काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति उमेदवार चयन गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा केही बेरपछि बस्ने बोर्ड बैठकबाट उमेदवारको नाम टुंगो लगाउने तयारी छ ।
तर, आफूहरूले सम्मानजनक ‘भाग’ नपाए निर्णय प्रक्रियामा सहभागी नहुने संस्थापनइतर समूहका नेताले बताएका छन् ।
सो समूहनिकट पार्टी पदाधिकारी जीवन परियारका अनुसार, राष्ट्रियसभामा चार सिट पाउनुपर्ने समूहको माग छ । बोर्ड बैठकमा उक्त कुरा राख्ने र सो संख्यामा सिट नपाए निर्णय प्रक्रियामा सहभागी नहुने उनले जानकारी दिए ।
“हामी स्पष्ट कुरा राख्छौँ । त्यसपछि बाँकी उहाँहरूले के गर्नुहुन्छ हेरौँला,” उनले बाह्रखरीसित भने ।
आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।