site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
परिवारमा पुस्तक चर्चा नगर्ने मेरो परिभाषामा ‘एलिट’ होइनन्, ‘गरिब’ हुन्
Sarbottam CementSarbottam Cement

केही महिनाअघि विष्णु सापकोटाको पहिलो उपन्यास सार्वजनिक भयो, ‘अडिएका पाइला’ । विशेष गरी अखबारहरूमा राजनीतिक विश्लेषणसहित कलम चलाउने सापकोटा पहिलोपल्ट आख्यानमार्फत प्रस्तुत भए । गएको मंसिर पहिलो साता सार्वजनिक उनको उपन्यास र लेखनमाथि केन्द्रित रहेर गरिएको सवाल–जवाफको सम्पादित अंश :

‘अडिएका पाइला’ किन लेख्नुभयो ? 
यो प्रश्न झट्ट सुन्दा त सरल छ, तर घोत्लिएर सोच्यो भने यसमा एक रोमाञ्चक जटिलता पनि छ । जस्तो, यो संसारमा कसैले केही किन लेख्छ ? किन गाउँछ ? किन चित्र कोर्छ ? मैले यस प्रश्नलाई दुइटा भागमा बाँडेर हेर्छु । पहिलो, मैले उपन्यास किन लेखेँ ? अर्थोक पनि त लेख्न सक्थेँ हुँला ! दोस्रो, ‘अडिएका पाइला’ नै किन लेखेँ ?

उपन्यास नै किन भन्ने प्रश्नमा– मैले लेख्नुपर्ने जुन कथा थियो, त्यसका पात्रहरू बाँचेको संसारलाई अरूले देख्ने गरी बाहिर उतार्न मलाई उपन्यास लेखन नै जरुरी भयो । सायद उपन्यासमा मात्र त्यो संसार अट्थ्यो । यो विधाले मलाई चाहिनेजति ‘स्पेस’को स्वतन्त्रता दिन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

हुन त जति फराकिलो संसार उतार्न पनि मिल्ने अरू विधा नभएका होइनन् । जस्तो, महाकाव्य र नाटकले दिने ‘स्पेस’ पनि कम त हुँदैन । तर, मसँग भएको कथाका लागि जुन लय र प्रवाह चाहिने थियो, त्यसका लागि उपन्यास नै जरुरी भयो । पात्रहरु जसरी बोल्थे (वा बोल्दैनथे), कथानक जसरी अगाडि बढ्थ्यो (वा अडिन्थ्यो), त्यो सबैका लागि सबैभन्दा स्वाभाविक रूप उपन्यास नै भयो । र, शैलीगत रूपमा पनि महाकाव्य र नाटकमार्फत कथा उतार्नका लागि चाहिने शिल्पभन्दा म बढी आख्यानमै रत्तिन सक्छु भनेर पनि हो ।

जहाँसम्म उपन्यास त उपन्यास, तर ‘अडिएका पाइला’ नै किन लेखेँ भन्ने सवाल छ, त्यसमा मेरो भनाइ के छ भने– मलाई यो कथा लेखिनैपर्छ भन्ने लाग्यो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा उपन्यास सार्वजनिक हुने दिन पनि मैले भनेको थिएँ कि मैले उपन्यास लेखूँ न त भनेर लेख्न थालेको होइन । उपन्यास (यसको घटना) मनमा घटिसकेपछि त्यसलाइ उतार्नका लागि लेख्न थालेको हुँ ।

Global Ime bank

यसलाई प्रेमकथा नै भन्न मिल्छ कि अरू केही हो ? 
मैले ‘अडिएका पाइला’लाई औपन्यासिक विधाको हिसाबमा प्रेमकथा नै भनेर वर्गीकरण गरेको छु जस्तो त लाग्दैन, तर तपाईंले जस्तै पुस्तकमा टिप्पणी गर्ने धेरैले यसलाई त्यसरी बुझ्नुभएको छ । अब लेखिसकिएको यो उपन्यासलाई मैले एक पाठकका रूपमा भन्दा– यो कथा त प्रेमको हो, तर उपन्यास प्रेमकथा होइन कि ! प्रेमका घुम्तीहरूमार्फत हुने पात्रहरूको मनोवैज्ञानिक यात्राको कथा पो बढी हो कि ? प्रेममार्फत आफूले आफैँलाई भेट्टाउने र हराउने पात्रहरूको एउटा रोमाञ्चक दार्शनिक पो हो कि ! अथवा, यसलाई प्रेमको वैचारिकीमा बुनिएको अनसूया र अस्तित्वको संसारको कथा पो भन्ने कि ?

अब यो त जे छ त्यो त त्यस्तै नै छ, मैले अब फेर्न सक्ने कुरा भएन । तर, यदि यो प्रेमकथा नै हो भने मानिसले चलनचल्तीमा जे कुरालाई प्रेम भन्छन्, त्यसलाई पक्कै पनि उपन्यासले प्रशस्त प्रश्न गरेको छ । प्रेमको वैचारिकीमा दार्शनिक मन्थन गर्न पनि त कथा प्रेमको नै चाहियो । जस्तो, अनलाइनखबरमा यही किताबमाथिको वार्तामा लेखक खगेन्द्र संग्रौलाले ‘हामीले बुझेको भन्दा अति नै अनौठो प्रेमकथा’ भन्नुभएको रहेछ । राजकुमार बानियाँले कान्तिपुर कोसेलीको आफ्नो समीक्षात्मक टिप्पणीमा ‘अडिएका पाइला’लाई एक नसोचेको प्रेमकथा भन्नुभएको रहेछ ।

केही पहिले बाह्रखरीमै दिपेश घिमिरेले लेख्नुभएको समीक्षामा यसलाई ‘बौद्धिक उडानको खुराक’ भन्नुभएको रहेछ । अरूअरू लेखक–पाठकहरूले पनि आ–आफ्नै दृष्टिकोणबाट व्याख्या गरिरहनुभएको छ, जुन सुनेर म रमाएकै छु । तर, मेरो तर्फबाट यत्ति भन्छु– यो कथाको संसारमा जे थियो, त्यसलाई उतार्दा जे भयो, यो उपन्यास त्यही हो ।

‘अडिएका पाइला’ले पाठकको किताबप्रतिको क्रेज बढाउला ? 
‘अडिएका पाइला’ बजारमा आएको तीन महिना भयो । समग्रमा किताबप्रतिकै रुचि यसले कति बढाउला त म भन्न सक्दिनँ, तर यी तीन महिनाको अनुभवमा मैले जे–जस्ता पाठकीय प्रतिक्रियाहरू पाइरहेको छु, त्यसले के प्रस्ट देखियो भने अडिएका पाइलाको प्रकृतिका उपन्यास पढ्ने पाठकहरू प्रशस्त रहेछन् । सानोठूलो कत्रो छ त्यो वर्ग, मलाई थाह भएन । तर, जीवनमा पहिलोपटक नेपाली उपन्यास पढेको यही हो भन्ने पनि धेरै नै देखिए, खासगरी अहिलेसम्म अंग्रेजी उपन्यास मात्र पढिराखेको वृत्त ।

हरेक उपन्यासका आफ्नै विशिष्ट पाठक हुन्छन् । मेरो उपन्यासका पाठक बढीजसो अन्तरमुखी स्वभावका हुन्छन् कि भन्ने मलाई लागेको थियो लेख्ने बेला । अहिले त्यो ठिकै लागेको रहेछ जस्तो देखिन्छ ।

नढाँटी भन्नुपर्दा यति धेरै पाठकीय प्रतिक्रियाहरू सामाजिक सञ्जालमा आइरहेका छन् – हरेक दिनजसो कि मलाई, कहिलेकाहीँ लौ, के लेखेछु त्यस्तो ! भनेर फेरि पढ्न बसूँ कि जस्तो लाग्छ । तर, फेरि लाज लाग्छ पढ्न ।

मलाई सबैभन्दा खुसी लागेको मध्ये अर्को के पनि छ भने, एकजना समाजशास्त्र र एकजना अंग्रेजी साहित्यको मास्टर्सकी विद्यार्थीले ‘अडिएका पाइला’मा थेसिस लेख्न लागेको सुनेँ । प्राज्ञिक समुदायतिर त केही ‘क्रेज’ देखिएकै मान्नुपर्यो नि, हैन !

पाठकको संख्या बढ्नुपर्नेमा किन घटिरहेको होला ? 
एउटा गम्भीर पाठकीयवृत्त हुन्छ, जो कहिल्यै घट्छ जस्तो मलाई लाग्दैन । आखिरमा कुनै कृति कति ‘अमर’ हुने हो भन्ने त्यही सानो तर गम्भीर पाठकीयवृत्तले निर्धारण गर्ने हो । तर, पाठकको आमसंख्या घट्नुमा त विभिन्न कारण होलान् । यो आफ्ना स्वादका किताब नपाएर पनि हुनसक्छ ।

फेरि, नेपालका पढेलेखेकै परिवारमा पनि बाबुआमाले आफूले पछिल्लोपटक पढेको किताब कुन हो भनेर साँझ छोराछोरीसँग कुरा गर्ने, छोराछोरीलाई आफूले पढेको कुनै किताबको बारे बताउन लगाएर गफ गर्ने – त्यस्तो संस्कृति त्यति व्यापक छैन । मैले भने त्यसो नगर्ने परिवारलाई पढेलेखेको मै राख्दिनँ । धनसम्पति धेरै भएका कोही होलान्, तर पारिवारिक भेटघाटमा पुस्तक–कलाको चर्चा नगर्ने परिवार मेरो परिभाषामा ‘एलिट’ होइनन्, ‘गरिब’ हुन् ।

तर, छापिएका पुस्तक राम्रा छन् भने ती त पाँच वर्षपछि पनि पढिन्छन्, दश वर्षपछि पनि । पाठकको संख्याका कुरा गर्नु अलिक जटिल विषय पनि हो । जस्तै, एउटा कमर्सियल फिल्मका दर्शक धेरै हुन्छन्, तर आर्ट मुभीका तुलनात्मक रूपमा कम । कलाको दृष्टिले हेर्दा त फेरि आर्ट मुभीले नै राम्रो प्रशंसा पाउँछ । पुस्तकको हकमा पनि यो केही हदसम्म लागु होला ।

पठन संस्कृतिको विस्तारका लागि कस्ता साहित्यिक कृति आवश्यक देख्नुहुन्छ ?
मेरो त यसमा स्पष्ट धारणा छ, लेखकले नडराई आफ्नो रुचिअनुसार लेख्ने हो । हरेक राम्रो कृतिले आफ्नै विशिष्ट पाठक पाउँछ । कम्तीमा यति आत्मविश्वासका साथ लेख्न बस्नुपर्छ लेखकले ।

कृतिले पाठकको रुचि विस्तार गर्न सक्छ, उनीहरूमा नयाँ रुचि जन्माउन सक्छ । तर, फेरि पनि सबै किताब सबैले पढ्दै पढ्दैनन् ।

विषयवस्तुमा, शैलीमा, वैचारिक उडानमा, बौद्धिकतामा जति विविधता भयो त्यति नै नयाँ पाठकवृत्त थपिने हुन् कि ! किताबले पाठकलाई सजिलो पस्किने मात्र हैन, बौद्धिक रूपमा चुनौती पनि दिनुपर्छ जस्तो मलाई लाग्छ । अनि, उनीहरू पढ्न उत्सुक हुन्छन्, झ्याम्मिन्छन् ।

पछिल्लो समय आत्मवृत्तान्तले बजार पाइरहेको भनिन्छ । यो समयमा प्रेममा आधारित उपन्यास लेखिनु बजारका हिसाबले कत्तिको जोखिम छ ?
खै ! आफूले धेरै नपढ्ने भएर हो कि मैलाई त आत्मवृत्तान्त धेरै पढिनेजस्तो नै लाग्दैन । म आफूले व्यक्तिगत रूपमा श्रद्धा गर्ने व्यक्तिबाहेकका जीवनी पढ्दिनँ । जस्तो, मैले पछिल्लोपटक स्वाद मानेर पढेको ‘बागी’ हो, उज्ज्वल प्रसाईंले लेखेको खगेन्द्र संग्रौलाको जीवनी । खासगरी नेपालका पूर्वप्रशासक र पूर्वजर्नेलहरूका आत्मवृत्तान्त त मैले पढूँ भने पनि पढ्न सक्दिनँ । उदाहरणका लागि, केही वर्षअघि त्यति बेलाका एकदम चर्चित र विवादास्पद पूर्वजर्नेलको ‘आत्मवृत्तान्त’ के–के न होला भनेर पढ्न थालेको थिएँ, तर ५० पाना नपुग्दै मलाई उकुसमुकुस भयो । उनका कुरा पत्याउनै गाह्रो भयो ।

यी ‘पूर्व’हरू धेरैले सगर्व दाबी गर्छन्– मैले देशका लागि यसो गरेको थिएँ र उसो गरेको थिएँ । मलाई के लाग्छ भने, ती सबै मिलेर यस्तैयस्तै गरेको भएर त देशको स्थिति यति दयनीय भएको हो । तिनीहरूका साना दुःखले यस्तो स्थितिमा आएको हो र हामी ?

अनि अर्को कुरा, नेपालका ‘पूर्व’हरूका आत्मकथामा धेरै अपुष्ट र ‘रिसाइकल’ गरिएका ‘गफ’हरू  हुन्छन्, जसको विश्वसनीयता शंकामा छ । हाम्रोमा सम्पादन गरेर कुनै प्रशासकले भनेका कुरा तथ्यगत रूपमा जाँच्ने स्रोत र कौशल पनि छैन । तर, मलाई थाहा छ, पञ्चायतकालदेखि साप्ताहिक ‘ट्याब्लोइड’का अपुष्ट तर सनसनीजस्ता लाग्ने काण्डहरू पढ्दै हिँडेको एउटा तप्का छ, जसले त्यस्ता किताबलाई महत्त्व दिन्छन् । पढेलेखेको भनिने वर्गको ठूलो हिस्सा कस्तो छ भने उसले बौद्धिक प्रकृतिका पुस्तक पढ्न सक्दैन । यस्तो समूहलाई ट्याबलोइड वर्ग भन्न सकिन्छ । 

मैले माथि भनेजस्तो हरेक गतिला किताबका आफ्नै पाठकीयवृत्त हुन्छन्, जहाँ खासै प्रतिस्पर्धै छैन । जस्तो, केही रमाइलो गरेर भन्दा, कुनै पूर्वजर्नेलको आत्मवृत्तान्तमा रुचि राख्ने पाठकले सायद मेरो उपन्यास पढ्दैन । र, ‘अडिएका पाइला’को कथानक र विषयवस्तुमा रमाउने पाठक सायद अरू प्रकृतिका पुस्तकमा धेरै बेर अडिन सक्दैनन् ।

तर, मुख्य कुरा के हो भने जोखिम छ भन्ने देख्दादेख्दै यो संसारमा कोही कसैको प्रेममा पर्नबाट रोकिएको छ र ? लेखिने काम त्यो प्रेमभन्दा कम गहिरो के होला र, हैन ?

त्यसै पनि हेर्नुस् त, ‘अडिएका पाइला’का अनसूया, अस्तित्व र वन्दनाले कति ठूलो (भावनात्मक) जोखिम उठाएका छन् ! उनीहरूले लिएको जोखिमप्रतिको सम्मान र सम्मोहनले होला, लेख्ने बेला मैले कहिल्यै अरू बाहिरी जोखिमबारे सोच्नै भ्याइनँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC