site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरतिरै ढल्किँदै शशांक र सुजाता, पारिवारिक बेमेलले घाटा पुगेको निष्कर्ष 

काठमाडौं । कांग्रेसका नेतात्रय शशांक, शेखर र सुजाता कोइराला एकै परिवारका सदस्य हुन् ।

अर्थात् तीनैजना कृष्णप्रसाद कोइरालाका नाति–नातिना हुन् । बीपी, केशवप्रसाद र गिरिजाप्रसाद कोइरालाका छोराछोरी हुन्, यी ।  एउटै परिवारभित्र पनि फरक–फरक पार्टी र फरक–फरक गुटमा रहनु नेपाली राजनीतिमा नौलो कुरा भने होइन ।

श्रीमान्–श्रीमती फरक–फरक पार्टीका सांसद भएको इतिहास नभएको होइन । तर ऐतिहासिक विरासत बोकेको परिवारका तीन सदस्य एउटै पार्टीभित्र तीन कित्तामा उभिँदा कांग्रेसभित्र भने त्यसलाई अनौठो रुपमा लिइएको पाइन्छ ।

१३औं महाधिवेशनमा महामन्त्री बनेका शशांक १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको साथ छाडेनन् ।  उनी कतै नखुलेर तटस्थ रहेको दाबी गरे पनि उनले भित्रीरूपमा देउवालाई समर्थन गरेको भन्दै उनको आलोचना हुने गरेको छ ।

१४औँ महाधिवेशनमा उनै देउवासँग प्रतिष्पर्धामा रहेका शेखरलाई न त उनले साथ दिए न त सुजाता कोइरालाले नै । सुजाता प्रकाशमान सिंहको साथ लागिन् भने शशांकले देउवालाई छाडेनन् ।

परिवारभित्रकै साथ नपाएका शेखरको गुनासो हुन्थ्यो, “म बीपीको छोरा पनि परिनँ । गिरिजाप्रसाद कोइरालाको पनि, मेरा बुबाले घर धानिदिएको हुनाले बीपी र गिरिजाप्रसाद कोइरालालाई राजनीतिमा लाग्न सम्भव भएको थियो । तर त्यो कुरा मेरा भाइ–बहिनीहरुले बुझेनन् ।”

शेखरले आफूनिकटका नेताहरूसँग भन्ने गरेका छन्, “मेरा भाइबहिनी मसँग भइदिएको भए मैले चुनाव जित्ने थिएँ ।”

एकै परिवारका दाजु बहिनीबीचको चिसिएको सम्बन्धका कारण तीन नेता एकै ठाउँमा बसेर वार्तासम्म गर्न सकेका छैनन् । महाधिवेशन भएको दुईवर्ष बितिसक्दासमेत कोइराला परिवारका तीन सदस्यबीच वार्तालाप भएको छैन । 

महाधिवेशनलगत्तैका भेटमा उनीहरू एक अर्काले ‘कुनै पश्चाताप नरहेको’ बताउँदै आएका थिए । उनीहरूबीच पारिवारिक तथा राजनीतिक कार्यक्रममा आक्कलझुक्कल कुराकानी हुने गर्छ ।
 
तर, उनीहरूको भेटमा न त शेखरले गुनासो गर्छन् न त शशांक र सुजाताले नै पश्चाताप ।

सार्वजनिक खपतका विषयमा आफ्ना तर्क प्रस्तुत गरे पनि पारिवारिक रुपमा भने टाढा छैनन् । पछिल्लो समय शशांक र सुजाताको एउटै टिप्पणी छ, ‘‘राजनीतिक विषयमा शेखर परिवारमा छलफल नै गर्दैनन् ।’’

“शेखर दा’ भेटमा मीठो कुराकानी गरिदिनुहुन्छ । कहिले त फोन पनि उठाउनु हुन्न र कल ब्याक पनि गर्नु हुन्न । उहाँको समस्या नै हो यो,” कोइराला परिवारका एक सदस्य भन्छन्, “सार्वजनिक मञ्चमा कोइराला कहिले एक हुन्छन् भन्दा उहाँहरूलाई नै सोध्नुस् न ! हिजो किन एक नभएको, किन अरूलाई सहयोग गर्न गएको भन्नुहुन्छ । व्यक्तिगत भेटमा कुनै गुनासो गर्नुहुन्न ।”

कांग्रेसले गरेको बीपी साहित्य महोत्सवमा शेखरले त्यस्तै जवाफ फर्काएका थिए । 

शेखर, शशांक र सुजातालाई एउटै मञ्चमा राखेर सोधिएको कोइराला एक कहिले हुन्छन् भन्ने प्रश्नमा सुजाता र शशांकको जवाफ थियो, “हामी मिल्छौँ, मिलेर नै समस्याको समाधान गर्ने हो ।”

शेखरले भने कडा जवाफ दिएका थिए । 

“सोध्नुस् न उहाँहरूलाई, हिजो म सभापतिको उमेदवार हुँदा किन सहयोग गर्न सक्नुभएन ? किन उहाँहरु मसँग हिँड्न सक्नुभएन ?,” प्रश्न गर्दै कोइरालाले भने, “कतिपय असन्तुष्टि, विमति होलान् तर, त्यसको सम्बोधन त हामी सँगै हिँडेर सम्भव हुन्थ्यो होला नि !” 

भाइबहिनीको आरोप भने शेखरमाथि १४औँ महाधिवेशनमा देख्दा आफूहरूले असहयोग गरेको देखिए पनि शेखरले फोनसम्म गरेर नबोलाएको भन्ने छ । पछिल्लो समय भने सुजाता र शशांक शेखरलाई सहयोग गर्ने अवस्थामा पुगेका छन् ।

कतिसम्म भने अभिनेत्रीसमेत रहेकी मनीषा कोइरालाले पनि पारिवारिक भेटमा आफूहरूले शेखरलाई सहयोग नगरेर गल्ती गरेको धारणा राखेको स्रोतको दाबी छ । शशांक नेता कार्यकर्ताको आवाज सुन्ने भन्दै पश्चिमका विभिन्न जिल्लाको भ्रमण सकेर फर्किएका छन् ।

उनले देशभर घुमेर फर्किएपछि आफूले दाजु शेखरलाई भेटेर आफू अघि बढ्ने वा सहयोग गर्नेमध्ये एउटा ब्रिफिङसहित अघि बढ्ने बताइसकेका छन् ।

“म सभापति लड्नुपर्छ भन्ने मूडमा छु । तर, म एक्लैले त्यो निर्णय गर्दिन । देशभरका नेता, कार्यकर्तासँग भेटेपछि मात्र निर्णय लिन्छु,” शशांकले बाह्रखरीसँग भनेका थिए, “फर्किएपछि दाइ भएकाले म नै शेखर दा’लाई भेट्न जान्छु । मेरो पक्षमा माहोल छ भने तपाईं पछि हटिदिनुस् भन्छु उहाँका पक्षमा माहोल देखेँ भने अघि बढ्नुस् म सहयोग गर्छु भन्नेछु ।” 

गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई पनि अब परिवारमा जो बढी सक्रिय हुन्छ उसले नै नेतृत्त्व गर्नुपर्छ भन्ने लागिसकेको छ । उनले आफू र शशांकको तुलनामा शेखरलाई सक्रिय देखिइसकेकी छन् । 

“हामी दुईजनाको तुलनामा शेखर’दा बढी सक्रिय हुनुहुन्छ । उहाँ मनमा कुनै कपट नराख्ने इमान्दार पनि हुनुहुन्छ,” सुजाताले बाह्रखरीसँगको कुराकानीमा भनिन्, “हिजो उहाँबाट पनि कमजोरी भए हामीहरुबाट पनि भए । अब उहाँले ढिला नगरी पारिवारिक छलफल गर्नुपर्छ । सबैलाई सँगै लिएर कांग्रेसको र देशको समस्या समाधानको नेतृत्व लिनुपर्छ ।” 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro