यात्रा र यादहरू मानिसका सर्वप्रिय क्षण हुन् । दुःखपूर्वक कष्टले बिताएका दिनहरू पनि यादगार हुन्छन् । तिनै विगत दिनहरू एकप्रकारले यात्रा पनि हुन् । ती यात्राहरू सबै यादहरू नै हुन् ।
वास्तवमा हरेक यात्रा र यादहरू कस्तै कठिनको भए पनि सुखद अनुभवका लागि हुन्छन् ।
मूलतः यात्रा नगर्ने र यादहरूलाई नसम्झिने मानिस कोही पनि हुँदैन । सामान्य लाग्ने यी दुईवटा शब्द ‘यात्रा’ र ‘याद’ वास्तवमा जीवनदर्शनका शाश्वत पक्ष हुन् । यिनैका साथ मानवजीवनले सुख र दुःखका सम्पूर्ण कालखण्ड बिताएको हुन्छ ।
यात्रा र यादहरू विगतकै हुन्छ । विगत सम्झनु निकै रमाइलो हुन्छ । विगत दिनहरूका यादहरूलाई आगतमा सम्झनु भनेको आफैँलाई पछाडि फर्केर हेर्नु पनि हो ।
यस्ता सम्झनाहरूको टेकोमा टेकेर जीवनको लय समात्नु सफलताको सिँढी चढ्नु हो । यसले गल्ती सुधार्ने, सच्याउने र मानिसलाई मानवता बनाउने कर्मको पाठ पनि सिकाउँछ ।
यात्रा गरिन्छ केही देख्नका लागि । केही बुझ्नका लागि । मन ‘फ्रेस’ बनाउनका लागि । केही लेख्नका लागि पनि । केही भेट्न, पाउनका लागि पनि । मनको आनन्द, तनको शान्ति र हृदयको उल्लास–उत्साहका लागि । यात्राले केही न केही नयाँपन अवश्य दिन्छ ।
यात्रा निरुद्देश्य गरिँदैन, गरिनु पनि हुँदैन । हरेक यात्राले नवजीवन प्रदान गर्छ । जीवनमा ऊर्जा उमार्छ र नवीनतम् सोच–सिर्जनाहरूको आरम्भ गराउँछ ।
यथार्थमा जीवनको नवीकरण पनि गर्छ प्रत्येक यात्राले । नवीकृत जीवनले स्वस्थ र समृद्धिको पहिचान गराउँछ ।
फलतः यात्रा र यादहरूले वर्तमान केही सुखद बन्छ । भविष्य उन्नतशील हुन प्रेरणा मिल्छ ।
यात्रा भन्नु अध्ययनको एक विद्यालय हो । अनुसन्धानको अर्को पाटो पनि हो । यात्रा गर्नुले थाकिन्छ, गलिन्छ, हैरान भइन्छ, सास्ती खाइन्छ, खल्ती रित्तिन्छ । तर, त्यसको प्राप्ति शून्यसरी समाप्ति हुँदैन । बरु, उपलब्धिहरूका चाङले सर्वोच्च शिखर चुलीमै पुर्याउँछ । सफलतासँग भेट गराउँछ ।
सुखीसँग मित लगाउँछ । अपार अन्न–ऐश्वर्यका हिरामोती, असर्फी हात लाग्छ । र, जिन्दगीभरिकै धेरै ठूलो यात्रा र यादहरूको पिरामिड निर्माण हुन्छ ।
यति बेला म निर्वतमान यात्राका यादहरूमाथि शब्द–विमर्शको अनुभूति–अभिलेखनमा छु । यात्राका यादहरूमा घोरिनु, घोत्लिनु र गर्व महसुस गर्नु भनेको पनि यात्रामै पुनः फर्किनु हुँदो रहेछ । व्यतीत यात्राका तरेलीहरूमा तैरिँदै, लहरिँदै, फुर्किंदै वर्तमानमा सोचमग्न हुनु भनेको पनि यात्रामै हिँड्नु हुँदो रहेछ ।
भर्खरै आधारशिविरको यात्राबाट फर्किएका यादहरूतिर पुनः यात्रारत हुुन थाल्छु । जुन यात्राका यादहरू मात्रै पनि मेरो जीवनको सर्वाधिक सुखका क्षण बनेर आउँछन् । र, म त्यहाँ नितान्त एक्लै रमाएर आनन्दित हुन थाल्छु । त्यस एक्लोपनमा पनि मसँग यात्रारत कैयौँ पदयात्री हुन्छन् ।
यात्राका रातभरिको चिसो सिरेटो र हिउँको चिसोले इन्तु न चिन्तु अवस्थामा पुगेको हिमालय पर्वत शृंखला । श्वेताम्बर आवरणमा मुस्कानमय मिठासले देदिव्यमान प्राकृतिक छटा । सबैभन्दा धेरै चोखो भूमि । सबैभन्दा बढी सफा र श्वेत उचाइ थलो ।
त्यसैले आराध्य देवदेवीहरूको प्रिय भूमि यो । सनातनकालदेखि देवताहरूको क्रीडास्थल यही हिमाली भूतल । ऋषिमुनिहरूको तपोभूमि यही । पदयात्री, आरोहीहरूको यात्राको यादगार दिनहरू यही । सधैँ खुला, चोखो, भद्र र भव्य अवस्थितिमा व्याप्त । हिमशैलका विशाल फाँट अनुपम सुन्दरताहरूले भरिभराउ । अनेक रूप र अनेक रङमा आवाद ।
अन्ततः सधैँ जीवन्त जीवनको सन्देश सम्प्रेषण गर्दै आइरहेको हिमाली प्रकृति तिमी । हाम्रै लागि, मेरै निम्ति यसरी सजिसजाउ प्रिय प्रकृतिमाता ! यस्ती प्रकृतिधाम–धरोहरलाई मेरो सतत प्रणाम !
हरेक बिहान कलिलो घामको सूर्य स्नानले पवित्र भएर उपस्थित हिमाल । स्वर्णिम रङमा जगमग सुनले शिखरदेखि नुहाएर भर्खर हरहर वासनामा प्राकृतिक सौन्दर्यको खुस्बु बाँड्दै सर्वत्र ।
वस्तुतः प्यासी प्रकृतिप्रेमीहरूलाई पागल बनाउन उद्यत हरेक पल । हिमाली प्रकृतिको मौलिक चेहरा प्रदर्शन गर्दै हरेक क्षण ।
यसरी आदिमकालदेखि नै उत्तिकै आकर्षक हिमाली पर्वत । सबैलाई मन पर्ने, मन हर्ने मनमोहक सौन्दर्यको विशाल भण्डार ।
हिमाल जमेर कठोर कहिल्यै हुन जानेन । पग्लिएर हिमनदी हुँदै बगेर पनि कहिल्यै सिद्धिएन । बरु, स्तम्भ कति दर्बिलो । स्मारक कति ठूलो ।
जहाँ आँखाले प्रत्यक्ष हेरेर तृप्त हुन देशी–विदेशी यात्रीहरू मरिहत्ते गर्छन् । जहाँ मनले मनन–महसुस गरेर प्रकृति, जीवन, अध्यात्मको पृथक् दर्शनको दस्ताबेज निर्माण गर्छन् । जहाँ पाइला टेकेर शिखर छुन अमूल्य प्राण फाल्न समेत तयार हुन्छन् साहसी यात्रीहरू ।
माइनस तापक्रमको धेरै तल पुगेर चिसोको बरफमा जिन्दगी रूपान्तरण गर्छन् । यस्तोमा पनि प्रिय मायालु मनको आभास ! न्यानो प्रेमको महसुस । हार्दिक भावनाको सञ्चार । कोमल कलेरको सुमधुर स्पन्दनले स्पर्श गर्न आउने हिमाल । मनभित्रै झङ्कृत गर्दै यात्राका मिठासले जीवनभरिकै मिठो याद सँगालिराख्ने ।
अन्ततोगत्वा हिमाल तिमीले अथाह सौन्दर्य रङको प्रक्षेपण गरी अर्बौं मनहरूलाई आफूतिर आमन्त्रण गरिरह्यौ । विश्वभरका कैयौँ लोभी मन र नयनहरू, पदयात्रीहरू तिमीसम्म आउन मरिहत्ते गरिरहे । पृथक् अनुभूतिको अध्यायमा चुर्लुम्म डुबेर अनुभवको वैभवले सम्पन्न हुन पर्यटकहरूको अविच्छिन्न आउ–जाउ भइरह्यो ।
प्रकृति तिम्रो यौवनमा मेरा प्यासी आँखा गाडिन्छन् । गाडिन नदिऊँ त म स्वयं बेचैन हुन्छु । नशाले लट्ठ, मक्ख, दंग हुँदै प्रकृतिको स्वर्गीय आनन्दमा पुग्छु ।
तथापि, धित मर्दैन पिएर तन्तनी सौन्दर्यपानले मातुनज्याल पनि । बेहोस भएर आनन्दले दिनरात तिम्रै काखमा लुटुपुटु गरिरहे पनि । प्यास मेटिँदैन कदापि । बैँसालु यौवनको रङले धपक्कै बलेकी हिमाली प्रकृति हरेक प्रकृतिप्रेमीको मन चोर्न आतुर ।
म क्रमशः प्रकृतिको काखमा विलीन हुन पुग्छु ।
कति प्यासी, कति भोको म ! हिमालसँगको साक्षात्कारमा असंख्य यादहरूका दस्ताबेज । तिनै दस्ताबेजको सिरानी लगाएर सुत्छु । सपनामा पनि तिनै यात्राका यादहरूमा प्रफुल्लित भइरहेको पाउँछु । अकल्पनीय सपनाका दृश्यहरूलाई आँखाको हेराइबाट मनको तस्बिरमा खिच्न थाल्छु ।
अफसोस, कहाँ खिच्न सक्नु सजिलै ती कल्पनातीत दृश्यहरू । सपना–संसारबाट बिउँझिएर कहाँ सम्झिन सक्नु र ती धूमिल दृश्यहरू । बादलका टुक्रा–टुक्रा छरिएजस्तो सपनाका यादहरूलाई तस्बिर खिच्न नसकेजस्तै विपनामा उतार्न पनि सकिँदैन रहेछ ।
झल्याकझुलुक बिजुली चम्कँदाका दृश्यहरू जस्तै । विभाजित दृश्यहरूलाई समातेर कहाँ सिंगो स्वरूप दिन सकिन्छ र !
तथापि, यात्रा र यादहरूकै पाइला–पदचापमा समय बितिरहेछ । दिनहरू यसरी नै बित्दै गइरहेका छन् । बिर्सन नसकिने कति खुस्बु, कति चुलबुल मादक उन्माद प्रकृतिको !
प्रिय प्रकृति, म तिम्रै बैँसका रसिलो रङको, रूपसी रूपको पारखी, प्रशंसक । सुन्दर स्वरूप समग्रको म एक भक्त ।
यात्राका यादहरू सधैँ सम्झनामा आइरहँदैनन् । कहिले बिर्सिन पुगिन्छ । कहिले सम्झनामा ताजा भएर आउछ । सम्झनु र बिर्सनुको कुनै ठेगाना हुँदैन । सम्झन खोज्दा बिर्से पनि बिर्सूं भन्दा सम्झन पुगिन्छ । यादहरूले कुनै बेला अपत्यारिलो खुसीसँग जम्काभेट गराउँछ ।
अन्ततः यस्तो भेटले विस्मृत यादहरू पुनर्जागृत हुन्छन् । यादहरूको नवीकरण भई नयाँ यादको अध्याय प्रारम्भ हुन्छ ।
त्यसैले यात्रा र यादहरू जीवनका घामछाया हुन् । सधैँ साथसाथै रहन्छन् । यादहरूले बिर्सिएका पुराना दिनहरूलाई बेलाबखत सम्झाउँछन् । ती सम्झनाहरू जीवन–यात्राका दर्पण हुन् । जीवनभरि ती सधैँ साथी भइरहन्छन् ।
यात्राबाट फर्किएको महिनौँ दिनपश्चात् पनि म तिनै यात्राका व्यतीत दिनहरूका यादमा हराइरहेको हुन्छु । यात्रा र यादहरू जीवन बाँचुनज्याल बाँचिरहन्छन् ।