपसको गाली–गलौज तल्लोस्तरको हुने गर्छ । जुन सुन्नेलाई लाज लाग्ने खालको हुन्छ । अभिभावकहरूले घरका केटाकेटीले तिनीहरूको त्यस्ता गाली–गलौज सुन्लान् भन्ने डर मान्नु पर्छ ।
सार्वजनिक भएका गैरकानुनी कार्यलाई सामसुम पार्न अत्यन्त सौहाद्रपूर्ण वातावरणमा तिनका बीच म्याराथन बैठक हुन्छ । मिलिभगतमा बाँडचुँड, एकले अर्काले गरेको अनियमितता ढाक्न तथा बचाउन उनीहरू सफल हुँदै आएका छन् ।
हालैको नेपाली कांग्रेससँगको सम्बन्ध भताभुङ्ग तुल्याएर पुनः एमालेसँग गरिएको भद्र सम्बन्धका विषयमा संघीय संसद्मा कांग्रेस दल प्रमुख सचेतक माननीय रमेश लेखकले अत्यन्त सभ्य तरिकामा वर्णन गरे ।
माननीय लेखकले प्रधानमन्त्री दाहालको चारित्रिक गुण, क्षमता, दक्षता तथा राजनीतिक इमानदारिता आदिका विषयमा रेडियोलोजिस्टले एमआर अध्ययन गरेर बिरामीको शारीरिक अवस्थाको वर्णन गरे जस्तो गरेर प्रस्तुत गरिदिए ।
यूट्यूबमा छरपस्ट भएको तिनको प्रस्तुति कुनै पनि नेपाली नागरिकले नछुटाई हेर्नैपर्ने स्तरको छ । प्रधानमन्त्रीको प्रतिउत्तर पनि सार्वजनिक भइसकेको छ । यूट्यूबमा उहाँहरूबीच कसले कसलाई धोका दिएको भन्ने रोचक छ ।
दिनलाई रातमा रात दिनमा परिणत गर्ने प्रचूर क्षमताका खानी ‘सम्माननीय’ प्रधानमन्त्रीले ‘धोका’ शब्दको परिभाषा नै परिवर्तन गरे । सान्दर्भिक छ, सांसद गगन थापाको टिप्पणी, प्रधानमन्त्री सामुन्ने पर्दा खड्गप्रसाद ओलीलाईसमेत धोका कुन बेला पाइने हो भन्ने लाग्छ होला ।
सञ्चार माध्यमहरूमा छरपष्ट भएको धोकाधडीका विषय कोट्याउनु आवश्यक ठान्दिन । मिठासपूर्ण शब्दमा माननीय लेखकको ‘धोका खानेहरु एक ठाउँमा उभिए भने’लाई यस लेखको विषय बनाइएको छ ।
एमाले तथा माओवादीबीचको सैद्धान्तिक मिलनविन्दु हो, लोकतान्त्रिक प्रणालीप्रतिको आस्था । दुवै दलले केवल लोकलाजकै निमित्त मात्र हो, नेपालको संविधान २०७२ लाई स्वीकारेको । दुवै दलको घोषित उद्देश्य बहुदलीय व्यवस्थालाई विस्थापित गरेर एक दलीय अधिनायकवादी व्यवस्थाको स्थापना गर्नु हो ।
नेपाली राजनीतिक इतिहासको दुई संयोग हुन्, एमाले तथा माओवादीको वर्तमान उपस्थिति । एमाले अध्यक्ष खडगप्रसाद ओली ‘झापाली विद्रोह’को उपज हुन् । उक्त विद्रोहको उद्देश्य थियो, ‘वर्ग शत्रु हत्याबाट जनक्रान्ति गर्ने ।’
त्यस कालखण्डमा पञ्चायती सुरक्षा निकाय प्रभावकारी थियो । हिंसालाई प्रति हिंसाले दबाइदिन सहज वातावरण थियो, त्यो कालखण्डमा । ठिकविपरीत राष्ट्रिय तथा विश्व राजनीतिक वातावरण रह्यो, माओवादी आन्दोलनको सुरूवात तथा मौलाउन ।
देशभित्र तीन दशक कांग्रेस दबाउन प्रशिक्षित पञ्चायती स्कुलिङ्गमा हुर्केका कर्मचारी तथा सुरक्षाकर्मी, कांग्रेसले नेतृत्व गरेको सरकारअन्र्तगत कार्य गर्न थालेका थिए ।
राजनीतिक वृत्त तथा सुरक्षा निकायबीचको सम्बन्ध शंकालु थियो । सक्रिय नेतृत्व अभ्यस्त राजदरबार संवैधानिक परिधिअन्तर्गत रहनुपर्दा कुन्ठित थियो । कांग्रेस सरकार ढल्नु, नौ महिना एमालेको नेतृत्वमा सरकार सञ्चालन हुनुजस्ता कार्यले देश अन्योलग्रस्त अवस्थामा थियो ।
मौकामा चौका हानेकै हुन्, डा. बाबुराम भट्टराई तथा पुष्पकमल दाहालले । देशमा हिंसा–आतंक मच्चाए र सत्तासीन हुने अभिलाषा पूरा गर्ने रणनीति अख्तियार तिनले ‘माओवादी’ बिल्ला भिरेर गरेका हुन् । राष्ट्रसँग ‘कांग्रेसको सफाय तथा एमालेलाई बढार्ने’ नीतिलाई रोक्ने क्षमता त्यस कालखण्डमा थिएन ।
माओवादीले देशमा मच्चाएको एक दशक लामो हत्या–हिंसाको राप र ताप बढ्न प्रमुख कारण त्यही थियो । अर्थात् झापाली आन्दोलन तुहिने माहोलको ठिकविपरीत माओवादीले मौलाउने वातावरण पाए ।
सँधियारको भूमिका अभ्यस्त दक्षिण छिमेकीका निमित्त यो अवसर थियो, मौलाउन थालेको नेपाली राष्ट्रवादमाथि तुषारापात गर्ने । उत्तर छिमेकीका निमित्त तथष्टता कायम गर्नु उसको राष्ट्रिय हितमा थियो । जति क्षति भोगे, नेपालीले मात्र भोगे ।
अन्तर्राष्ट्रिय जगतमा पर्खाल भत्काउने तथा एकपछि अर्को कम्युनिष्ट सरकार पतन हुने जस्ता घटनाले विश्वव्यापी राजनीतिक उथलपुथल हँुदै गर्दा नेपालमा प्रथम जनआन्दोलन सफल भएको थियो ।
प्राध्यापक फुकायामाको ‘इतिहासको अन्त’ अर्थात् ‘एण्ड अफ हिस्ट्री’को प्रभाव विश्वव्यापी थियो । उदार लोकतन्त्र तथा मानव अधिकार संरक्षणको व्यापकता थियो । पञ्चायत प्रणालीमा जस्तो मानव अधिकारको हनन् सम्भव थिएन ।
देशमा शान्ति स्थापनाका निमित्त समस्त नेपाली जुनसुकै मूल्य चुकाउन तयार थिए । आतंक, हिंसा, हत्या, अपहरण, फिरौती तथा बन्द हडतालबाट थकित नागरिकका निमित्त माओवादी शहर प्रवेश गरे भने राहत पाइने विश्वास थियो ।
नेपाली सुरक्षाकर्मीले पनि एल्लसाल्भाडोरका सेनाले जस्तो मूलधार प्रवेश गरेको माओवादी फराबुँदो मर्ति नेसनल लिबरेसन फ्रन्ट (एफएमएलएन) का नेतासँग जस्तो प्रतिशोधको व्यवहाहर गरेन ।
विगत १३÷१४ वर्षको अवधिमा माओवादी अध्यक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई तेस्रोपटक प्रधानमन्त्री हुने अवसर एमाले तथा कांग्रेसले दिएका हुन् । दाहालका अभिव्यक्तिहरू आत्मासात् गर्ने हो भने उहाँमा प्रधानमन्त्री भएको अनुभूति अझैसम्म भएको छैन ।
कुनै कालखण्डमा पेरुको साइनिङ्ग पाथ विशेषगरी मानुयल रूबेन अबिमायल गुजमान रायोनसलाई (गुजमान) लाई गुरु थापेर ‘प्रचण्ड’ अवतार धारणा गरेका दाहालमा अझै पनि त्यही धङधङी बाँकी छ ।
वर्तमान विश्वमा सायद पुष्पकमल दाहाल मात्र एक प्रधानमन्त्री होलान्, जसले पाँचहजार नरसंहार गरेको जस लिएका छन् । त्यसो त, उनीमात्र एक राष्ट्रिय प्रमुख कार्यकारी होलान्, जसले पदमा आसिन हुँदा सडक तताउने ध्वाँस दिन्छन् ।
बेलाबेला पुनः जंगल प्रवेश गर्ने घुर्की लगाउँछन् । अब त, ‘आफू बाचुन्जेल राष्ट्रमा उथलपुथल’ हुने सगौरव घोषणा गर्छन् । एमाले तथा माओवादी एकीकरण अभ्यास तीनवर्ष पुग्दा तुहियो । यस अभ्यासका पछाडि दुवै दल नेताले थाहा पाए जुँगाको लडाईँले एकीकरण प्रयास निरर्थक हुन्छ ।
उनीहरुको जीवनकालभरि जस्तोसुकै मेलमिलाप प्रयास पनि विश्वासघातको शिकार हुन्छ । एमाले नेताका निमित्त ‘कम्युनिष्ट’ उपाधि घाँडो साबित भएको छ । नेता कार्यकर्तामा कम्युनिष्ट आँचरण लोप भइसकेको छ ।
लोपोन्मुख हुँदै गरेको कम्युनिष्ट व्यवस्था एकाइसौँ शताब्दीको नेपालमा सम्भव छैन । दश वर्षसम्म माओवादीको चुनौती सामना गरेको तितो अनुभव पनि तिनले सँगालेका छन् ।
सत्ताको सेरोफेरोबिना एमाले नेता/कार्यकर्ता पानीविनाका माछाजस्तो हुँदै आएका छन् । एमाले चरित्र ढुल्मुले भन्ने स्थापित भइसकेको छ । माननीय रमेश लेखकका अनुसार, १२ पटक पुष्पकमल दहालले धोका दिइसकेका छन् ।
तिनको १३औं धोका खेप्न उद्यत् एमालेका निमित्त पनि अत्यन्त महँगो हुन्छ । अस्थिरताको प्रत्येक स्वघोषित ‘पार्टनर’सँगको सहवासले अस्थिरता नै जन्माउने हो । एमाले विशेषगरी खडगप्रसाद ओलीलाई पुष्पकमल दाहालले संसद् भंग गर्ने अवसरसमेत दिने सम्भावना छैन ।
दाहालको अस्थिर तथा अनिश्चित चरित्रले कुनै पनि सम्बन्धलाई दिगो हुन दिँदैन । इखालु छवि स्थापित गरेका खडगप्रसाद ओलीको उद्देश्य निकट भविश्यमा पुष्पकमल दाहाललाई काठमाडौं सहरमा ‘निर्बस्त्र दौडाउने’ हो भने तिनले समय खेर फाल्न जरुरत छैन ।
उमेरका हद पार गरिसकेका कांग्रेस तथा एमाले नेतृत्वका निमित्त देशको हित गर्ने अवसर यही हुन सक्छ । भ्यागुताको तौल अभ्यास क्रमलाई तिनले भंग गर्न तिनका निमित्त कठिन छैन । दुई नेताले विश्वासिला सल्लाहकारको टोली गठन गरेर आगामी चार वर्षका निमित्त नीति तथा कार्यक्रम तर्जुमा गराउन सक्छन् ।
त्यसरी तर्जुमा गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका निमित्त दुई दलीय सरकारको गठन हुनुपर्छ । इमान्दारीका साथ उक्त संयुक्त नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्षम पात्रहरु सरकारमा सामबेस गर्दा विगतको जस्तो अवसरवादीको झुण्डबाट सरकार उन्मुक्त हुन्छ ।
त्यस्ता प्रावधानले पालैपालो ‘घिउ बेचुवा’ तथा ‘तरबार बेचुवा’ सौदाबाजी क्रमभंग हुनेछ । देशले वास्तवमै खोजेको सुरुङको अर्को कुनाको उज्यालो देखापर्छ ।