site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माघ १९ : न्युजरूममा पत्रकारभन्दा पहिला सेना पुगेको दिन, भोलिपल्टका पत्रिका कसरी निस्किए ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आज ‘माघ १९’ । यो दिनले इतिहासको त्यो कालो दिन सम्झाउँछ जुन दिन नेपालमा हुँर्कदै गरेको प्रजातन्त्रको घाँटी निमोठिएको थियो । 

घाँटी निमोठ्ने प्रमुख पात्र थिए, तत्कालीन राजा, ज्ञानेन्द्र शाह । उनले तत्कालीन शाही नेपाली सेनाको बलमा दलीय सरकार विघटन गरी ‘कू’ गरेका थिए ।

मिति थियो– २०६१ साल माघ १९ गते । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

राजाले ‘कू’ गर्न लागेको छनक केही व्यक्तिहरुले केही साता अघि नै पाएका थिए ।  पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरो नौ दशकः सूर्यबहादुर थापा’ मा पढ्दा यो थाहा पाउन सकिन्छ । 

‘कू’ गर्नु केही साताअघि नै सुन्दरीजल जेललगायतका प्रमुखलाई जेलको सरसफाइ गर्न आदेश गएको थियो । 

Royal Enfield Island Ad

आफ्ना निकटलाई बोलाएर ज्ञानेन्द्रले सरसल्लाह गरेका थिए ।  “माघ लाग्दा नलाग्दै सेनाले सुन्दरीजललगायत ठाउँमा जेल सफा गरेको खबर आयो । दोस्रो सातामा पनि त्यस्तै हल्ला चल्न थाल्यो । केही त हुँदछ भन्ने शंका लाग्यो,” पुस्तकमा भनिएको छ । 

‘कू’ गर्ने विभिन्न सूचना पाएपछि थापाले तत्कालीन राजा ज्ञानेन्द्रसँग भेट गरेका थिए । भेटमा ज्ञानेन्द्रले भनेका थिए, “केही पक्षले शासन हातमा लिनुपर्छ भन्या छन् । मैलै निर्णय गरिसकेको छैन ।” 

‘कू’ को तयारी यति गोप्य तरिकाले गरिएको थियो सत्तामा रहेका राजनीतिक दलहरूलेसमेत भेउ पाएका थिएनन् ।  माघ १९ गतेको विहान ज्ञानेन्द्रले राष्ट्रको नाममा सम्बोधन गरी ‘कू’ गरेको औपचारिक जनाउ दिएका थिए । 

“देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबस्केका छौँ । अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ । आगामी तीन वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधारहरु गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ,” सम्बोधनका क्रममा ज्ञानेन्द्रले भनेका थिए । उनले शेरबहादुर देउवा नेतृत्वको सरकार विघटन गरेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले सम्बोधन गरिरहँदा मुलुकमा टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भइसकेका थिए ।  यो ज्ञानेन्द्रको निर्देशनमा भएको थियो । नेताहरूलाई नजरबन्द गर्न उनीहरूको निवासमा सेना पुगिसकेको थियो । 

मिडियामा अंकुश लगाउन मिडिया हाउसमा हातहतियारसहित ‘सैन्स सम्पादक’ केही थान जवानसहित पुगिसकेका थिए ।  

“ज्ञानेन्द्रको सम्बोधन सुनेर सीधै अफिस पुग्दा समाचार कक्षमा सेना पुगिसकेका थिए । समाचार कक्ष सेनाले नियन्त्रणमा लिइसकेको थियो,” कान्तिपुर दैनिकका तत्कालीन सम्पादक नारायण वाग्लेले १९ वर्षअघिको त्यो दिनलाई सम्झिए, “सञ्चार गृह नै सेनाको मिनि ब्यारेक जस्तो भयो ।” 

‘कू’ गर्नु केहीक्षण अघि सबै दैनिक अखबारका प्रधान सम्पादक र सम्पादकलाई दरबारको संवाद सचिवालयलये टेलिफोन गरी दरबार बोलाइसकेको थियो । संवाद सचिवले सम्पादकहरुलाई छुट्टाछुट्टै भेटेका थिए । 

“तपाईँहरुको कार्यालयमा शाही नेपाली सेना परिचालित भएको छ । उनीहरुलाई तपाईँले सहयोग गर्नु भएन र त्यसपछि तपाईँलाई केही समय बेपत्ता पारियो भने मैले त्यतिखेर सहयोग गर्न नसक्ने अवस्था हुनेछ,” दरबारका संवाद सचिवले सीधै आफूलाई दिइएको चेतावनि वाग्लेले सम्झे । अन्य अखबारका सम्पादकलाई पनि यस्तै धम्की दिइएको थियो । 

यस्ता धम्कीका बाबजुद पनि माघ २० गते सबै दैनिक अखबारहरू प्रकाशित भए । 

‘मिनी ब्यारेक’ बनेका सञ्चार गृहबाट प्रकाशित दैनिक अखबार कस्ता थिए ? कस्ता समाचार समेटिएका थिए अखबारमा ? राजाको ‘कू’लाई कसरी प्रस्तुत गरेका थिए अखबारले ? के अखबारले ज्ञानेन्द्रले गरेको ‘कू’ विरुद्ध आवाज उठाएका थिए ? आउनोस् होरौं ती दिनका अखबार : 

कान्तिपुर दैनिक 
माघ २० गते प्रकाशति भएको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा ६ वटा समाचार समावेश गरिएको थियो । यीमध्ये मात्र दुई वटा समाचार ज्ञानेन्द्रको ‘कू’सँग सम्बन्धित थिए ।

‘श्री ५ बाट देउवा सरकार विघटन, मन्त्रिपरिषद् मौसुफकै अध्यक्षतामा हुने’ शीर्षकमा ब्यानर समाचार थियो । अर्को समाचार सोही ब्यानार समाचारभित्र ‘देशभर संकटकाल’ शीर्षक राखिएको थियो । प्रथम पृष्ठमा रहेका बाँकी चार समाचार ‘मलेसियाले अवैधलाई तत्काल कारबाही नगर्ने’, ‘सार्कमा विपत्तिसूचक संयन्त्र बनाउन श्रीलंकाको प्रस्ताव’, ‘वन जोगाउन खानेपानी’ र ‘थारू मुखिया बन्ने कोही भएन’ शीर्षकमा थिए । यी समाचार बाहेक राजेश केसीको कार्टुन एक कोलममा प्रकाशित थियो । 

kantipur-1706855903.JPG
 

राजाको कदमसँग समबन्धित मात्र दुईवटा समाचारलाई पहिलो पृष्ठमा राखेर कान्तिपुरले सांकेतिक रुपमा असन्तुष्टि व्यक्त गरेको देखिन्छ । 

माघ २० गते प्रकाशित कान्तिपुरको प्रथम पृष्ठमा प्रकाशित समाचारको बाइलाइनमा कुनै संवाददाताको पनि नाम थिएन ।  अझ राजाका कदमसँग सम्बन्धित समाचार त सबै राष्ट्रिय समाचार समिति (रासस)का मात्र प्रयोग गरेको थियो । 

कान्तिपुरका संवाददाताले माघ १९ को कदमका विषयमा भोलिपल्ट छापिने गरी कुनै समाचार लेखेका थिएनन् । 

“‘कू’को भोलिपल्ट राजाको कदमको विषयमा कान्तिपुरमा संवाददाताले लेखेको समाचार जानसक्ने अवस्था थिएन । त्यही भएर राससका समाचार प्रयोग गरेर पत्रिका मात्र छाप्ने रणनीति लियौं, ताकि जनतालाई थाहा होस् कि प्रेस कुण्ठित छ,” कान्तिपुरका तत्कालीन प्रधान सम्पादक वाग्लेले भने । 

माघ २० गतेको कान्तिपुरको तेस्रो पृष्ठमा ‘मुलुकभर संकटकाल, संविधानका धारा निलम्बित’ शीर्षकमा अर्को समाचार थियो । 

यो समाचारमा राजाको आदेशपछि कुन कुन धारा र मौलिक अधिकार कटौती भए भन्ने उल्लेख गरिएको छ ।  कान्तिपुरले माघ १९ गते ठूलो राजनीतिक परिवर्तन हुँदा पनि त्यससँग सम्बन्धित सम्पादकीय नै लेखेन । 

कान्तिपुरको माघ २० गतेको अंकमा सम्पादकीय अर्कै विषयमा लेखिएको छ । 

सम्पादकीयको शीर्षक थियो– ‘चारुमतीको नयाँ योगदान’ । सम्पादकीय संस्कृतविद् सत्यमोहन जोशीको गीति नाटक ‘चारुमती’सँग सम्बन्धित थियो । 

“खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ इच्छाशक्ति भएमा काम गर्न उमेरले रोक्दैन भन्ने उदाहरण चारुमती गीति नाटकको निर्माण गरेर देखाएका छन्, संकृतिविद् सत्यमोहन जोशीले,” सम्पादकीयको पहिलो वाक्यमा भनिएको थियो । 

विचार पेजमा सम्पादकीयसँगै माघ १९ गते ज्ञानेन्द्रले गरेको सम्बोधनको पूर्ण पाठ प्रकाशित गरिएको थियो । 

सम्पादकीय माथि कान्तिपुरको लोगेको दायाँपट्टी ज्ञानेन्द्र वाणी छापिएको थियो, “देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय अतीत हो, यही नै वर्तमान र भविष्य पनि हो – श्री ५ ज्ञानेन्द्र ।” 

अन्नपूर्ण पोष्ट 

माघ २० गते प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकको पहिलो पृष्ठमा चारवटा समाचार थिए ।  चारवटै समाचार माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कदमसँग सम्बन्धित थिए । 

‘श्री ५ बाट शासनभार ग्रहण’ शीर्षकमा पहिलो पृष्ठमा ब्यानर समाचार प्रकाशित गरिएको थियो । ‘देशभर संकटकाल लागू’, ‘सरकारी सेवा प्रभावकारी बनाइने’ र ‘शाही घोषणाको संघसंस्थाबाट स्वागत’ शीर्षकमा अन्य समाचार पहिलो पृष्ठमा थिए । 

annapurna-1706855914.JPG
 

पहिलो पृष्ठमा प्रकाशित सबै समाचार अन्नपूर्णका संवाददाताले तयार पारेका थिए । पहिलो पृष्ठमा राससको समाचार प्रयोग गरिएको थिएन ।  विभिन्न व्यक्ति तथा संघसंस्थाले ज्ञानेन्द्रको कदमलाई स्वागत गरेको समाचारलाई अन्नपूर्ण पोष्टले पहिलो पृष्ठमा एङ्कर समाचार बनाएको थियो । 

ज्ञानेन्द्रले ‘कू’ गरेको भोलिपल्टको अंकमा अन्नपूर्णले ‘शाही कदम’ शीर्षकमा सम्पादकीय लेखेको थियो । सम्पादकीयको अन्तिम वाक्यमा भनिएको थियो, “जनताको इच्छा र राष्ट्रको आवश्यकता पूरा गर्ने घोषणासहित आएको वर्तमान शाही कदमबाट बाञ्छित उपलब्धि हासिल हुन गई नेपाल तथा नेपालीको कल्याण हुने प्रतिक्षा गरौं ।” 

अन्नपूर्ण पोष्टको पहिलो पृष्ठको एङ्कर समाचार र सम्पादकीय दुवै ‘कू’को पक्षमा देखिन्छन् । 

नेपाल समाचारपत्र 

नेपाल समाचारपत्र दैनिकले माघ २० गतेको अंकको पहिलो पृष्ठमा ५ वटा समाचार र एउटा विशेष सम्पादकीय प्रकाशित गरेको थियो । 

‘श्री ५ बाट देउवा सरकार विघटन’ स्लग राखी ‘श्री ५ कै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’ शीर्षकको समाचार ६ कोलममा प्रकाशित भएको थियो । पहिलो पृष्ठमा प्रकाशित भएका अन्य समाचारमा ‘शीर्ष नेताहरू नजरबन्दमा’, ‘संविधानका केही धारा निलम्बन’, ‘शाही घोषणाका प्रति कूटनीतिक नियोगमा’ र ‘भारतको गम्भीर चासो’ शीर्षकमा रहेका थिए । 

samacharpatra-1706855925.JPG
 

पहिलो पृष्ठमा प्रकाशित गरिएको विशेष सम्पादकीय ‘राजाको कदम र जनताको अपेक्षा’ शीर्षकमा थियो ।  पहिलो पृष्ठमा प्रकाशित सबै ‘कन्टेन्ट’ नेपाल समाचारपत्रका संवाददाताले तयार पारेका थिए । पहिलो पृष्ठमा राससको एउटा पनि समाचार राखिएको छैन । पहिलो पृष्ठमा प्रकाशित सबै समाचारहरू ज्ञानेन्द्रको कदमसँग सम्बन्धित थिए । 

“भारतले नेपालमा मंगलबार भएको शाही घोषणाप्रति गम्भीर चासो व्यक्त गर्दै राजनीतिक नेताहरुको भलाई र सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ,” ‘भारतको गम्भीर चासो’ शिर्षकको समाचार उल्लेख गरिएको छ, “भारतीय विदेश मन्त्रालयबाट मंवलबार जारी वक्तव्यमा नेपालको संविधानअनुरुप उनीहरुले आफ्नो अधिकार पालना गर्न पाउनुपर्ने जिकिर गरिएको छ ।” 

शाही घोषणालगत्तै घोषणाको अंग्रेजी कपी काठमाडौंस्थित विभिन्न देशका दूतावासमा लागि दिइएको थियो ।  उक्त कुरालाई पनि नेपाल समाचारपत्रले समाचारमा समेटेको थियो । 

‘शीर्ष नेताहरु नजरबन्दमा’ शीर्षकको समाचार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार, एमालेका महासचिव माधवकुमार नेपाललाई कोटेश्वर, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला महाराजगन्ज निवासमा नजरबन्दमा राखिएको उल्लेख गरिएको थियो । 

नेपाल समाचारपत्रले विशेष सम्पादकीयमार्फत् ज्ञानेन्द्रले चालेको कदमलाई स्वाभाविक भनेको थियो, “विगत एक दशकदेखि सुरु भएको द्वन्द्वबाट मुलुक र जनता अत्यधिक पीडित बनेको, हजारौंको ज्यान गएको, अर्बौँ रुपैयाँका भौतिक पूर्वाधार नष्ट भएका तथा हालसम्म गठित कुनै पनि सरकारले शान्तिबहाल गर्न नसकेका जस्ता कमीकमजोरीहरुलाई दृष्टिगत गर्दा राष्ट्र र जनताको अभिभावकको रुपमा रहेका राजाबाट उनीहरुप्रतिको दायित्व निर्वाह गर्ने क्रममा अगाडि सारिएको कदमलाई अस्वाभाविक नै भन्न पनि सकिँदैन ।”

नेपाल समाचारपत्रले माघ २० गतेको अंकको विचार पेजमा शाही घोषणाको पूर्णपाठ प्रकाशित गरेको थियो । 

राजधानी 

राजधानी दैनिकले माघ २० गतेको अंकको पहिलो पृष्ठमा पाँचवटा सामग्री राखेको थियो ।  जसमध्ये चारवटा समाचार थिए भने एउटा विशेष सम्पादकीय । पहिलो पृष्ठका प्रकाशित सबै ‘कन्टेन्ट’ शाही कदमसँग सम्बन्धित थिए । 

पहिलो पृष्ठको मुख्य समाचार ‘श्री ५ बाट मन्त्रिपरिषद् विघटन, मौसुफकै अध्यक्षतामा नयाँ मन्त्रिपरिषद् गठन हुने’ शीर्षकमा ६ कोलमा प्रकाशित छ । 

पहिलो पृष्ठमा ‘शीर्ष नेताहरु आफ्नै निवासमा नजरबन्द’, ‘अधिराज्यव्यापी संकटकालको घोषणा, सञ्चारमाध्यमा सेन्सरसिप’ र ‘सर्वसाधरण कतै दिक्क, कतै दंग’ शीर्षकका अन्य समाचार प्रकाशित भएका थिए । 

पहिलो पृष्ठमा रहेको विशेष सम्पादकीयको शीर्षक ‘श्री ५ को जोखिमपूर्ण कदम’ थियो । प्रथम पृष्ठका सबै समाचार सामग्री राजधानी संवाददाताले तयार पारेका थिए ।  राजधानी दैनिकको पहिलो पृष्ठमा बिजु जोशीले खिचेको बालुवाटारको तस्बिर पनि प्रकाशित गरिएको थियो । जुन तस्बिरमा बालुवाटारको गेट बन्द गर्न लाग्दै गरेका सुरक्षाकर्मी देखिन्छन् । 

तस्बिरको क्याप्सनमा लेखिएको थियो, ‘थुनिन लागेको ढोका : प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार कडा सतर्कता अनाउँदै सुरक्षाकर्मी ।’  तत्कालीन प्रधानमन्त्री देउवालाई बालुवाटारमै नजरबन्दमा राखिएको थियो । 

नारायण सापकोटा र थिर भुसालको संयुक्त बाइलाइनमा ‘शीर्ष नेताहरु आफ्नै निवासमा नजरबन्द’ शीर्षकमा समाचार प्रकाशित छ ।  समाचारमा प्रमुख दलका शीर्ष नेतादेखि विद्यार्थी नेतासम्म केहीलाई निवासमै नजरबन्दमा राखिएको र केहीलाई पक्राउ गरिएको उल्लेख छ ।

rajdhani-1706855945.JPG
 

“टेलिफोन, इमेल, इन्टरनेट, फ्याक्सलगायतका सञ्चारमाध्यमबाट आमजनता पूर्णरुपमा बिच्छेद रहेका बेला गिरफ्तार गरिएका नेताको यथार्थ स्थितिबारे भने अन्योल छ,” समाचारमा उल्लेख छ ।  सोही समाचारको अन्ततिर नेपालका राजनीतिक दलका नेता, अन्तर्राष्ट्रिय समुदाय र नेपालका विभिन्न संघसंस्थाले गरेको ज्ञानेन्द्रको कदमको विरोधलाई समेटिएको छ । 

“यसैबीच, शाही घोषणाको विभिन्न संघसंस्थाले विरोध गरेका छन् । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनले मंगलबार नै आकस्मिक बैठक बसी श्री ५ को सो कदमबाट प्रजातान्त्रिक एवं संवैधानिक अधिकारको हनन् भएको जनाएको छ । त्यसैगरी, मानवअधिकार तथा शान्ति समाजले सो कदमबाट मानवअधिकारको मर्ममाथि प्रहार भएको जनाएको छ,” राजधानीले समाचारमा उल्लेख गरेको थियो । 

rajdhani-12-1706855963.JPG
 

राजधानीले पहिलो पृष्ठमा ‘श्री ५ को जोखिमपूर्ण कदम’ शीर्षकमा विशेष सम्पादकीय प्रकाशित गरेको थियो ।  विशेष सम्पादकीयको पहिलो वाक्यमा ज्ञानेन्द्रले राज्यसञ्चालनको कार्यकारी अधिकार आफ्नो हातमा लिएर ठूलो जोखिम उठाएको उल्लेख छ । 

“दलका नेताबाट विविध कमजोरी देखाइए पनि मुलुक बहुदलीय प्रजातन्त्रबाट कदापि विमुख हुन सक्तैन । जनतालाई अझै विश्वास छ, भोलि उनीहरूले चाहेजस्तो सबल, परिस्कृत र सक्षम दलहरुको विकास हुनेछ । 
१४ वर्ष लामो आरोह–अवरोहयुक्त अनुभव सँगालेका दलबाट हिजोका गल्ती पुनः दोहो¥याइने छैनन् । राजा र संसदीय दलहरुको एकतामा नै प्रजातन्त्रको पुनःस्थापना सम्भव छ,” राजधानीले विशेष सम्पादकीयमा लेखेको थियो । 

राजधानीले माघ २० गतेको अंकमा नै ‘प्रजातन्त्रको असफल अभ्यास’ शीर्षकमा सम्पादकीयसमेत प्रकाशित गरेको थियो । 

गोरखापत्र 

सरकारी मुखपत्र गोरखापत्रले माघ २० गतेको आफ्नो अंकको पहिलो पृष्ठमा विशेष सम्पादकीय सहित पाँचवटा समाचार सामाग्री प्रकाशित गरेको थियो । 

गोरखापत्रले ‘श्री ५ महाराजाधिराजबाट मन्त्रिपरिषद् विघटन’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गरेको थियो । समाचारमा ‘मौसुफकै अध्यक्षतामा मन्त्रिमण्डल बन्ने’, ‘बहुदलीय प्रजातन्त्रप्रति प्रतिवद्धता जाहेर’ जस्ता कुरा उल्लेख गरिएको थियो । 

gorakhapatra-1706855974.JPG
 

गोरखापत्रले उक्त दिन पहिलो पृष्ठमा प्रकाशित गरेका अन्य समाचार ‘अधिराज्यभर संकटकाल लागू,’ ‘शाही घोषणा संकट पार लगाउने सान्दर्भिक कदम’ र ‘हडताल गर्न निषेध’ शीर्षकमा रहेका थिए । 

गोरखापत्रले पहिलो पृष्ठमा प्रकाशित गरेको विशेष सम्पादकीयको शीर्षक ‘राष्ट्रहितमा ऐतिहासिक कदम’ थियो । गोरखापत्रको पहिलो पृष्ठमा प्रकाशित सबै समाचार सामग्री ज्ञानेन्द्रको कदमसँग सम्बन्धित थिए । 

माघ २० गते गोरखापत्रको पहिलो पृष्ठको पुछारमा दायाँतिर एउटा विज्ञापन छापिएको छ । 

विज्ञापन छपाउनेको नाममा हुलासचन्द गोल्छा तथा समस्त गोल्छा परिवार उल्लेख छ । विज्ञापनमा भनिएको छ, “मौसुफबाट संकटको यो घडीबाट मुलुकलाई पार लगाउन चालिबक्सेको यस ऐतिहासिक कदमप्रति सभक्ति कृतज्ञतासमेत चढाउन चाहन्छौं ।”

राजनीतज्ञहरू राजेश्वर देवकोटा, केशरबहादुर विष्ट र राधाकृष्ण मैनालीको विचारहरूलाई समेटेर गोरखापत्रले पहिलो पृष्ठमा ‘शाही घोषणा संकट पार लगाउने सान्दर्भिक कदम’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । 

‘राष्ट्रहितमा ऐतिहासिक कदम’ शीर्षकमा प्रकाशित विशेष सम्पादकीयको पहिलो वाक्यमा नै गोरखापत्रले ज्ञानेन्द्रको कदमलाई देश र देशबासीको हितका निम्ति उठाएको साहसिक, ऐतिहासिक र बुद्धिमत्तापूर्ण कदम भनि प्रशंसा गरेको थियो । 

ज्ञानेन्द्रको कदमबाट नेपाली जनतामा आशा एवम् उत्साहको सञ्चार भएको दाबीसमेत विशेष सम्पादकीयमा गरिएको थियो ।

“जनताका नाममा राजनीति गर्ने, जनताका प्रतिनिधि र हकवाला ठान्ने तर जनभावनाको सम्मान पटक्क नगर्ने अवसरवादी प्रवञ्चकहरुका कारण प्रवञ्चनाको पर्याय बन्न पुग्यो नेपाली राजनीति । यस अवधिमा केही दरिद्र व्यक्ति राजनीतिकै कारण करोडौंको सम्पत्तिका मालिक हुन पुगे । जनचाहना र राष्ट्रहितलाई बेवास्ता गरेर केही स्वार्थी तत्वको अहंकार तथा दुराग्रहलाई राजनीतिको लक्ष्य बनाउन खोजेर ठूलो भूल गरियो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अठोटलाई एकातिर पन्छाएर नेपालको स्वाधीनतामै आँच पुग्ने काम गरियो । यी सबै कारणले राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन श्री ५ बाट लोकसम्मति बमोजिम अत्यन्त सामयिक कदम उठाइबस्केको सत्य जगजाहेर छ,” गोरखापत्रले विशेष सम्पादकीयमा लेखेको थियो । 

हिमालय टाइम्स 

हिमालय टाइम्सले माघ २० गतेको अंकको पहिलो पृष्ठमा ९ वटा समाचार प्रकाशित गरेको छ, जसमध्ये एउटा विशेष सम्पादकीय छ । 

‘श्री  ५ बाट राजकीय सत्ताको प्रयोग, देउवा सरकार विघटन, मौसूफको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने’ शीर्षकमा व्यानर समाचार प्रकाशित गरेको थियो । 

हिमालय टाइम्सको पहिलो पृष्ठमा प्रकाशित अन्य समाचारमा ‘माओवादीलाई हतियार बुझाएर मूलप्रवाहमा समाहित हुन आह्वान,’ ‘अधिराज्यभर संकटकालीन आदेश जारी,’ ‘हड्ताल निषेध,’ ‘राजपरिषद् कृतज्ञता,’ ‘बानी परेपछि टेलिफोन अवरुद्ध हुँदा,’ ‘यहुदी परिवार फर्किने पहिलो सम्झौता,’ र ‘कुवेती सरकारविरुद्ध हमलाको धम्की’ शिर्षकमा रहेका थिए ।

हिमालय टाइम्सले विशेष सम्पादकीय भने ‘श्री ५ को घोषणा र जनअपेक्षा’ शीर्षकमा प्रकाशित गरेको थियो । 

himalayatimes-1706855992.JPG
 

माघ २० गते पहिलो पृष्ठमा प्रकाशित ९ वटा समाचारमा ७ वटा ज्ञानेन्द्रको कदमसँग सम्बन्धित थिए भने दुई वटा विदेशसँग सम्बन्धित थिए ।  शाही घोषणासम्बन्धी एउटाबाहेक सबै समाचार हिमालय टाइम्सका संवाददाताले तयार पारेका थिए । 

हिमालय टाइम्सले ‘बानी परेपछि टेलिफोन अवरुद्ध हुँदा’ शीर्षकको समाचार लेखेको थियो, “सञ्चारको सुविधाको अधिकतम् उपयोग गर्न बानी परिसकेका रजाधानीबासीहरु मंगलबार एक्कासि सञ्चारबिहीन हुनपुगे । इन्टरनेटबाट बजार सुविधाको खरिद गर्ने तयारीमा लागिसकेका राजधानीबासीहरु एक्कासि सञ्चारबिहीन हुन पुगे । अधिकांश इन्टरनेटको च्याटमा रमाउने युवायुवतीहरुलाई त मंगलबारको दिन बिताउन नै सास्ती भयो । दिनभर युवायुवतीको भीड लाग्ने साइबरहरू खाली देखिन्थे ।” 

हिमालय टाइम्सले माघ २० गते विशेष सम्पादकीयमार्फत ज्ञानेन्द्रको कदमको खुलेर स्वागत नगरे पनि सफल होस् भन्ने कामना गरेको छ । 

“विगतका सरकार दल र दलका नेताहरु कता कता जिम्मेवार हुन नसकेको जस्तो देखिएको अवस्थामा मौसूफबाट उठाइबक्सेको कदमलाई ठाडै अनुचित भनिहाल्ने अवस्था भने छैन । हो, यसबारेमा कुनै ठोस निष्कर्ष निकाल्न भविष्यका दिनहरुको केही प्रतिक्षा गर्नुपर्ने नै हुन्छ,” हिमालय टाइम्सले विशेष सम्पादकीयमा लेखेको थियो । 

द काठमाण्डु पोष्ट 

अंग्रेजी भाषाको दैनिक द काठमाण्डु पोष्टले राजाले प्रत्यक्ष शासन आफ्नो हातमा लिएको भोलिपल्ट पहिलो पृष्ठमा साना ठूला गरी जम्मा ६ वटा समाचार प्रकाशित गरेको थियो । पहिलो पृष्ठका ६ मध्ये तीनवटा समाचार राजाको कदमसँग सम्बिन्धित थिए । 

पहिलो पृष्ठमा प्रकाशित ज्ञानेन्द्रको कदमसँग सम्बन्धित तीनैवटा समाचार काठमाण्डु पोष्टका संवाददाताले लेखेका थिएनन् ।  काठमाण्डु पोष्टको पहिलो पृष्ठमा छापिएका राजाका कदमसँग सम्बन्धित तीनवटै समाचार राससका थिए । 

kathmandup-1706856109.JPG
 

प्रथम पृष्ठमा छापिएका अन्य तीन समाचार पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको थिए । 

काठमाण्डु पोष्टले पहिलो पृष्ठमा ६ कोलममा ‘राजाद्वारा देउवा सरकार विघटन’, दुई कोलममा ‘संकटकाल घोषणा’ र ४ कोलममा ‘शान्ति कायम गर्न सचिवहरूको बैठक’ तीन समाचार प्रकाशित गरेको थियो । 

माघ २० गते काठमाण्डु पोष्टले पूर्वी नेपालमा रहेका भूटानी शरणार्थीका सम्बन्धमा ‘सिरियस रिथिङ्किङ’ शीर्षकमा सम्पादकीय छापेको थियो । 

द राईजिङ नेपाल

सरकारको मुखपत्र द राइजिङ नेपालले २० गतेको अंकको पहिलो पृष्ठमा विशेष सम्पादकीय सहित चारवटा समाचार प्रकाशन गरेको थियो । प्रकाशित सबै समाचार राजाको कदमसँग सम्बन्धित थिए । 

प्रथम पृष्ठमा ‘राजाद्वारा देउवा सरकार विघटन’ शीर्षकमा व्यानर समाचार प्रकाशन गरेको छ । 

rising-Nepal-1706856008.JPG
 

अन्य समाचार ‘संकटकाल घोषणा’ र ‘१५ दिनमा जनताले परिवर्तनको आभाष पाउने’ शिर्षकमा प्रकाशित भएका थिए ।  द राईजिङ नेपालले पहिलो पृष्ठको बायातर्फ ‘ऐतिहासिक निर्णय’ शीर्षकमा विशेष सम्पादकीय प्रकाशन गरेको थियो । 

विशेष सम्पादकीयमा राजाले देउवा सरकार विघटन गरेर जनताको पक्षमा निर्णय लिएको उल्लेख गरिएको थियो । 

द हिमालयन टाइम्स

अंग्रेजी दैनिक द हिमालयन टाइम्सले माघ २० गतेको अंकको पहिलो पृष्ठमा पाँचवटा समाचार प्रकाशित गरेको थियो । प्रकाशित पाँचमध्ये ३ वटा राजाको कदमसँग सम्बन्धित थिए ।  द हिमालयन टाइम्सले पहिलो पृष्ठमा ‘देउवा मन्त्रिपरिषद् विघटन, राजाले सत्ता सम्हाले’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गरेको थियो । 

thehimalaya-1706856123.JPG
 

पहिलो पृष्ठमा प्रकाशित ज्ञानेन्द्रको कमदसँग सम्बन्धित अर्को समाचार ‘संकटकाल घोषणा, अधिकारहरू निलम्बन’ शीर्षकमा थियो ।  शाही घोषणापछि सार्क शिखर सम्मेलनमा सहभागी हुन राजा जाने सम्बन्धमा द हिमालयन टाइम्सले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro