site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्का महासचिव पाण्डेयको के हो नागरिकता र राहदानी विवाद ? कसरी ढाँटेका थिए राज्यका निकायलाई ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्का महासचिव भरत गौतमको जागिर अवधि नौ महिना बाँकी रहँदै सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजीनामा दिन बाध्य गराए ।

संसद्का राजनीतिक नियुक्तिका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरे ।

राष्ट्रियसभा अध्यक्षको कार्यकाल सकिन लागेको र त्यसपछि आउने अध्यक्ष अरु दलको हुन सक्ने भएकाले ‘आफूले चाहेको’ महासचिव बनाउन नसकिने भन्दै रणनीतिक ढंगले पाण्डेयलाई नियुक्तिका लागि सिफारिस गरिएको संसद् सचिवालयका उच्च कर्मचारीको तर्क छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक नियुक्तिमा सचिव भएका पाण्डेयलाई सचिवबाट राजीनामा नगरी महासचिवमा बढुवा गर्न मिल्छ कि मिल्दैन भन्ने बहस संसद्भित्रै पनि भयो । पहिले राजीनामा दिनुनपर्ने अडानमा रहेका पाण्डेयले अन्ततः  सचिवबाट राजीनामा दिए । र, राष्ट्रपति रामचन्द्र पौडेलले माघ २३ गते महासचिवमा नियुक्ति दिए ।

गत मंसिर २४ मा सिफारिस भएका पाण्डेयलाई माघ २३ मा मात्रै महासचिव नियुक्ति गरिएको थियो । उनले ६ वर्ष उमेर घटाएर बनाएको नागरिकता १० वर्षसम्म कायमै राखेको विषयमा समाचार सार्वजनिक भएपछि संसदीय समितिले पनि चासो राख्यो ।

Global Ime bank

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृह, परराष्ट्रलगायतबाट कागजात मागिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले दुई महिना रोकेर पाण्डेयलाई नियुक्ति दिए ।

यस्तो छ, उनको नागरिकता र राहदानीको नालीबेली

पाल्पाको साविक ख्याहा गाविस–९ भइ हाल रिब्दीकोट गाउँपालिका–१ स्थायी ठेगाना भएका पद्मप्रसाद पाण्डेयले २०४६ असार २८ मा पहिलो नागरिकता लिएका थिए । 

उनले लिएको नागरिकता प्रमाणपत्र नम्बर ३५ भएको पहिलो नागरिकतामा २०२६ असोज १५ गते जन्ममिति उल्लेख छ । उनै पाण्डेयले २०६६ भदौ ८ गते नागरिकता हराएको भन्दै दोस्रो नागरिकता लिए । दोस्रो नागरिकता लिँदा पाण्डेयले जन्ममिति २०३२ साल पुस २६ गते कायम गरे ।

अर्थात् उनले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिए ।  दोस्रो नागरिकता प्रमाणपत्र नम्बर ३९१०११/१५५ छ । दुवै नागरिकता जिल्ला प्रशासन कार्यालय पाल्पाबाट जारी भएका छन् । कुनै नागरिकता हराएमा प्रतिलिपि लिन सकिन्छ, नम्बर पुरानै हुन्छ । पाण्डेको हकमा प्रतिलिपि नभएर नयाँ नागरिकता जारी भएको थियो ।

यस विषयमा बाह्रखरीले राखेको जिज्ञासामा पाण्डेयले ‘बाई मिस्टेक’ नागरिकतामा जन्ममिति फरक परेको बताएका थिए । उनले आफ्नो नागरिकता हराएको र पछि कोठा सर्दा पुरानै नागरिकता भेटिएकाले सोही कायम गरिएको बताउँदै हराएको नागरिकता कहीँ कतै प्रयोगमा नआएको बताए ।

“हो, मेरो नागरिकता हराएकै हो । बीचमा निकाल्न जाँदा बाई मिस्टेक गाविसको सिफारिसमा गलत तथ्य परेछ ।  म यता जागिर खान्थेँ । अंकललाई सिफारिस ल्याउन पठाएँ । उहाँले नै सिफारिस पेस गरिदिनिुभएछ । नागरिकता निकाल्दाखेरी जन्ममिति फरक परेछ । पछि कोठा सर्दा मेरो पुरानो नागरिकता पनि भेटियो । मैले भेटिएको र पुरानोसमेत रियालिटी बताएर लगेर प्रशासनमा बुझाएँ । सबै बुझाएपछि जिल्ला प्रशासनले कुरा बुझेपछि ठीकै रहेछ भनेर दुवै नागरिकता राख्यो । अनि मलाई नयाँ नागरिकता दियो । जिल्ला प्रशासनले सबै बुझ्यो, पुरानो रद्द ग¥यो । अनि मलाई पुरानै नागरिकता दिइयो । तपाईं जिल्ला प्रशासनमा गएर पनि रेकर्ड हेर्न सक्नुहुन्छ ।”

उनले दोस्रो नागरिकता पनि कतै प्रयोगमा नल्याएको बताए । संसदीय समितिका सभापतिहरूसँगको अनौपचारिक छलफल, राजनीतिक दलका नेताहरूसँगको कुराकानीमा पनि उनले आफूले दुईवटा नागरिकता सँगसँगै कहीँ पनि प्रयोग नगरेको बताए ।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रपति कार्यालयलाईसमेत त्यही भने । तर पाण्डेयले चार महिनाको अन्तरमा दुईवटै नागरिकता (हरायो भनिएकोसमेत) प्रयोग गरेर राहदानी लिएको पाइयो ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको कागजातमा पाण्डेयले २०६९ साउन २ गते अर्थात् १७ जुलाई २०१२ मा राहदानी लिएका छन् ।  जिल्ला प्रशासन कार्यालय पाल्पाबाट लिएको नागरिकता नम्बर ३९१०११/१५५ (जुन ६ वर्ष उमेर घटाएर बनाइएको थियो) बाट उनले त्यही कार्यालयबाट ०६०१८३७० नम्बरको साधारण राहदानी लिएका थिए ।

उनले यसरी राहदानी बनाएको चार महिनापछि फेरि ‘हरायो भनिएको’ नागरिकता प्रयोग गरेर काठमाडौंबाट विशेष राहदानी लिए । जुन राहदानी कर्मचारीले लिन पाउँछन् । तर साधारण, विशेष र कूटनीतिक राहदानी लिँदा नागरिकता नम्बर भने एउटै हुनुपर्छ ।

पाण्डेयको हकमा त्यो भएन । उनले साधारण राहदानी नयाँ नागरिकताबाट लिए भने त्यसको चारमहिनामै विशेष राहदानी हरायो भनिएको नागरिकताका आधारमा लिए । पाण्डेयले पहिलो राहदानी बनाएको चार महिनापछि नै २०६९ मंसिर २० अर्थात् ५ डिसेम्बर–२०१२ मा ‘हरायो भनिएको नागरिकता’ नम्बर ३५ प्रयोग गरेर विशेष राहदानी लिए । 

पाण्डेयको दाबी यहीँनेर फेल खान्छ । उनले नागरिकता बनाएको भए पनि कतै प्रयोग नगरेको दाबी गर्दै आएका थिए । नागरिकता ऐन र नियमावलीअनुसार कसैको नागरिकता हरायो भने उसले हराएको नागरिकतासम्बन्धी विवरणसहित गएपछि जिल्ला प्रशासन कार्यालयले प्रतिलिपी जारी गर्छ ।

त्यस्तो प्रतिलिपि जारी भइसकेपछि पुरानो हराएको नागरिकता भेटियो भने त्यसको प्रयोग गर्न पाइँदैन । 

padam1-1707631643.jpg
 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा कसैले नागरिकता हरायो भनेर प्रतिलिपि निकालेपछि भेटियो भने पनि पहिलेको नागरिकता प्रयोग गर्न नहुने बताउँछन् । 

“प्रतिलिपि निकाल्नका लागि सक्कल नागरिकता नै लिएर आउनुपर्छ । नागरिकताका विवरण मेटिएको, झुत्रो भएका जस्ता कारणबाट प्रतिलिपि जारी गर्ने हो । कसैको नागरिकता हरायो भने नागरिकताविहीन राख्न नमिल्ने हुँदा प्रतिलिपि बनाइन्छ,” शर्माले प्रक्रियाबारे बाह्रखरीसँग भने, “त्यसरी प्रतिलिपि बनाएपछि पुरानो नागरिकता भेटियो भने जिल्ला प्रशासनमा बुझाउनु सम्बन्धित नागरिकको कर्तव्य हुन्छ ।” 

उनले पुरानो नागरिकता भेटियो त्यसकारण त्यही प्रयोग गरेँ भनेर प्रयोग गर्न नमिल्ने बताए । 

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भनेजस्तो प्रतिलिपि लिएपछि पुरानो नागरिकतासमेत प्रयोग गर्न नमिल्नेमा महासचिव पाण्डेयले भने जन्ममिति नै सच्याएर ६ वर्ष उमेर घटाएको नागरिकता लिएर राहदानीसमेत बनाइसकेपछि पुनः पहिलेकै नागरिकता प्रयोग गरेका छन् । 

पुरानो ‘हरायो भनिएको’ ३५ नम्बरको नागरिकताबाट विशेष राहदानी बनाए । जसको नम्बर ००५९४४९ रहेको छ ।
 
उनले कायम नरहेको नागरिकताबाट बनाएको राहदानी प्रयोग गरेर विदेश यात्रासमेत गरेको पाइएको छ ।  उनी पाँचपटकसम्म विशेष राहदानीमा विदेश भ्रमणमा गएको अध्यागमन विभागको यात्रा विवरणमा देखिएको छ । 

हेरौँ यात्रा विवरण–

padam2-1707631643.jpg
 

पाण्डेयले हरायो भनिएको नागरिकता नम्बर ३५ बाट नै विशिष्ट व्यक्तिहरूको भ्रमणसहित देशको प्रतिनिधित्वका लागि विदेश भ्रमणमा प्रयोग हुने कूटनीतिक राहदानीसमेत बनाएको पाइएको छ । 

उनले कूटनीतिक राहदानी बनाउन पनि सक्छन्, तर तीनवटै राहदानी बनाउँदा एउटै नागरिकता कायम हुनुपर्छ कानुनतः । तर त्यो भएको पाइँदैन । पाण्डेयले २०७६ असार ३० अर्थात् १५ जुलाई २०१९ मा कूटनीतिक राहदानी त्यही ३५ नम्बरको नागरिकता प्रयोग गरेर लिएका छन् । 

उनले कूटनीतिक राहदानी लिन महान्यायाधिवक्ता कार्यालयको सिफारिसपत्र र महान्यायाधिवक्ता कार्यालयको वैदेशिक भ्रमणमा मनोनयनसम्बन्धी कागजात पेस गरेर लिएका छन् । कूटनीतिक राहदानीबाट आयरल्यान्डको भ्रमणसमेत गरेका छन् । 

पाण्डेय त्यही बीचमा दुईपटक अमेरिका भ्रमणमा गएका छन् । अमेरिका भ्रमणमा जाँदा उनले प्रयोग गरेको राहदानीबारेमा परराष्ट्र र अध्यागमन विभागले पनि कागजात फेला नपरेको बताउँदै आएको छ ।

उनले त्यसबेला विशेष राहदानी प्रयोग गरेर अध्ययनका लागि गएका थिए कि साधारण राहदानी भन्ने विषयमा संसदीय समितिसमक्ष पनि कागजात उपलब्ध गराएका छैनन् । अध्यागमन विभागले पाण्डेय अमेरिका जाँदा प्रयोग गरेको राहदानीको विवरण ‘अहिले नभेटिएको’ प्रतिक्रिया दिएको छ ।

पछिल्लो नागरिकता उनले १० वर्षसम्म कायमै राखे । त्यसबीचमा उनले लिने तालिम, भ्रमणलगायतका काम गरेको स्रोतले जानकारी दिएको छ । १० वर्षपछि फेरि उनले पुरानै नागरिकता कायम गराए ।

तर त्यो बीचमा उनले पुरानै नागरिकता प्रयोग गरेर राहदानी पनि लिएको सरकारी कागजातबाट पुष्टि हुन्छ । पाण्डेयले २०६९ मंसिर २० अर्थात् ५ डिसेम्बर–२०१२ मा ‘हरायो भनिएको नागरिकता’ नम्बर ३५ प्रयोग गरेर विशेष राहदानी लिए । 

तर त्यसको सात वर्षपछिमात्रै जिल्ला प्रशासन कार्यालयमा आफूले पुरानो नागरिकता भेटेको बताउँदै दुवै रद्द गरेर नयाँ नागरिकताका लागि निवेदन दिए । स्रोतका अनुसार, त्यसबेला जिल्ला प्रशासन कार्यालय पाल्पाले उनको निवेदन ६ महिनासम्म पनि अघि बढाएन ।

पछि २०७६ भदौ २३ गते प्रशासकीय अधिकृत रमा श्रेष्ठको हस्ताक्षरमा पुरानो नागरिकता प्रमाणपत्र रद्द गरेर नयाँ कायम गरे ।  २०७५ फागुनमा निवेदन दिए पनि पाण्डेयले २०७६ भदौ २३ गते पुरानै नागरिकता कायम गरे । 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले यस विषयमा छानबिन जारी राखेको हुँदा कुनै प्रतिक्रिया दिन नमिल्ने सभापति रामहरि खतिवडाको तर्क छ । उनका अनुसार, राज्यका निकायसँग मागिएका विवरण सबै प्राप्त भएपछि समितिमा छलफल हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC