site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राज्यका ठूला खरिद योजना होस् या ठूला विकासे परियोजना, जहाँ कमिसन–भ्रष्टाचार जोडिन्छ नै । पञ्चायतकालभरि त्यसबाट अनुचित लाभ लिनेमा राजपरिवार सदस्य, तिनका नातागोता र तिनैबाट संरक्षित कारोबारीहरूको नाम आउँथ्यो । राजाको अधिनायकत्वमा सञ्चालित त्यो व्यवस्थामा जब दरबार जोडिन्थ्यो, न अनुसन्धान हुन्थ्यो न कोही कारबाहीमा नै ।

त्यो कालमा दरबारमाथि जनताले प्रश्न उठाउनु भनेको ‘काल’ निम्त्याउनुसरह थियो । सँगै जति पनि काण्ड–प्रकरण आउँथे, कथा–किंवदन्तीमा सीमित हुन्थे ।

पञ्चायती व्यवस्थाको मध्यकालमा नेपाली ‘उच्च अधिकारी’ले कमिसन लिएको प्रकरण अमेरिकामा बहुचर्चित बन्न पुग्यो । घटना थियो, २०२९ सालमा नेपालले अमेरिकासँग पहिलोचोटि खरिद गरेको बोइङसम्बन्धी । अमेरिकी कम्पनीले कानुनविपरीत अनुचित तवरमा कमिसन बुझाएको प्रकरण सतहमा आयो ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी अदालतबाटै त्यसरी ‘कमिसन’ लिनेका हकमा ‘अनुसन्धान गरी कारबाही गर्नू’ भनी फाइल पठाइयो । जहाज खरिदको ६ वर्षपछि २०३५ साउनमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य ओमकारप्रसाद गौचनको अध्यक्षतामा जाँचबुझ आयोग बन्यो । त्यो विषय नेपालमै मात्र चर्चित भएको भए अनुसन्धानको नाटक पनि मञ्चन हुने थिएन ।

अमेरिकामै त्यो प्रकरण उठाइएको हुँदा छानबिनको नाटकसम्म मञ्चन भयो । तर, कसैमाथि ठोस कारबाही भएको मुलुकले चाल पाएन । धेरैलाई लागेको थियो, जहाजमा हुने ठूलै कमिसनमा दरबारिया पात्रहरूको संलग्नता भएको हुँदा कसैलाई कारबाही हुने छैन । तर, ती उच्च पदाधिकारी को हुन् भन्ने खुलेन । धेरैले ‘माथि’ देखाए, जनताले बुझे कि दरबारकै मानिस हुनुपर्छ ।  ठूला प्रकरणलाई चिसो तुल्याउन आयोग बनाउने नेपालको पुरानै प्रचलन हो ।

Global Ime bank

यतिखेर पञ्चायतकालीन ‘कारोबारी सिको’मा उद्यत हुँदै छन्, गणतन्त्रकालीन नेताका परिवारजन पनि । व्यापार–व्यवसायदेखि कमिसन एजेन्ट हुँदै गैरकानुनी धन्दामा राजनीतिक नेतृत्व वृत्तका पात्र र तिनका परिवारका सदस्यहरू जोडिने क्रम बाक्लिएको छ, जसरी पञ्चायतकालमा यस्ता कर्ममा राजपरिवारका सदस्य र नातागोता जोडिन्थे ।

संसदीय कालखण्ड र लोकतन्त्रकालमा शासनमा हैकम जमाएका ठूला नेताहरूका छोराछोरी कम मात्रै राजनीतिमा छन् । धेरैजसो बाबुआमाको शक्ति दुरुपयोग गर्ने उद्देश्यसहित कारोबारी बनेका छन् । कोही साझेदारी कम्पनी खोल्दै छन्, कोही  विकासे परियोजनाका कमिसन एजेन्ट बनेका छन् । अझ कोही त अवैध धन्दामा देखिएका छन् ।

पछिल्लो समय ‘भेप’, ‘ब्रेक सु’ सुनकाण्ड, नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता र नेतापुत्रहरूको संलग्नता हेर्दा जिब्रो टोक्नुपर्ने अवस्था छ । राजनीतिक नेतृत्वजन सुन तस्करीका पार्टनरदेखि मानव तस्करसम्मका नाइके बनिरहेका छन् ।

अनि, शीर्ष नेताहरू कुनै ठूलो विकासे परियोजनाको समर्थन या विरोधमा उत्रिएको खण्डमा बुझ्नुपर्छ कि तिनका छोराछोरी, नातेदार या संरक्षितको कुनै न कुनै रूपमा संलग्नता छ । तिनीहरू ‘आफ्ना’ले पाएको खण्डमा समर्थन गर्छन्, अरूले पाए विरोध । नेतृत्व वृत्त, मुलुकको हित–अहितभन्दा पनि आफ्नै लाभ–हानिको हिसाबमा छन् । तिनको बद्नियत चरित्रको अनुसन्धान नभएको मात्र हो ।

सत्ता गठबन्धनका प्रमुख हस्ती कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह केही समयअघि ‘स्यानेटरी प्याड’मा जोडिएका थिए । हालै सतहमा देखापरेको राइड सेयरिङ कम्पनी ‘टुटल’ विवादमा पनि उनको सेयर देखियो । अझ टुटलका संस्थापक शिक्षित भट्टलाई सेयर विवादमा पक्राउ गरी थुनामा पुर्‍याइयो । अदालतले ‘थुनाबाहिर राखी अनुसन्धान गर्नू’ भन्यो । सेयर विवाद प्रकरणमा सत्ताको अधिक प्रयोग गरी भट्टलाई थुनाइएको त होइन ? शक्तिको आडमा व्यापारिक सञ्जाल विस्तार गर्न खोजिएको त होइन ? यो सानो प्रकरणमा समेत शासकीय शक्ति व्यक्तिगत स्वार्थमा दुरुपयोग गरिएको आमआशंका छ ।

एमाले नेता ईश्वर पोखरेलका छोरा मेडिकलजन्य कारोबारमा संलग्न भएको तथ्य बाहिर आएकै हो, जतिखेर पोखरेल रक्षामन्त्री थिए । त्यसरी नै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री झलनाथ खनालपुत्रदेखि शक्तिशाली नेताहरू वामदेव गौतम, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वगृहमन्त्री रामबहादुर थापा, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका पुत्रहरू यसबीचका काण्डमा मुछिए ।

दृश्य हेर्दा शक्तिको दुरुपयोग गरी रातारात अनुचित तवरमा धनाढ्य बन्ने सोखले डरलाग्दो विकृति भित्र्याउन खोजेको देखाउँदै छ । यही ‘खराब सिको’मा नेतापुत्रहरूबीच प्रतिस्पर्धा हुने परिदृश्य मञ्चन हुँदै छ । तिनीहरूबीच अवैध धनका लागि भएको प्रतिस्पर्धा हेर्दा कुनै बेला बहुचर्चित इटालीको माफियाकरण बिर्साउने हुन् कि भन्ने भान पार्दै छन् ।

राजनीतिक पात्रहरू विलासी जीवनशैलीमा छन् । तिनको अमिल्दो र अस्वाभाविक विलासी जीवनशैलीका कारण भ्रष्टाचार, कमिसन, अवैध कारोबारमा संलग्नता र संरक्षण नै हो भन्दा कुनै अत्युक्ति हुँदैन । केवल तिनको सम्पत्तिको अनुसन्धान नभएको मात्रै हो । राजनीतिक वृत्तका पात्रहरू ‘नवअभिजात्य वर्ग’मा उदाउनुको एउटै कारण हो, शक्तिको दुरुपयोग गरी अथाह आर्जन गर्ने रणनीति बनाउनु ।

शासकीय वृत्तका पात्रका परिवारका सदस्य व्यापार–व्यवसाय, कारोबारी, कमिसन एजेन्ट बन्दा राज्यले अथाह धन गुमाउनुपर्नेछ । तिनले बाबुआमाको पद–पहुँचको दुरुपयोग गरी अनुचित लाभ हासिल गर्नेछन् । शासकीय वृत्तका पात्रहरूका परिवारजनका भ्रष्ट र कारोबारी मतिमा समयमै प्रश्न उठाउँदै अनुसन्धानको दायरामै नपुर्‍याउने हो भने यिनले इटलीको माफियाकरण बिर्साउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement