काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीति पाउनका लागि नभएको बताएका छन् ।
शुक्रबार पार्टी स्थापनाको ७८औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले 'कांग्रेसभित्र अहिले मैले के पाएँ ?' भन्ने भाष्य तयार भएको बताए ।
उनले कांग्रेसमा विगतमा गरिएको निःस्वार्थ राजनीतिबारे अहिले बुझाउन जरुरी रहेको पनि बताए । उनले कांग्रेसको गौरवमय इतिहासलाई गौरवको स्थानमा राख्नुपर्ने बताए ।
"आज मैले पाइनँ, मैले पाइनँ, मैले के पाएँ ? भन्ने धेरै भाष्य तयार भएको छ कांग्रेसभित्र । तर, हिजो के पाउनका लागि होइन, के दिनका लागि हामी लडिरहेका थियौँ । हाम्रा अग्रज केका लागि लडिरहेका थिए ? यो कुरा स्मरण गर्न आवश्यक छ," उनले भने ।