site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चित्रबहादुरको प्रश्न– गठबन्धनका मानिसको चरित्र, इतिहास के छ ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी संस्थाको ऋणीका समस्या देखाउने नेताहरूका चरित्रमा प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा बोल्ने क्रममा उनले ऋणीका चर्का कुरा गर्नेले सँगै राखेका व्यक्तिलाई स्वार्थमा संरक्षण गरेको आरोप लगाए ।

“यहाँ सहकारीपीडितको चर्का कुरा गर्दै हुनुुहन्छ,” केसीले भने, “कुनै मानिसको चरित्र के छ, इतिहास के छ तपाईंहरूलाई थाहा छैन ? स्वार्थ पूरा गर्न पाए केही मतलब छैन ?”

उनले त्यस्तो व्यक्तिको नाम भने खुलाएनन् । राजनीतिक दल र नेताको संरक्षणमा ठगी धन्दा चलिरहेको उनको भनाइ छ ।

“राजनीतिक दलका नेताको संरक्षण नभईकन तिनीहरूले ठगेका छन् ?,” केसीले भने, “हामीले ल्याएको गणतन्त्र, लोकतन्त्रमाथि कालो बादल मडारिएको छ । तर, त्यसतर्फ कसैको चिन्ता छैन ।”

अध्यक्ष केसीले अहिले नयाँ गठबन्धनको चर्चा भइरहेको भन्दै गत वर्ष पनि यति बेला यस्तै भएको स्मरण गरे । “नेपालमा राजनीति गर्नु भनेको जे गरे पनि हुन्छ ? पदमा पुग्नु नेपाली जनताका लागि होइन, पद भजाएर निजी स्वार्थ पूरा गर्नुपर्छ, नेपाली राजनीतिको चरित्र,” उनले भने, “पोहोर साल पुस १० गते प्रधानमन्त्री एकाएक बालकोट जानुभयो । प्रधानमन्त्रीलाई सबैको समर्थन, फेरि फर्किएर बूढानीलकण्ठ पुग्नुभयो, फेरि सबैको समर्थन । प्रतिपक्षमा हामी मात्रै ।”

उनले वर्तमान सत्ता गठबन्धनको गलत व्याख्या गरिएको भन्दै वाम नै नभएको ठाउँमा वामपन्थ नहुने टिप्पणी गरे । “अहिले पनि अर्को गठबन्धन बन्यो, यसलाई वामपन्थी एकता भनिँदै छ । छातीमा हात राखेर सोच्नुस् त, तपाईंहरूको चरित्र के छ ?,” केसीले भने ।

उनले नयाँ गठबन्धनमा कुनै ‘देवता’ नआएको भन्दै यसबाट केही आस गर्न नसकिने बताए । “यहाँ गठबन्धनमा आबद्ध हुन कुनै नदेखेको देउता आएको हो र ?,” केसीले भने, “राजनीतिक जात्रा गर्नेहरूले विचार गरौँ । हामी सच्चिऊँ, सच्चिएनौँ भने विदेशीको क्रीडास्थल बनाउँदै छौँ ।”

उनले अहिलेको व्यवस्था गए लामो समय पुस्तौँपुस्ताले दुःख पाउने चेतावनी दिए । “यो लोकतन्त्र गणतन्त्र गयो भने तपाईंहरू कहाँबाट उफ्रनुहुन्छ ?,” केसीले भने, “यति ठूलो निराशा छ कि यो व्यवस्था दुर्घटनामा पर्‍यो भने सम्हाल्न सक्नु हुने छैन । आफ्ना नेता फसे चोख्याउने, अरूलाई देखाउने प्रवृत्तिले देशलाई राम्रो गर्दैन । जनतालाई निराश नपारौँ । विगतमा गरेका गल्ती–कमजोरीमा आत्मआलोचित बनौँ ।”

उनले सत्ताका निम्ति विदेशीका मुद्दा बोक्ने दलहरूका कारण राष्ट्रियता र सार्वभौमसत्ता नै जोखिममा परेको बताए । “तपाईंहरूलाई विदेशीको मुद्दा बोक्न कुनै लाज छैन । पहिलेपहिले संघीयता नहुँदा यो जात्रा सिंहदरबारमा मात्र थियो, अहिले आठ ठाउँ विस्तारित भएको छ,” उनले भने, “देशमा कोही बस्दैन । हाम्रा छोरानाति विदेश पठाउनुपर्छ भने किन चाहियो संघीयता ? किन चाहियो यति ठूलो खर्च ?”

उनले नेता र कर्मचारीका चरित्र एकात्मक भए पनि खर्च संघात्मक भएको टिप्पणी गरे । “नेपालका नेताहरूको प्रवृत्ति, चरित्र एकात्मक, कर्मचारी प्रशासनको चरित्र एकात्मक, खर्च संघात्मक किन चाहियो ?,” केसीले भने, “देशको राष्ट्रियता, सार्वभौमसत्ता खतरामा छ । नेताहरूलाई यसबारे चिन्ता समेत छैन ।”

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro