site stats
बाह्रखरी :: Baahrakhari
देश
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व : राष्ट्रपति
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् । सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए । 
 
सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गरेका छन् । 
 
उनले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गरेका छन् । 
 
आजका दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइने उल्लेख गर्दै उनले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको बताएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्