site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘पुस्तकालय भएर मात्र हुँदैन, पढ्न अभिप्रेरित गर्नुपर्छ’

पोखरा । पोखराको अमरसिंह माविमा कक्षा–११ मा अध्ययनरत ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुचि लाग्छ । पाठ्यक्रमका पुस्तक पढेर निस्किएको फुर्सदमा उनी बाहिरी विषयका किताब पढ्न समय छुट्ट्याउँछिन् ।

बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो । “घरमा ड्याडी–ममीले पुस्तक पढ्न एकदमै रुचि दिनुहुन्छ । र, उहाँहरूले पुस्तक घरमा ल्याउनुहुन्छ । त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ ? पढ्ने जिज्ञासा जागृति हुन्छ,” उनले भनिन् ।

विद्यालयमा भएको पुस्तकालयले मात्र बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ । “विद्यालयमा केवल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरू पुस्तक पढ्न अभिप्रेरित हुँदैनन् । पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ,” उनले भनिन् । पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

ग्लोबल कलेजियट स्कुलको कक्षा–८ मा अध्ययनरत आर्या हमालमा पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो । उनका बुवाले त छोरीका निम्ति भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन् रे !

आर्या भन्छिन्, “यति धेरै पुस्तक छन् कि तीनवटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ । केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग ।”

पुस्तक पढ्ने माध्यम केवल पुस्तकालय मात्र नभएको उनको भनाइ थियो । साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन् । 

“साहित्यिक कार्यक्रम वर्षमा एकपटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ,” उनको सुझाव छ ।

विद्युतीय सञ्चारमाध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालले बताइन् । “पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुँदैन । रुचिअनुसारको पढ्न प्रेरित गरेमा उनीहरूले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन् । बल्ल साँचो सिकाइ प्राप्त गर्छन्,” उनले भनिन् ।

सैनिक आवासीय महाविद्यालयमा कक्षा–१२ मा अध्ययनरत संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलोपटक नाम सुनेको पुस्तक हो, ‘मुना मदन’ । उनका शिक्षकले ‘मुना मदन’को चर्चा गरिरहन्थे । पुस्तक पढ्ने रहर जागे पनि पर्वतको गाउँमा पुस्तकालय थिएन ।

जब गाउँमा कक्षा–५ सम्मको पढाइ सकेर पोखरा झरे, बल्ल पढ्ने मेसो मिल्यो । विद्यालयको पुस्तकालयले उनको ‘मुना मदन’ पढ्ने रहर पूरा गरिदियो । विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए ।

“पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैँले किनौँ किनौँ लाग्छ । अरूमा पैसा खर्च गर्नुभन्दा बरू पुस्तकमै खर्च गरौँ न भन्ने धारणा बनेको छ,” उनले सुनाए ।

विद्यालयको पाठ्यक्रमसँगै अरू पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त ? एसोएस हर्मन माइनर विद्यालयमा कक्षा–१२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ, “महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने । म विज्ञानको विद्यार्थी, समय एकदमै कम हुन्छ । सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु ।”

बिदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन् । ‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरू आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पोखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरेका हुन् ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुचिअनुसारको पुस्तक नपाइनेमा भने दुःखेसो पोखे । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro