site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
विश्वकर्मा पार्क र म

डिसेम्बर १५, २०२२ । सोमबजार, सेक्टर ५, रोहिणी तेस्रो तला ।

बेचैन र भारी मन । धुलैधुलोले भरिएको पूर्व फर्केको बरन्डाबाट रोडपारि विश्वकर्मा पार्कमा नेपाली वेशभूषामा रहेका मान्छेहरूको चहलपहल देखिएको छ । यो मनले त्यतै जाने अनुमति माग्दै छ ।

फलैँचामा बसेका केही नेपालीहरूसँगको भेट । ‘नमस्कार !’ म सुरुआत गर्दछु ।

Dabur Nepal
NIC Asia

‘ओहो, नयाँ हुनुहुँदो रहेछ ! के कसो कारणले आउनुभयो ? कहिले आउनुभयो ?’ मेरा बारेमा सोधीखोजी भयो । मैले आफ्नो बारेमा सारा बताएँ ।

‘आफ्नो सबै काम सक्नुभएछ, अब रमाइलो गर्ने बेलामा रोग लागेर दुःख पाउने हुनुभएछ ।’ प्रतिक्रिया आयो ।

यसैमा सहानुभूतिसहित थपिँदै छ— अझ अर्को नानीको त बालबच्चा पनि ससाना छन् । यस्तै हो, उहाँ पनि केही समयदेखि यतै बसेर उपचार गराइरहनुभएको छ ।

पार्कमा केही बिरामी र कुरुवाहरूसित चिनजान भयो । उहाँहरूबारे पनि जानकारी लिने प्रयास गरेँ । विभिन्न उमेर अनि समूहका महिलापुरुषहरूसित चिनाजानी भयो ।

म पनि विस्तारै रिपोर्टअनुसार उपचारमा जुट्न थालेँ । पहिलो मिनिसर्जरीसहित पहिलो किमोबाट नयाँ पीडाको अनुभव सँगाल्न थालेँ । नयाँ परिवेश, अव्यवस्थित बास, तथापि दैनिकी सहज बनाउँदै थिएँ ।

केही दिनपश्चात् विस्तारै शारीरिक रूपमा आफूलाई सक्रिय बनाउन थालेँ ।

सोमबारको दिन । सोमबजारमा बिहानको २ बजेसम्म पनि रात परेको थिएन ! सोमबजारको हल्लाखल्लामा शारीरिक पीडा र मानसिक तनाव बोकेर केही दिन निदाउन कठिन भयो ।

केही दिनपछि सोही बरन्डाबाट पूर्वतिर रहेको पार्कमा थोरबहुत नेपालीहरूको चहलपहल देखेर यो मन अलिकति पुलकित भयो । रोमरोम रमायो । साँझमा विस्तारै त्यहाँ जाने आँट गरेँ । सबैसँगको भेटघाटले एक्लोपनलाई थोरै भए पनि बिर्साउन मद्दत मिल्यो ।

यो क्रमलाई केही दिन निरन्तरता दिने प्रयास गरेँ । नयाँ साथीहरूसँग सम्पर्क बढ्दै गयो । मेरा छोराछोरीको उमेरका योद्धाहरू (नेत्र, राजेश, यशोदा, सरू, सरस्वती)का साथै अरू भाइबहिनीहरू देख्दा म आफ्नो अवस्था बिर्सिन्छु । मिल्ने भए मैले आफ्नो उपचार पनि उनीहरूलाई नै दिने थिएँ ।

उनीहरूमध्ये कोही आफ्ना सबै पीडा लुकाएर हँसिला देखिन्छन् । कोही अलिक बढी नै निराश देखिन्छन् । सबैका आआफ्नै अनुभव छन्, जुन एकापसमा साटासाट हुँदै छन् । अरूका अनुभवहरूबाट पनि केही सिकिँदै छ ।

सबैजसो किमोको पहिलो हप्ता छोडेर बाँकी दिन बिताउन साँझबिहान पार्कमा जम्मा हुन्छन् । मानौँ, यो सबैको दैनिकी हो । जाडोमा घाम ताप्ने र गर्मीमा छहारीको शीतलता खोज्ने स्थान बन्दै छ । यसरी हामी सबैको दैनिकी बन्न थाल्यो, यो स्थान ।

मेरो नियमित दिनचर्या बन्यो यो । परिवारमा सबैजना हुँदा पनि साँझबिहान पार्कमा नगई मनले चैन नपाउने स्थिति सिर्जना भयो । यो मेरा लागि मात्रै नभएर नेपालका ७७ जिल्लाबाटै उपचारका लागि आउने र तिनका आफन्तजन, सहयोगी समस्तलाई सम्भवतः यस्तै अनुभव हुन्छ । मानौँ, यो पार्क हाम्रा लागि एउटा रिह्याब सेन्टर बन्दै छ ।

रोहिणी सोमबजार भारतको उत्तर पश्चिम भागमा रहेको पुरानो सहर हो ।  राजीव गान्धी अस्पताल यहाँबाट निकै नजिक छ । त्यसैले पनि यो नेपालबाट आउनेहरूको रोजाइमा पर्छ । हेर्दा यो फोहर, अव्यवस्थित भए तापनि त्यहाँको स्थानीय सरकारले गरेको योजना भने हाम्रा सहरको दाँजोमा प्रसंशनीय नै छ भन्नु अनुपयुक्त नहोला ।

सानासाना बस्तीहरूमा ब्लक बनाई बीचमा राखिएका पार्कहरूले सकारात्मक छनक दिन्छन् । यद्यपि, पालिकाले समयसमयमा सरसफाइ गरेर जिम्मेवारी निर्वाह गरेता पनि सडकमा छाडिएका गाई, कुकुरको लर्को अनि तिनका लागि दिइने खानेकुराले सडक तुरुन्तै फोहर पार्छ ।

जस्तोसुकै भए पनि यो पार्क स्कुले बच्चाहरूका लगि क्रीडास्थल बनेको छ भने पार्कमा राखिएको खुला जिमखाना अर्को एउटा उपयोगी पाटो भएको छ । स्थानीय बासिन्दाका लागि जम्मा हुने थलो पनि हो यो । बिहान र साँझ शरीर तन्दुरुस्त राख्न खोज्नेहरूका लगि हिँड्डुल गर्ने पदमार्ग पनि हो ।

an-1704520807.jpg
 

नेपालबाट क्यान्सर पत्तो लागेर वा नेपालमै उपचार गर्दागर्दै हार खाएर थप उपचार गर्न आउनेहरूका लगि एउटा रिह्याबिलिटेसन सेन्टर हो भन्न मन लाग्छ मलाई । मेरा लागि यो एउटा सामाजिकीकरण हुने स्थान पनि हो । 

सोमबजारका अधिकांश पार्कहरूमा क्यान्सर रोग लागेका नेपाली योद्धाहरू भेटिन्छन् । तिनले कम्तीमा पनि ६ महिनादेखि एक वर्षसम्मकोे बसाइमा उपचार गराउँदै आएका छन् ।

उपचारका लागि बस्ने कोठाहरू कुनै पनि हिसाबबाट स्वस्थकर देखिँदैनन् ।  नेपालीहरू त्यहाँ दैनिक भारु ५०० देखि १,५०० सम्म तिरेर दिउँसै बत्ती बाल्नुपर्ने अँध्यारा र हावा खेल्न नपाउने गुम्सिएका कोठाहरूमा बस्न बाध्य छन् ।

यसअर्थमा सोमबजारको सम्पूर्ण अर्थतन्त्र नेपालीहरूबाटै चलेको छ भन्दा अतिरञ्जना हुँदैन होला । त्यति मात्रै होइन, सरसर्ती हेर्दा राजीव गान्धी अस्पतालको अर्थतन्त्रको ठूलो हिस्सा नेपालीले धानेको प्रस्ट देखिन्छ ।

सायद नेपालीहरू राजीव गान्धी नजाने हो भने सोमबजारका अधिकांश घरहरू खाली नै रहने र त्यहाँको व्यापार चौपट हुने अनुमान गर्न सकिन्छ ।

जीवन बचाउने आशामा हामी नेपाली महँगो उपचार भए पनि राजीव गान्धी अस्पताल पुग्न बाध्य छौँ । हुन त नेपालमै पनि उपचार नहुने होइन । हामीकहाँ भएका डाक्टरहरूलाई असक्षम भन्न पनि मिल्दैन । धेरथोर सफलता असफलता सबैमा हुन्छ ।

यद्यपि, कुरा डाक्टरको मात्र होइन । उपचारसित थुप्रै पाटाहरू जोडिने गर्छ । सबै कुरालाई मध्यनजर गर्दै सरकारी तथा गैरसरकारीस्तरका हाम्रा अस्पतालले उपचार प्रविधि तथा स्तरलाई बढाउन सके स्वास्थ्योपचारका नाममा विदेशिने मुद्रा जोगिने निश्चित थियो ।

यसका लागि देशभित्रका अस्पतालहरूले विश्वास दिलाउनु जरुरी छ । स्तरोन्नतिको लागि आवश्यक पाइला चाल्न सके यो असम्भव पक्कै छैन । यसका लागि सरकारले पनि विशेष कदम चाल्नु आवश्यक देखिन्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro