काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्लाहीको बरहथवा घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले घटनासँग सम्बन्धित सबैलाई जवाफदेही बनाउन पनि माग गरेका छन् ।
बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।
सभापति लामिछानेले गोली प्रहार गर्ने नेतृत्वलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।
“...लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आमजनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनैपर्छ,” उनले लेखेका छन् ।
उनले पीडित पक्षलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
ललितपुरको बालकुमारीमा युवाहरूले गरेकाे प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न… pic.twitter.com/pEFOHnxRtX
— Rabi Lamichhane (@hamrorabi) January 6, 2024