site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौं । विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यार्थी नेताहरूले संशोधन प्रस्ताव गरेका हुन् ।

उनीहरूले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र उच्च शिक्षासम्म निःशुल्क हुनुपर्नेमा जोड दिए । विद्यार्थी नेताले सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता पनि आफूहरूले नमान्ने बताए । शिक्षक नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने उनीहरूले उल्लेख गरे ।

हाल कार्यरत शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्न नहुनेमा विद्यार्थी संगठनले जोड दिएका छन् । शिक्षा क्षेत्रमा राज्यले कुल बजेटको २० प्रतिशत रकम अनिवार्य रूपमा लगानी गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, सरकारी सेवा, सुविधा लिने व्यक्तिका सन्तान अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने विषय विधेयकमै समावेश गर्नुपर्नेमा विद्यार्थी नेताले जोड दिए ।

बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले अस्थायी र करार शिक्षकसँग गरेको सम्झौता मान्य नहुने बताए । शिक्षक नियुक्ति गर्दा खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने उनले उल्लेख गरे ।

उनले सीटीईभीटीको अनुदान नघटाउन आग्रह गरे । कक्षा–११ र १२ मा दिइने अनुदान पनि बढाउन उनले अनुरोध गरे ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडालले समाजवादउन्मुख राज्य व्यवस्थालाई साकार पार्ने गरी विधेयक नआएको बताए । विधेयकको उद्देश्य समेत स्पष्ट नभएको भन्दै उनले प्रस्तावनामै संशोधन गर्न आवश्यक रहेको औँल्याए ।

विधेयकले निजी र सार्वजनिक गरी दुई प्रकारको शिक्षण संस्थाको व्यवस्था गरेको भन्दै विद्यालय शिक्षामा निजी लगानी बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विधेयक निजी विद्यालयको ‘सिन्डिकेट’ कायम हुने गरी आएको बताइन् । विधेयकले शिक्षामा भइरहेको दोहोरो मापदण्डलाई भत्काउन नसकेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro