site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
पाँच वर्षसम्म किन पूरा भएन ओली हिराे भएको सिनेमा ‘रातो सूर्य’ ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच वर्ष भयो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको विषयमा सिनेमा बनाउन सुरु गरेको । ओलीको व्यक्तित्वलाई केन्द्रमा राखेर ‘रातो सूर्य’ नामक सिनेमा बनाउन थालेको पाँच वर्ष भएको हो । तर, अझै चलचित्रको छायांकन सकिएको छैन ।

निर्देशक दीपेन्द्र दाहालका अनुसार, कथाको ३० प्रतिशत काम बाँकी छ । “ड्रामाको काम अझै ३० प्रतिशत बाँकी छ । द्वन्द्वको काम सकिएको छ,” उनले बाह्रखरीसँग भने ।

भारतसँग जोडिएको केही विषयका कारण सिनेमाको काम रोकिएको बताइएको छ । सकेसम्म चलचित्रमा विवाद नहोस् भनेर केही समय लिइएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“केही नेताहरूले हतारमा भन्दा पनि टाइम लिएर काम गरौँ, यो इतिहास पनि हो भनेर भन्नुभयो । त्यसैले पनि केही ढिलो भएको हो,” दीपेन्द्र भन्छन् । ओलीनिकट नेताहरूले विवाद निम्तन सक्ने सम्भावित विषयमा हतार नगर्न सुझाव दिएका हुन् ।

ओलीले समय दिए चाँडै सिनेमाको काम पुनः सुरु हुने उनी बताउँछन् । “उहाँले नचाहनु भएको भन्ने होइन, समयको कुरा हो । उहाँ प्रधानमन्त्री हुँदा जति व्यस्त हुनुहुन्थ्यो, अहिले पनि त्यति नै व्यस्त हुनुहुन्छ,” ओलीले सिनेमालाई थप अगाडि बढाउन नचाहनुभएको हो ? भन्ने प्रश्नमा उनी स्पष्ट पार्छन्, “सरकारमा नभए पनि राजनीतिका हरेक कुरा उहाँमै गएर ठोक्किन्छन् । हरेक विषयमा उहाँको सक्रियताले समय दिन केही कठिनाइ भएको हो ।”

Global Ime bank

राष्ट्रियताको विषय ओलीसँग विशेष रूपमा जोडिने उनको बुझाइ छ । यो विषय सिनेमाको कथामा अटाउनुपर्ने भएकाले विशेष सल्लाह–सुझाव आवश्यक रहेको निर्देशक दीपेन्द्र बताउँछन् । यो जहिले पनि उत्तिकै सान्दर्भिक र महत्त्वको विषय भएकाले ओलीसँग समय लिएर बस्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

ओली जबरजस्त राष्ट्रवादी छवि बनाएका नेता हुन् । भारतले नेपालमा लगाएको नाकाबन्दीताका उनको निर्णय र अभिव्यक्तिका कारण धेरैले राष्ट्रवादी नेताका रूपमा चिन्छन् ।

“उहाँले विश्वास नै नगर्नु भएको भन्ने होइन । लामो समयको बसाइ, भेट र रिसर्चका क्रममा हाम्रो काममा उहाँले शंका गर्नु हुन्न । तर पनि कतिपय कुरा भेरिफाइ गर्नैैपर्ने हुन्छ,” दीपेन्द्र भन्छन् ।

चलचित्र ‘रातो सूर्य’मा निर्देशक दीपेन्द्रले एमाले अध्यक्ष ओलीलाई मुख्य भूमिकामा अभिनय गराइरहेका छन् । ‘रातो सूर्य’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको जीवनीमा आधारित चलचित्र हो ।

सिनेमाको आउट डोर सुटिङ करिबकरिब सकिएको उनले जानकारी दिए । ओली जेल बस्दाको सिनको छायांकन गर्न बाँकी छ । प्रधानमन्त्री हुँदाका मुख्य इभेन्टको छायांकन सकिएको दीपेन्द्रको भनाइ छ । 

“इभेन्टको छायांकन सबै सकिसक्यो । तराईको द्वन्द्वका कामहरू सकिएको छ । सिनेमाको छायांकनमा समय लिने आउट डोर सिनले हो । आउट डोर सिन सकिएकाले अब इन डोर सिन मात्रै हो,” उनी भन्छन्, “इन डोर मात्रै छायांकन हुने भएकाले अब १५/२० दिनमा सकिन्छ ।”

तर, कहिलेदेखि बाँकी छायांकन हुन्छ त्यो अनिश्चित रहेको निर्देशक दीपेन्द्र बताउँछन् । पार्टीको काम र ओलीको स्वास्थ्य अवस्थाका कारण ढिलाइ भइरहेको उनको भनाइ छ ।

एमाले अध्यक्ष ओली कलाकारिताका हिसाबले परिपक्व रहेको निर्देशक दीपेन्द्रको अनुभव छ । अभिनय गर्दै छु भनेर ओलीलाई अनुभूत नै नहुने उनको ठम्याइ छ ।

“उहाँलाई परिपक्व कलाकार भन्नुपर्छ । उहाँ छायांकन हुँदै छ भनेर आत्तिनु हुन्न । उहाँलाई क्यामेरा र क्यामेरा फेसको राम्रो ज्ञान छ,” निर्देशक दीपेन्द्र अगाडि थप्छन्, “कसरी क्यामेरामा प्रस्तुत हुनुपर्छ भन्ने उहाँलाई राम्रो ज्ञान छ ।”

कतिपय कलाकार क्यामेराको फ्रेममा रहेपछि आत्तिने गरेको भन्दै ओलीमा त्यो समस्या नरहेको उनी बताउँछन् । जे सिचुएसन हो त्यसमा आफूलाई सहजै ढाल्न सक्ने क्षमता ओलीमा रहेको दीपेन्द्रको अनुभव छ ।

छायांकनका क्रममा ओलीले विभिन्न ठाउँमा कुशलता प्रदर्शन गरेको दीपेन्द्र सुनाउँछन् । क्यामेराप्रति उनको ज्ञानका कारण आफूहरूलाई कठिनाइ नभएको दीपेन्द्रको भनाइ छ । 

“प्रधानमन्त्री हुँदा चलचित्रका लागि छायंकनमा उतार्न गाह्रो थियो । अहिले पनि स्वास्थ्य र पार्टीको कामले व्यस्त नै हुनुहुन्छ,” उनी भन्छन्, “प्रधानमन्त्री हुँदा दुईचार सटभन्दा बढी लिन सकिएको थिएन । प्रधानमन्त्री हुनुभन्दा अगाडि सहज थियो ।”

ओली प्रधानमन्त्रीको सुरक्षा घेरालाई तोडेर सुटिङमा जानु असाधारण रहेको उनी स्मरण गर्छन् । एकातिर सिनेमाका लागि पर्फेक्ट सट चाहिने, अर्कोतिर छायांकनको अनुभूत कसैले नगरोस् भन्ने नैतिक दबाबमा काम गरेको उनी सुनाउँछन् ।

हालसम्मको छायांकनमा कतिपय दृश्य चलचित्रका लागि भनेर ओलीकै कार्यक्रममा सहभागी धेरैले पत्तै पाएनन् । मुगुको राराताल पुगेर गरेको सम्बोधन चलचित्रको छायांकनका निम्ति भन्ने कुरा केही मानिसले मात्र थाहा पाए । काठमाडौंको माइतीघरमा ठूलो झन्डा फहर्‍याएको पनि छायांकनकै एउटा अंश भन्ने केहीले माात्र थाहा पाए ।

प्रधानमन्त्री भएका बेला पार्टीको मेची–महाकाली यात्राका क्रममा दमक, बिर्तामोड, सप्तरी, रौतहटलगायत थुप्रै सभाका सम्बोधन दीपेन्द्रले ‘रातो सूर्य’को क्यामेरामा कैद गरे ।

“केपी ओलीलाई तराईको शत्रु भन्ने हिसाबले प्रचार गरिएको थियो । त्यसमा उहाँ र एमालेलाई जति गाह्रो थियो, हामीलाई पनि त्यति नै कठिन थियो त्यहाँको सट लिन । तर पनि हामीलाई सट चाहिएको थियो । आवश्यक सट हामीले लियौँ,” दीपेन्द्र भन्छन् ।

सुटिङका क्रममा ‘रातो सूर्य’ युनिटलाई सहज थिएन । ‘थ्रेट’ आएपछि आफूहरू सुरक्षाका निम्ति अन्यत्र जानुपरेको उनी सुनाउँछन् । “त्यहाँ हामीलाई आक्रमण भएपछि पसन्तपुरमा आएर काम गर्‍यौँ,” उनले भने ।

सरकारी खर्चमा आफ्नो चलचित्रको छायांकन गराएको ओलीमाथि आरोप लगाइयो । तर, दीपेन्द्र यो स्वीकार गर्दैनन् । यसमा पार्टीको लगानी नरहेको भन्दै उनी निजी खर्चमा सिनेमा बनिरहेको बताउँछन् ।

“राजनीतिक दलको पूर्वनिर्धारित कार्यक्रममा हामीले हाम्रो सिनेमाको छायांकन युनिटलाई परिचालन गरेका हौँ । छायांकनकै लागि कार्यक्रम तय गरिएको भए सरकारी कोष दुरुपयोग गरेको ठहर्थ्यो होला । क्यामेरा मात्रै देखिन्थ्यो, अरूलाई थाहै हुँदैन थियो । तर, हामी हाम्रो काम निकाल्थ्यौँ,” उनी अगाडि थप्छन्, “यसमा पार्टीको होइन, निजी लगानी छ । व्यक्तिले लगानी गरेर बन्ने सिनेमा हो यो ।”

डेढ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने भन्दै दीपेन्द्रले ‘रातो सूर्य’को काम सुरु गरेका थिए । पाँच वर्ष भइसक्दा पनि छायांकन नसकिएकाले लगानी बढ्न सक्ने उनी बताउँछन् ।

‘रातो सूर्य’मा ओली ५० वर्षभन्दा माथिको उमेरमा आफैँले अभिनय गरिरहेका छन् । त्यसअगाडिको उमेरमा ओलीका रूपमा अनुपम शर्मा देखिनेछन् । अनुपमबाहेक टीका पहाडी, तुलसी घिमिरेलगायत कलाकार पनि चलचित्रमा देखिनेछन् ।

‘सुखानी’ सिनेमापछि दीपेन्द्रलाई केपी ओलीको जीवनीमा आधारित चलचित्र बनाउन मन लागेसँगै प्रस्ताव गरेका थिए । मदन भण्डारीको दुर्घटनामा आधारित चलचित्र ‘दासढुंगा’ बनाइएपछि दीपेन्द्रलाई केपी ओलीको राजनीतिक यात्रामा केन्द्रित रहेर सिनेमा बनाउन मन लागेको थियो ।

सुरुमा दीपेन्द्रलाई व्यस्त राजनीतिज्ञ ओलीको जीवन बुझ्न नै कठिन होला भन्ने लागेको थियो । जब ओलीसँग भेट बाक्लो बनाए, दीपेन्द्रले उनी सोचेभन्दा फरक पाए ।

“जति बेला मैले अध्यक्षज्यूलाई चलचित्रका लागि भेटिरहेको थिएँ, त्यति बेला उहाँ चारैतिरबाट घेराबन्दीमा पर्नुभएको थियो । घेराबन्दीमा परेको मान्छेले राष्ट्रका लागि के योगदान गर्न सक्छ भनेर हामी सोचिरहेका थियौँ । मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा घटनाको अघिल्लो रात उहाँले हामीलाई भन्नुभएको थियो– यो देशका लागि म जे पनि गर्न तयार छु,” दीपेन्द्र भन्छन्, “सप्तरी घटनाको दिन बिहान उहाँले ‘युवावयदेखि मृत्यु अँगालेर हिँडेको मान्छे हुँ, मलाई केही डर छैन’ भनेर हामीलाई ऊर्जा दिनुभयो ।”

‘लेटनाइट’ बसेर पढ्न रुचाउने भएकाले दीपेन्द्र ओलीसँग अबेर रातिसम्म बसेर छलफल गर्थे । बनाउँदै गरेको चलचित्रको महत्त्व र यसको योगदान के भनेर सकारात्मक र नकारात्मक पाटा खोतल्थे । ओलीका संघर्ष, प्राप्ति र परिणामका विषयबारे जिज्ञासा राख्थे ।

“समाज र जनतालाई यसले के योगदान दिन्छ भन्ने चिन्तन हुन्थ्यो,” दीपेन्द्र भन्छन् । तिनै छलफलबाट चलचित्र ‘रातो सूर्य’का लागि उनले कथा तयार गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC