
बीबीसी । विश्वले पछिल्लो दुई वर्षमा दुई ठूला युद्ध देखिसकेको छ । पहिलो रुस र युक्रेन, दोस्रो इजरायल र हमासबीचको युद्ध । यी दुवै युद्ध जारी छन् । अन्त्य कहिले हुन्छ, युद्धरत पक्षलाई नै थाहा छैन ।
दुईमध्ये एउटा युद्ध युरोप (रुस–युक्रेन) र अर्को युद्ध पश्चिम एसिया (इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमास) मा भइरेको छ ।
दुई ठूला युद्ध चलिरहेका बेला यतिखेर तेस्रो युद्ध सुरु हुन लागेको सिग्नल आउन थालेका छन् । तेस्रो युद्ध अर्को महादेश दक्षिण अमेरिकामा हुने सम्भावना बढ्दै गएको छ ।
ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला र गुयानाबीचको तनाव बढ्दै गए छिट्टै यसले युद्धको रूप लिने अनुमान धेरैको छ ।
यसै महिनाको सुरुवातमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले जनमत संग्रह गराएका थिए । जनमत संग्रहपछि उनले छिमेकी राष्ट्र गुयानाको एसेकिबो क्षेत्रलाई भेनेजुएलामा विलय गराउने अधिकार प्राप्त भएको घोषणा गरेका थिए ।
यो दुई सय वर्ष पुरानो भूमि विवादमा आएको नयाँ मोड हो । यसमा एकतर्फ तीन करोड जनसंख्या भएको विशाल देश भेनेजुएला छ भने अर्कोतर्फ आठ लाख जनसंख्या भएको गुयाना छ ।
मादुरोले एसेकिबो क्षेत्रलाई भेनेजुएलामा विलय गराउने घोषणा गरेलगत्तै गुयानाले आफ्नो जमिनको रक्षा अन्तिम क्षणसम्म गर्ने र यसका लागि जस्तोसुकै कदम उठाउन पछि नपर्ने चेतावनी दिइसकेको छ ।
भेनेजुएला र गुयानाबीच तनाव बढिरहँदा अन्य छिमेकी र विश्वका अन्य देशले राष्ट्रपति मादुरोलाई आक्रामक कदम नउठाउन अनुरोध गरेका छन् । तर, मादुरोले अन्तर्राष्ट्रिय समुदायको अपिललाई नजरअन्दाज गर्दै आएका छन् ।
एसेकिबो क्षेत्र
एसेकिबो क्षेत्र गुयानाको दुई तिहाइ क्षेत्रमा फैलिएको छ । यो क्षेत्रको क्षेत्रफल अमेरिकाको फ्लोरिडा राज्य बराबर छ । पहाडी वर्षा वनले ढाकेको यो क्षेत्र भेनेजुएलासँग जोडिएको छ, जुन दुई सय वर्षदेखि विवादमा पर्दै आएको छ ।
“यो विवाद उपनिवेशकालदेखि सुरु भएको हो । स्पेनको उपनिवेशीले एसेकिबो क्षेत्रलाई कब्जा गरेको कुनै रेकर्ड भेटिँदैन । तर, तिनको नक्सामा भेनेजुएलाकाका जलसेना प्रमुख एसेकिबो नदीसम्म पुगेको देखाइएको छ । यसैलाई आधार बनाएर भेनेजुएलाले एसेकिबो क्षेत्रमाथि दाबी गरेको हो,” इन्टरनेसनल क्राइसिस समूहका वरिष्ठ विश्लेषक फिल गनसनले भने ।
सैद्धान्तिकरूपमा यो विवाद सन् १८९९ मा हल गरिएको थियो । पेरिसमा पाँच सदस्यीय अन्तर्राष्ट्रिय न्यायाधीशसले यसमाथि फैसला सुनाएका थिए । उक्त इजलासमा दुई बेलायती, दुई अमेरिकी र एक रुसी न्यायाधीश सामेल थिए । यी पाँचजना न्यायाधीशले एसेकिबो क्षेत्रको स्वामित्व ब्रिटिश गुयानालाई जिम्मा लगाएका थिए । भेनेजुएलालाई केही दिइएन ।
उक्त समय असन्तुष्ट भए पनि भेनेजुएलाले निर्णय स्वीकारेको थियो । तर, पछि भेनेजुएलाई के लाग्यो भने– अन्तर्राष्ट्रिय न्यायाधीशहरू आपसमा मिलेर उसलाई उसको अधिबारबाट वञ्चित गरे । सन् १९४९ मा अदालतका एक अधिकारीले तयार पारेको सम्झौता बाहिर आएपछि भेनेजुएलालाई आफ्नो शंका सही भएको लाग्यो ।
फिल गनसनले भने, “सम्झौताको मस्यौदामा लेखिएको थियो, बेलायती र रुसी न्यायाधीश मिलेर अमेरिकी न्यायाधीशसमक्ष प्रस्ताव राखे । यदि प्रस्ताव स्वीकार नगरे फैसला अझ प्रतिकूल बनाइने छ ।”
उक्त सम्झौता बाहिर आउनबित्तिकै भेनेजुएलाले कडा आपत्ति जनायो । फिल गनसनले थप स्पष्ट पारे, “भेनेजुएलाले फैसलालाई चुनौती दियो र संयुक्त राष्ट्रसँग गुहार माग्यो । तर, उपलब्धि हात परेन । अन्ततः सन् १९६६ मा जेनेभा सम्झौता भयो । आज पनि राष्ट्रपति मादुरोको यही माग छ कि यस विवादको समाधान त्यही अदालबाट होस् ।”
त्यससमय गुयाना स्वतन्त्र हुने क्रममा थियो । भेनेजुएलासँग एसेकिबो मुद्दामा कुनै सम्झौता हुन पाएन । जब ह्युगो चाभेज सन् १९९९ मा भेनेजुएलाको राष्ट्रपति बने, तब उनी यो मुद्दाबाट पछि हटे । आफ्ना सहयोगी तथा क्युबाका नेता फिडेल क्यास्ट्रोको सल्लाहमा उनले उक्त निर्णय लिएको धेरैको बुझाई छ ।
फिल गनसनका अनुसार, क्यास्ट्रोले चाभेजको सामु एउटा प्रस्ताव राखेका थिए । प्रस्ताव थियो, यदि क्यारेबियन तथा अन्य राष्ट्रको समर्थन चाहिन्छ भने एसेकिबोमाथिको आफ्नो दाबी छाड्नुपर्छ ।
तर, मादुरो भेनेजुएलाको सत्तामा आएको दुई वर्षपछि सन् २०१५ मा गुयानाको एसेकिबो तटनजिक पानी मुनि तेल भण्डारको खोजी सुरु भयो । यसैले अवस्था बदल्यो । भेनेजुएलाका लागि एसेकिबोको महत्त्व बढ्यो ।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको सिफारिसमा यो मामिला हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा पुग्यो । तर, भेनेजुएलाले यो मामिला अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकारभित्र नपर्ने दाबी गर्दै आएको छ ।
भेनेजुएला अन्तर्राष्ट्रिय अदालतको किन विरोध गर्दै छ त ?
फिल गनसनको भनाइ छ, “एउटा कारण अन्तर्राष्ट्रिय अदालतमा आफ्नो हार हुने बुझाइ भेनेजुएलाको छ । मलाई लाग्छ, भेजेजुएला यो मुद्दालाई अहिले नै समाधान गर्न चाहँदैन । किनभने यसको बलमा देशको घरेलु राजनीतिमा राष्ट्रवादी भावना जगाउन सकिन्छ । निकोलस मादुरोको क्रियाकलाप हेर्दा यस्तै लाग्छ ।”
भेनेजुएलाले यस मामिलामा आगामी कदम के उठाउँछ भन्ने एक व्यक्तिमा निर्भर छ । ती हुन्– राष्ट्रपति निकोलस मादुरो ।
राष्ट्रपति निकोलस मादुरो
न्यूयोर्क विश्वविद्यालयका आधुनिक ल्याटिन अमेरिकी इतिहासका प्राध्यापक अलेग्जान्ड्रो वेलेस्कोका अनुसार पूर्वराष्ट्रपति ह्युगो चाभेजले निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारी बनाएका थिए । तर, मादुरो जनताबीचमा चाभेज जस्तो लोकप्रिय थिएनन् ।
“मादुरोले एकदमै सानो अन्तरले चुनाव जितेका थिए । सत्तामा रहिरहन उनले लोकतान्त्रिक मूल्य मान्यताको बली चढाइदिए । विरोध प्रदर्शन दबाए र फर्जी चुनवा गरे,” वेलेस्कोको बुझाइ छ ।
मादुरोसँग स्पष्ट राजनीतिक विचारधारा नभएको बुझाइ वेलेस्कोको छ । उनी थप स्पष्ट पार्छन्, “उनी चाभेजका उत्तराधिकारी हुन् र समाजवादी पार्टीका सदस्य हुन् । तर, उनको नीतिमा विरोधाभास देखिन्छ । उनी एकातर्फ अमेरिकी साम्राज्यवादको विरोध गर्छन्, अर्कोतर्फ विभिन्न स्थानमा साम्राज्यवादको समर्थन गर्न पनि हिच्किचाउँदैनन् । एकातर्फ उनी डलरमा आधारित अर्थव्यवस्थाको विरोध गर्छन्, अर्कोतर्फ उनले भेनेजुएलाको अर्थव्यवस्थालाई डलरमा आधारित बनाएका छन् ।”
पछिल्लो १० वर्षमा भेनेजुएलाको अर्थव्यवस्था यति कमजोर भएको छ, यसअघि ल्याटिन अमेरिकाको इतिहासमा कहिल्यै भएको थिएन । महँगीले आकास छोएको छ । महँगीको दर दुई हाजर प्रतिशतसम्म पुगेको छ । बिजुली उत्पादन व्यवस्था ठप्प हुने अवस्थामा छ । हरेक दिन विद्युत् कटौती हुन्छ । खाद्य सामाग्रीदेखि औषधीसम्म आयात भइरहेको छ । महँगीसँग जुध्न नसकेर पछिल्लो १० वर्षमा ७० लाखभन्दा बढीले देश छाडेका छन् ।
वेलेस्कोका अनुसार अर्थव्यवस्था कमजोर हुनुको एउटा कारण भेनेजुएलाको तेल निर्यातमा अत्यधिक निर्भरता बढ्नु हो ।
“तेल उद्योगको अव्यवस्थाका कारण भेनेजुएलाको अर्थतन्त्र ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि तेलको मूल्य घटेको छ । दोस्रो कारण अमेरिकाले भेनेजुएलाविरुद्ध धेरै प्रतिबन्धहरू लगाएको छ,” वेलेस्कोको भनाइ छ ।
यही कारण भेनेजुएलाले एसेकिबोमा तेल भण्डारको खोजी गरेपछि आफ्नो पुरानो दाबीलाई फेरि एकपटक अगाडि सारेको हो । एसेकिबोलाई लिएर देशमा जनमत संग्रह गर्नुको कारण पनि यही थियो । जनमत संग्रहमा जनतालाई पाँचवटा प्रश्न गरिएको थियो, जसको जवाफ ‘पर्छ’ वा ‘पर्दैन’ मा दिनुपर्थ्यो ।
जनतालाई सोधिएको थियो– के एसेकिबो विवाद अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकारभित्र पर्छ ? के एसेकिबो एक नयाँ राज्यको रूपमा भेनेजुएलामा विलय हुनुपर्छ ?
जनमत संग्रहमा ९५ प्रतिशत जनताले सबै प्रश्नको जवाफ ‘हो’ मा दिएका थिए ।
जनमत संग्रहको नतिजाले आफू आश्चर्यमा नपरेको वेलेस्को बताउँछन् । किनभने एसेकिबो एउटा यस्तो मुद्दा हो, जसले भेनेजुएलाका सबै विचारधारलाई एकै ठाउँमा उभिन बाध्य पार्थ्यो । अब हेर्न बाँकी यो छ– भेनेजुएलाले कस्तो कदम चाल्छ र त्यसको जवाफमा अन्तर्राष्ट्रिय समुदायले कस्तो कारबाही गर्छ ।
भेनेजुएला र गुयानाको मित्रता
लन्डनस्थित वरिष्ठ अनुसन्धानकर्ता डाक्टर क्रिस्टोफ सबातिनीका अनुसार आठ लाख जनसंख्या भएको गुयानामा ११ अर्ब ब्यारेल तेलको भण्डार फेला परेको छ । यो तेल भण्डारले गुयानाको भाग्य फेरिदिएको छ ।
“सन् २०२० मा गुयानाको जीडीपी ८० प्रतिशतले वृद्धि भएको थियो । यो विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दै गरेको अर्थव्यवस्था हो । देशको ढुकुटीमा पैसा आइरहेको छ । तर, जनता यो पनि सोचिरहेका छन् कि यो पैसा कहाँ खर्च हुन्छ,” डा. सबातिनीले भने ।
यो धन कहाँ खर्च गर्ने भन्ने फैसला गुयानाका राष्ट्रपति इरफान अलीले गर्ने छन् । तर, यतिखेर उनको ध्यान भने भेनेजुएलाको सामना कसरी गर्ने भन्नेमा छ । उनी सन् २०२० मा सम्पन्न विवादास्पद चुनावबाट सत्तामा आएका हुन् ।
पूर्वराष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि गुयानामा चुनाव भएको थियो । उनले सुरुमा चुनावको नतिजा अस्वीकार गरेका थिए । चुनवाको केही हप्तापछि उनी सत्ताबाट बाहिरिए । तर, दुई प्रमुख राजनीतिक पार्टीबीच मतभेद कायम छ । यसले गुयानाको जातीय समीकरणमा पनि असर गरिरहेको छ ।
सत्तारूढ पार्टीको झुकाव अफ्रिकी मूलका वासिन्दातर्फ छ । अर्को पार्टीको प्रभाव दक्षिण एसियाली मूलका वासिन्दामा अधिक छ ।
गुयानाका जनता, अझ खासगरी एसेकिबोका जनता यस मुद्दामा एकजुट छन् । उनीहरू गुयानाको वासिन्दा बन्न चाहन्छन् । एसेकिबोको जनसंख्या एकदेखि दुई लाखको बीचमा रहेको अनुमान छ ।
गुयानाका राष्ट्रपति इरफान अलीले अहिले भेनेजुएलासँगको विवाद सुल्झाउन कूटनीतिक प्रयास गर्दै छन् । उनले कयौँ तेल कम्पनीलाई गुयानाको तेल भण्डारबाट तेल निकाल्न निम्तो दिएका छन् ।
गुयानले क्यारेबियन राष्ट्र, बेलायत र चीनसँग पनि सहायता मागेको छ । गुयानाले चीनलाई एसेकिबोबाट तेल निकाल्न र देशको विकासमा कयौँ परियोजनामा सहभागी गराएको छ । गुयानाको यही कार्यबाट भेनेजुएलाका राष्ट्रपति मादुरो रिसाएका छन् । किनभने आफ्नो सहयोगी देश चीनसँग गुयानाले हात मिलाएको छ ।
चीन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँचमध्ये एक सदस्य हो । हालै गुयानाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा हस्तक्षेप गर्न अपिल गरेको छ । भेनेजुएलाले आक्रमण गर्न सक्ने बताउँदै गुयानाले हस्तक्षेपका लागि अपिल गरेको हो ।
रुस पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् सदस्य हो । रुस भेनेजुएलाको सहयोगीको रूपमा चिनिँदै आएको छ । डा. सबातिनी भन्छन्, “रुसको सम्बन्ध अलग छ । रुसको भेनेजुएलासँग राम्रो सम्बन्ध मात्र होइन भेनेजुएलाको तेल उद्योगमा ठूलो साझेदारी छ । यसैकारण रुसको आर्थिक तथा राजनीतिक हित भेनेजुएलासँग जोडिएको छ ।”
विश्वको ध्यान
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ डा. एनेटा इडलरका अनुसार अहिले भेनेजुएलाको छिमेकी देश ब्राजिल पनि ल्याटिन अमेरिकामा युद्ध भएको हेर्न चाहँदैन । विश्वका कयौँ देश र संगठन पनि युद्धको पक्षमा छैनन् ।
“ब्राजिलको सीमा भेनेजुएला र गुयानासँग जोडिएको छ । ब्राजिलका राष्ट्रपति लूला डिसिल्भाले समस्याको समाधान शान्तिपूर्ण तरिकाले निकाल्न भेनेजुएलासँग अपिल गरेका छन् । ब्राजिलले आफ्नो सेनालाई उत्तरी सीमामा तैनाथ पनि गरेको छ,” डा. इडलर भन्छन् ।
क्यारेबियन देशको संगठन र राष्ट्रमण्डल सदस्य देशको संगठनले पनि विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय अदालतले डिसेम्बरमा जारी गरेको अपिलको पालना गर्न भनेका छन् । अन्तर्राष्ट्रिय अदालतले फैसला आउनुअघि कुनै कारबाही अघि नबढाउन भेनेजुएलालाई भनेको थियो । तर, यसको केही दिनपछि नै भेनेजुएलाले सोही मुद्दामा जनमत संग्रह गरेको थियो ।
यो समस्या सुल्झाउन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्सँग आशा गर्न नसकिने बुझाइ डा. इडलरको छ । किनभने सुरक्षा परिषद्का सदस्य अमेरिका र बेलायत गुयानाको पक्षमा छन् । चीन र रुस भेनेजुएलाको निकट सहयोगी हुन् । यसको अर्थ सुरक्षा परिषद्मा यस्तो प्रस्ताव पास हुन गाह्रो छ । प्रस्ताव पास हुन पाँचवटै सदस्य सहमत हुनुपर्छ ।
विगतमा मादुरोमाथि अन्तर्राष्ट्रिय दबाबको खासै प्रभाव परेको छैन । यस्तो अवस्थामा भेनेजुएलाले गुयानामाथि आक्रमण गरे के होला ?
सैन्य क्षमताको दृष्टिले दुर्व देश बराबरीको अवस्थामा छैनन् । भेनेजुएलासँग लगभग साढे तीन लाख सैनिक र ठूलो मात्रामा हतियार छन् । गुयानासँग केवल चार हजार सैनिक छन् । डा. इडलरका अनुसार यदि भेनेजुएलाले आक्रमण गरे अमेरिकाको प्रतिक्रिया कस्तो हुन्छ, त्यो महत्त्वपूर्ण हुने छ । किनभने सन् २०१५ मा अमेरिकी कम्पनी एक्सानमोबीलले एसेकिबो क्षेत्रमा तेल भण्डारको खोजी गरेको थियो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाका प्रवक्ताले यसअघि नै वर्तमान अवस्थालाई चिन्ताजनक बताइसकेका छन् । अमेरिकी स्थल सेनाको दक्षिणी कमान्डले गुयानामा हवाई निगरानी गर्न सुरु गरिसकेको छ । अमेरिकाले यसलाई गुयानसँगको सुरक्षा सम्बन्धमा आधारित बताइरहेको छ । तर, यो एक महत्त्वपूर्ण घटनाक्रम हो ।
यदि अमेरिकाले गुयानाको समर्थनमा हस्तक्षेप गर्यो भने भेनेजुएलाका सहयोगी देश रुस र चीन मौन बस्ने छैनन् । यसले शीतयुद्धको जस्तो अवस्था सिर्जना गर्ने विश्वास डा. इडलरको छ । शीतयुद्धका बेला पनि ल्याटिन अमेरिका युद्धको केन्द्र बन्ने खतरा बढेको थियो ।
केही साता अघिसम्म मानीसहरू सोचिरहेका थिए, मादुरो जनमत संग्रह गरेर सन्तुष्ट हुने छन् । तर, उनी त्यतिमै रोकिएनन् । त्यसपछि मादुरोले भेनेजुएलाको सरकारी तेल कम्पनीलाई एसेकिबो क्षेत्रमा तेल निकाल्नका लागि लाइसेन्स जारी गर्न निर्देशन दिए ।
यसबीचमा मादुरोले भेनेजुएलाको नयाँ नक्सा पनि जारी गरे । नयाँ नक्सामा एसेकिबोलाई भेनेजुएलामा विलीन भएको देखाइएको छ । एसेकिबोलाई नयाँ नक्सामा नयाँ राज्यको रूपमा विलीन गरिएको छ । मादुरोले एसेकिबो क्षेत्रका वासिन्दालाई भेनेजुएलाको परिचयपत्र दिने घोषणासमेत गरेका छन् । यसले अन्तर्राष्ट्रिय जगतलाई झस्काएको छ ।
यदि मादुरोले गुयानामाथि आक्रमण गरे भने उनले ठूलो अन्तर्राष्ट्रि प्रतिरोधको सामना गर्नुपर्ने छ । केही दिनअघि मात्र गुयानाका राष्ट्रपति अलीले बीबीसीसँगको अन्तरवार्तामा भनेका थिए– यदि गुयानामाथि आक्रमण गर्ने प्रयास भयो भने मित्रराष्ट्र हात बाँधेर बस्ने छैनन् ।
गुयानाको प्रमुख सुहयोगी अमेरिका हो । अमेरिकी सेना यस क्षेत्रमा पहिले नै आएर बसिसकेका छन् ।
एउटा आशा के छ भने यसैसाता राष्ट्रपति मादुरो र राष्ट्रपति अली सेन्ट विनसेन्टमा भेटवार्ता गर्दैछन् । तनाव कम गर्न उनीहरू सफल हुन् भन्ने कामना धेरैको छ । तर, भेनेजुएलाका राष्ट्रपति मादुरो कति बेला कस्तो कदम चाल्छन् भन्ने अनुमान गर्न निकै गाह्रो छ । उनको विगतले पनि यही बताउँछ ।