site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई चौधरीले भने– अब हामीलाई छोडेर नजानु होला 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सधैँ धोका नदिन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गरेका छन् । उनले थाहै नदिई गठबन्धन छोड्ने काम गलत भएको टिप्पणी गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपालले सधैँ प्रचण्डको बखान गरेर सरकार टिकाउन ‘मरिहत्ते गरेर बसेको’ उल्लेख गरे । तर, उनी ‘सुतिरहेको अवस्थामा किन गठबन्धन तोडेको ?’ भन्दै चौधरीले प्रश्न गरे ।

“अब हामीलाई छोडेर नजानु होला । हामी साथमा छौँ, कति बेला छुट्छौँ थाहा नै पाउँदैनौँ,” उनले भने, “हाम्रो अध्यक्ष माधव नेपालजस्तो असल, इमानदार मान्छेलाई थाहै नपाईकन गठबन्धन तोडियो । उहाँले सधैँ प्रचण्डको बखान गर्नुभएको छ, प्रचण्डको सरकार बनोस् भन्ने चाहना छ । सुतिरहेको बेला छुटेको थाहा हुँदैन, कस्तो गजब छ ।”

उनले पुरानो गठबन्धनमा गरिएको सहमति, सम्झौता हाँसो र खरानीको डल्लो भएको भन्दै यो विषयमा जवाफ दिनुपर्ने बताए ।

उनले अहिलेको गठबन्धनमा रहेका दलले कति साथ दिन्छन् थाहा नभएको बताए । आफूहरूले प्रधानमन्त्रीलाई सधैँ साथ दिने उनको भनाइ छ ।

उनले आफ्नो पार्टी प्रचण्डलाई बहुमत पुर्‍याइदिने अस्त्र मात्र बनेको भन्दै सांकेतिक रूपमा चित्त दुखाए । “किनभने, हामी बदला वा इगो केही बन्दैनौँ । हामी तपाईंलाई प्रधानमन्त्री बन्न आवश्यक बन्ने अंक पुर्‍याइराख्छौँ । तर, याद गर्नुहोला– जसको जगमा तपाईं प्रम बन्नुभयो, सरकार बनेको छ, ती राजनीतिक दलहरूलाई सँगै राख्नुहोला,” उनले थपे, “मलाई विश्वास छ, ती राजनीतिक दलले १५० प्रतिशत साथ दिन्छ । तर, तपाईंले ती राजनीतिक दललाई छोडेर नजानु होला । अबचाहिँ यसो नगर्नु होला, बर्बाद भइसकेको छ । दुनियाँ हाँसेको हाँस्यै छ ।”

उनले नेकपा (एमाले)जस्तो पार्टीको साथ रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बल दिएको भन्दै थपे, “एमालेजस्तो लार्जेस पाटीको साथ पाउनुभएको छ । रास्वपा छ, आवश्यक पर्ने दम पावर पाउनुभएको छ । मलाइ लाग्छ, राम्रै हुन्छ ।”

उनले हिजोको दिनले एउटा कुरा स्थापित गरेको भन्दै हालसम्म प्यास लागेको मान्छे घैँटो लिएर कुवा जाने गरेको टिप्पणी गरे । तर, केही दिनअघिदेखि कुवा आफैँ भाग्दै हिँडेको र त्यो प्रधानमन्त्री प्रचण्ड भएको उनको टिप्पणी थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro