site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१९ वर्षपछि माघ–१९ को धङधङी 

२०५९ असोज १८ पछिको कुरा हो । शेरबहादुर देउवा ‘असक्षम’ घोषित हुँदै प्रधानमन्त्रीबाट निकालिइसकेका थिए । 

राजाले छानेका व्यक्ति पालैपालो प्रधानमन्त्री हुँदै थिए । राजाका संवाद सचिव थिए, एकजना कार्की ।  उनले बेला बेलामा नारायणहिटी दरबार बोलाइरहन्थे । दरबारका अफिस पञ्चायतकालका सिंहदरबारका अफिसजस्ता थिए । 

थोत्रा टेबल, कुर्सी र खाल्डो परेको सोफा । संवाद सचिवको त्यस्तो कार्यालय देख्दा अचम्म लाग्थ्यो ।  संवाद सचिव पत्र–पत्रिकामा आएका कुराहरू मिहीन ढंगले हेर्थे र त्यसको व्याख्या गर्थे । 

Dabur Nepal

मूलतः राजनीतिक दलले सरकार ठीक ढंगले चलाएनन् भन्ने कुरा बारम्बार जताउन खोज्थे र यसमा पत्रिकाको समर्थन खोज्थे । हामी सरकारका गलत कार्यका समाचार बनाइ नै रहेका थियौं, तर उनी ‘व्यवस्था’ ठीक भएन भन्ने समाचार चाहन्थे, जुन कुरामा हामी असहमत थियौं । 

त्यसरी उनको कार्यालयमा जाँदा कहिल्यै एक्लै गइएन । तत्कालीन कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्ले साथै हुन्थे । यो लेखक त्यसबेला द काठमाडौं पोष्टको सम्पादक थियो । 

त्यसबीचमा राजनीतिका जानकारहरू संसारमा आएको लोकतन्त्रको माहोलका कारण राजा अघि बढ्न सक्दैनन् भन्ने तर्क गर्थे । 

२०१७ सालमा गरिए जस्तो ‘कू’ २०६१ मा हुन सक्दैन भन्थे । तर, राजाका नजिक ठानिएका तत्कालीन सञ्चार मन्त्री मोहमद मोहसिनले एकपल्ट सम्पादकहरूलाई बोलाएर अब राजाले अझ अघि बढेर शासन गर्ने अवस्था आएको जानकारी दिए । 

अरू सम्पादकहरूले यो विषयलाई ठूलो समाचार बनाएनन् । तर हामी दुई सम्पादकका लागि त्यो ठूलो समाचार थियो, ब्यानर समाचार बनाइयो । हुन पनि केही समयमै सो कुरा प्रमाणित नै भयो । २०६१ माघ १९ गते बिहान राजा ज्ञानेन्द्रले राष्ट्रको नाममा सम्बोधन गर्दै थिए, म घरमै बसेर सो सम्बोधन सुन्दै थिएँ । त्यतिकैमा घरको टेलिफोन बज्यो । उतापट्टी तिनै संवाद सचिव बोल्दै थिए । 

राजाले देशको जिम्मेवारी लिन लागेको बताउँदै अब केही छिनमा फोनहरू बन्द हुने जानकारी दिँदै सम्बोधन पछि यस विषयमा थप कुरा गर्न आउनुहोला भनेर नारायणहिटीमा बोलाए ।

कुराकानी केही थिएन । पहिला त्यति नरम ढंगले बोल्ने संवाद सचिव त्यसदिन आफू सेनाका कर्नेल हुँ भन्ने महसुस गराउँदै थिए । सीधा वाक्यमा भन्दा राजाले चालेको कदमलाई समर्थन नगरेमा ‘जे सुकै हुनसक्ने’ धम्की थियो । 

आफू पानीमाथिको ओभानो भएर खतराको सूचना दिँदैन भने, “अहिले सम्पूर्ण शक्ति सेनाको हातमा गएको छ र, उसले तपाईंहरूलाई बेपत्ता पारेको खण्डमा मैले पनि केही गर्न सक्दिन ।” 

वाग्ले र लेखक दुवैजना भर्खरै आफ्नो पेसाको उपल्लो पदमा पुगेका युवा सम्पादक थियौं । पुराना, खारिएका सम्पादकहरूको आँखामा कलिला र अधकल्चा केटा । यस्तो अवस्थामा पत्रिकालाई कसरी अघि बढाउने भन्ने न अनुभव थियो न कोही शिक्षक नै थिए । 

हामी दुवैलाई एक आपसमा यस्तो अवस्थामा खुट्टा कमाउन हुन्न भन्ने चेतना भएको महसुस भयो । हामी लोकतन्त्र पुनस्र्थापना हुनुपर्ने कुरामा दृढ थियौं र कुनै मौखिक वा लिखित सहमतिविना नै एक सशक्त टिम बनिसकेका थियौं ।

नारायणहिटीबाट त्यसबेला एयरपोर्ट जाने तिनकुनेनेर सुविधानगरमा रहेको कान्तिपुरको कार्यालयमा गयौं । पत्रिकाको अफिस सेनाको ब्यारेक जस्तो बनिसकेको थियो । सेनाकै चेकिङ, सेनाकै कप्तान र मेजर तहका अफिसरहरूले अह्राएअनुसार काम गर्नुपर्ने । 

यस्तो अप्ठेरो परिस्थितिमा कहिलेकाहीँ सानो अडानले पनि ठूलो भूमिका खेल्छ । तत्कालीन प्रबन्ध निर्देशक कैलाश सिरोहिया तथा निर्देशक विनोदराज ज्ञवाली एउटै कार्यकक्षमा बस्थे । उनीहरूको कार्यकक्षमा केही वरिष्ठ व्यक्तिहरू पनि जम्मा भएका थिए । 

त्यसमध्ये कसैले भन्यो, “सरकारले गरेको नराम्रो कुरा छँदैछ, तर राम्रा कुराहरूलाई स्थान दिँदै जाँदा सहज होला ।” 

म सधैं प्रतिक्रिया जनाउन अलि छिटो छु । मैले तुरुन्तै भने, “यदि सरकारले गरेको नराम्रो कामको विरोध गर्न पाइन्न भने कुनै पनि कामको समर्थन पनि गर्न सकिँदैन ।”  सिरोहिया र वाग्लेले मेरो कुरा समर्थन गरे, अनि सबैको यही लाइन भयो । 

प्रतिगमनको विरोध गर्न सेनाले नदिने, समर्थन हामी नगर्ने । अनि राजाले चालेको कदमको विरोध कसरी गर्ने भन्ने सोच भयो ? सम्पादकीय मार्फत् केही त भन्नै पर्थ्यो, तर के भन्ने ? त्यही बेला विचार आयो, अत्यन्त नगण्य विषयमा सम्पादकीय लेखिदिने, जसले गर्दा संसारलाई थाहा होस् कि यिनले राजाको कदमको विरोधमा यस्तो कार्य गरेका हुन् । 

त्यही सोचका कारण जन्मेको हो ‘मोजा’माथि सम्पादकीय । यस सम्पादकीयले नेपाली पत्रकारहरूले राजाको कदमको विरोध गर्ने उपाय अपनाए भन्नेकुरा विश्वभरि फैलाइदियो । 

अमेरिकाको प्रतिष्ठित दैनिक पत्रिका द न्युयोर्क टाइम्सले त सो सम्पादकीय हुबहु प्रकाशित गरिदियो । त्यसपश्चात् संसारभरिका प्रेस स्वतन्त्रताका हिमायतीका लागि द काठमाण्डौ पोष्टको छुट्टै पहिचान बन्यो । हामीले लेखेका कुराहरूमा विश्वको ध्यान आकृष्ट भयो ।

सुरुका केही दिन सेना, प्रहरी र प्रशासकहरूको तीक्ष्ण आँखा कान्तिपुरमा प्रकाशित समाचारमामात्र जान्थ्यो, त्यसैले नारायण वाग्लेले प्रहरी र प्रशासनको बोलावट अलि बढी नै पाउँथे ।  तर पछि दरबारमा राजाले काठमाडौं पोष्ट पढेर आफ्नो धारणा बनाउँछन् भन्ने चर्चा चल्यो । अनि नारायण सँगसँगै सीडीओ कार्यालय धाउने काममा यो लेखक पनि फस्यो । 

सुरूका दिनमा राजाको कदमको विरोधमा जनता सडकमा आएनन् । किनभने अहिलेजस्तै त्यसबेला पनि राजनीतिक दल अत्यन्त भ्रष्ट, असक्षम र आपसी कलहमा लिप्त छन् भन्ने सन्देश व्याप्त थियो । 

तर, विस्तारै जनताले बुझ्दै गए । राजनीतिक दलका नेतृत्व त परिवर्तन हुन सक्छन् तर राजतन्त्रले जरो गाड्यो भने जनताका खोसिएका अधिकार कहिल्यै स्थापित हुँदैनन् भन्ने कुरामा बलियो जन समर्थन आयो । 

२०६२ मंसिर ७ मा तत्कालीन सात लोकतान्त्रिक दल तथा माओवादीकाबीच लोकतन्त्र पुनःस्थापनका लागि संयुक्त आन्दोलन चलाउने सम्झौता पछि राजनीतिक गतिविधि विस्तारै बढेर गए ।  २०६२ चैत २४ बाट बढेको आन्दोलनले २०६३ वैशाख ११ मा लक्ष्य प्राप्त गर्‍यो ।

यसपश्चात दुई पल्ट संविधानसभाको निर्वाचन गरेर जनताले बनाएको संविधान २०७२ असोज ३ गते देखि लागू भयो । नेपाल एक लोकतान्त्रिक, गणतान्त्रिक, संघीय संविधानबाट चलिरहेको छ । यति हुँदा हुँदै पनि १९ वर्षपछि २०६१ माघ १९ को धङधङी किन आयो ? किनभने राजावादी दलहरू राजालाई पुनःस्थापना गर्ने आन्दोलनमा लागिपरेका छन् । अहिलेको ठूलो पुस्ताले निरंकुश पञ्चायत देखेन, भोगेन । 

र, त्यसबेलाको अत्याचार र अन्यायको कुरासम्म पनि सुनेन । पुरानो जमाना राम्रो थियो, राजाको शासन स्वर्णिमकाल थियो भन्नेहरू या त साह्रै अबुझ छन् या राजाको नाममा देश लुट्ने दाउमा लागेका भुईंफुट्टा जमात् हुन् ।

तर, यो दुवै समूहलाई के थाहा छैन भने जनताले पाएको अधिकार अब फिर्ता जाँदैन । यो अधिकार फिर्ता दिने अधिकार कसैसँग पनि छैन । 

आन्दोलनले तानाशाह, अधिनायक वा सेनाको मुठ्ठीबाट अधिकार फिर्ता लिन्छन् । तर, जनताको मतबाट सत्तामा आएकाले केवल निर्वाचनबाट आएका जन प्रतिनिधिलाई स्थान छाड्न सक्छ, आन्दोलनबाट आएकालाई छाड्ने कुनै बाटो हुँदैन । 

‘मैले श्रीपेच संरक्षणका लागि सरकारलाई बुझाएको थिएँ’ भन्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई शक्ति र राजनीतिको मोह भए निर्वाचनमार्फत् आएर मात्र शासन गर्ने कुर्सीमा पुग्न सक्छन् । अन्य कुनै विकल्प छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro