site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मेनुकाले देख्न थालेको भनिएजस्तो प्रविधि विकास भइसकेको हो ? 

काठमाडौं । गायिका मेनुका पौडेल यतिबेला इन्डियन आइडलमा छिन् । उनी इन्डियन आइडलको जारी १४औं संस्करणको टप १० मा प्रवेश गरिसकेकी छन् । 

संगीतका सुरमा आफ्नो गायन कला भर्न माहिर मेनुकाले नेपालमा मात्रै होइन भारतीय संगीत र सिनेमा उद्योगमा पनि आफ्नो गायकीको छाप छोडिरहेकी छन् । उनको गायनको खुलेर प्रशंसा भइरहेको छ । स्वरले साथ दिए पनि मेनुकालाई आँखाको दृष्टिले भने धोका दियो । 

तर, यही समय भारतीय सञ्चारमाध्यमहरूले उनले थोरै भए पनि देख्न थालेको बताएका छन् । इन्डियन आइडलको मञ्चमै मेनुकाका आँखाको जाँच गरिएको देखाइएको थियो । त्यहीँबाट यो खबर प्रवाह भएको थियो । 

इन्डियन आइडलका अनुसार उनको आँखामा एक यस्तो डिभाइस राखिनेछ, जसले उनले लेखेको कुरा हेरेर पढ्न सक्नेछिन् । आफ्नो अगाडि आएको व्यक्ति को हो भनेर सेन्सरमार्फत् चिन्नेछिन् । भलै उनले सामान्य मान्छेले जस्तो देख्न भने सक्ने छैनन् । यसका लागि इन्डियन आइडलले सघाउने जनाइएको छ । 

भारतीय सञ्चारमाध्यमले दाबी गरेजस्तो जन्मजात दृष्टि गुमिसकेको व्यक्तिले देख्नसक्ने प्रविधि विकास भएको छ ?  

नेत्र विशेषज्ञ डा. सन्दुक रुइत त्यस्तो प्रविधिको विकास नभएको बताउँछन् । “अहिलेसम्म कुनै त्यस्तो डिभाइसको विकास भएजस्तो मलाई लाग्दैन । यदि त्यस्तो डिभाइस भएको भए थाहा हुनुपर्ने हो । तर अहिलेसम्म हाम्रो जानकारीमा आएको छैन,” डा. रुइत बाह्रखरीसँग भन्छन्, “यस्तो प्रविधिको विकास भएको भए अहिलेसम्म लाखौँले फाइदा लिइसक्थे । धेरै राम्रो पनि हुनेथियो ।” 

ओपन प्लेटफर्मबाट धेरै कुरा आइरहेको भन्दै सबै कुरामा सत्यमा नहुने उनी स्पष्ट पार्छन् । लो भिजन भएका व्यक्तिलाई एआई प्रविधिमार्फत त्यसमा न्यून मात्रामा भिजन एड गर्न सकिने भए पनि भिजन शून्य भएको अवस्थामा यसले पनि काम नगर्ने डा. रुइत बताउँछन् । 

तिलगंगा आँखा प्रतिष्ठानकी नानीरोग विशेषज्ञ डा. वन्दना खनाल पनि दाबी गरिएजस्तो प्रविधि प्रयोगमा आइसकेको आफूलाई जानकारी नएको बताउँछिन् । 

“कुनै पनि डिभाइसमार्फत् आँखाको ज्योति फर्किने भन्ने हुँदैन । जन्मजात नसा सुकेर गुमेको दृष्टि अहिलेसम्म कुनै पनि उपचारले फर्काउन सकेको छैन,” वन्दना बाह्रखरीसँग भन्छिन्, “सेन्सरमार्फत् थाहा थाहा पाउने वा देख्ने डिभाइसको अन्तर्राष्ट्रियस्तरमा ट्रायल भइरहेको सुनिएको छ । तर सफल भएर प्रयोगमा आएको सुनेको छैन ।” 

नसा प्रत्यारोपणमार्फत् दृष्टि फर्काउने प्रयास भए पनि हालसम्म सफल नभएको उनको भनाइ छ ।       

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro