site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता सधैँ माओवादीकै हातमा : १३ मध्ये १० सरकारमा सहभागी, चार पटक प्रधानमन्त्री, ११८ मन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही दिनअघि प्रधानमन्त्री बोली सुनियो, ‘म आएपछि बिग्रिएको अर्थतन्त्र ठीक ठाउँमा आयो ।’ उनको बोलीसँगै प्रश्न उब्जियो, ‘अघिल्ला वर्षमा नासिएको अर्थतन्त्रको जिम्मा माओवादीले लिने कि नलिने ?’

दाहालको त्यस्तो बोली सुनेपछि कांग्रेस नेता डा. मिनेन्द्र रिजालले अचम्मित भएको प्रतिक्रिया दिए । 

उनले अचम्म मान्नुको कारण दाहाल प्रधानन्त्री हुनुअघि उनको पार्टी माओवादी सरकारमै थियो । अझ अर्थमन्त्री जनार्दन शर्मा माओवादीकै थिए । बजेटसँगै सीसीटीभी फुटेज प्रकरणमा मुछिएपछि पनि शर्मालाई निरन्तरता दिइयो । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रचण्डमा ‘अपजस’को भारी अरुलाई बोकाउने र ‘जस’ लिने कुनै कसर बाँकी नराख्ने प्रवृत्ति देखियो,” ‘प्रचण्ड शैली’बारे डा. रिजालले बाह्रखरीसँग भने, “त्यही पार्टीका नेताले म आउनुभन्दा अघि नास थियो भन्न मिल्छ ? यो के हो ? यसको सही तथ्य ‘चेक’ कसले गर्ने ?”

माओवादी अधिकांश समय सत्तामा

Global Ime bank

माओवादी सशस्त्र ‘जनयुद्ध’बाट २०६३ मा संसदीय राजनीतिमा प्रवेश गर्‍यो । 

त्यसयताका १० वटा सरकारमा माओवादी सहभागी भएको छ । उसैले चार पटक प्रधानमन्त्रीको नेतृत्व लिएको छ । यतिखेर पनि दाहाल नेतृत्वको सरकारले एक वर्ष पार गरेको छ । आफ्नै नेतृत्व वा अरु दलको नेतृत्वको सहभागी हुने माओवादीका ‘पटके मन्त्री’को संख्या ११८ पुगेको छ ।

०६३ यता १३ वटा सरकार बने । त्यसमा माओवादी तीनवटा सरकारमा मात्र सहभागी भएको देखिँदैन । 

०६६ मा बनेको एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकार, ०६९ मा बनेको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको गैरदलीय सरकार र ०७० सालको निर्वाचन परिणामपछिको सुशील कोइराला नेतृत्व हुँदा माओवादी सरकारबाहिर रह्यो । 

त्यसो त, खिलराज रेग्मी नेतृत्वको सरकार पनि माओवादीकै चाहनामा बनेको थियो । गैरदलीय सरकारमा उसको सिफारिसका दुई मन्त्रीहरु बनेका थिए, पूर्व प्रशासक भए पनि ।

०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकारयता त माओवादी केन्द्र कुनै पनि समय सरकार बाहिर बसेको छैन । तर, पनि उनले आफूले जिम्मा पाए मात्र देशको अवस्था बदलिने भाषण गर्न पनि छाडेका छैन । 

सरकारमा माओवादीका को–को सहभागी ? 

०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादीका ५ नेता मन्त्री बनेका थिए । 

सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा हिसिला यमी भौतिक पूर्वाधार, देव गुरूङ स्थानीय विकास, मातृका यादव वन र खड्गबहादुर विश्वकर्मा महिला, बालबालिका मन्त्री भए । त्यही सरकारले पहिलो संविधानसभाको निर्वाचन गराएको थियो ।

०६४ चैत २८ मा भएको संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो दल बन्यो । 

२०६५ भदौमा पुष्पकमल दाहाल प्रचण्ड पहिलो चोटि प्रधानमन्त्री बनेका थिए । माओवादीका नेताहरु डा. बाबुराम भट्टराई, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरूङ, मातृका यादव, हिसिला यमी, पम्फा भुसाल, गोपाल किराती, लेखराज भट्ट र जनार्दन शर्मा मन्त्री बने ।

तर, तत्कालीन प्रधानसेनापति रूकमाङ्गद कटवाललाई हटाउने निर्णय असफल भएपछि नौ महिनामै प्रचण्डले राजीनामा दिए ।  २०६६ वैशाखमा प्रचण्डको सरकार ढलेपछि २०६६ जेठ ९ मा तत्कालीन एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । 

प्रधानमन्त्री छाड्नुपरेको रिसमा रहेको माओवादी सरकारमा सामेल भएन । माओवादीलाई नेपाल सरकार मन परेको थिएन । त्यसपछि माओवादीले एमालेभित्र खेल्यो ।  २०६७ माघमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन भूमिका खेल्यो । 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका निम्ति कांग्रेस संसदीय दलका तत्कालीन नेता रामचन्द्र पौडेलसँग पटक–पटक प्रतिस्पर्धा गर्दा पनि बहुमत प्राप्त गर्न सकेनन् ।  त्यसपछि प्रचण्डले खनाललाई प्रधानमन्त्री बनाए, सँगै सरकारमा महत्वपूर्ण हिस्सा लिए । 

खनाल नेतृत्वको सरकारमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, खड्गबहादुर विश्वकर्मा, जयपुरी घर्ती, प्रभु साह, पोष्टबहादुर बोगटी, पम्फा भुसाल, लोकेन्द्र बिष्ट, विश्वनाथ साह, हितबहादुर तामाङ, ओनसरी घर्ती, देवी खड्का र धर्मशिला चापागाई मन्त्री बनेका थिए ।

२०६८ भदौमा खनाल नेतृत्वको सरकारलाई विस्थापन गर्दै माओवादी तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । 

उनको नेतृत्वमा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, स्वर्गीय पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, वर्षमान पुन, दिनानाथ शर्मा, लोकेन्द्र बिष्ट, गोपाल किराती, लेखराज भट्ट, प्रभु साह, भीमप्रसाद गौतम, रामकुमार यादव, कमला रोक्का, कल्पना धमला, सत्या पहाडी मन्त्री बने । 

त्यसअतिरिक्त दीलिप महर्जन, सूर्यमान दोङ, लिला भण्डारी, गोपी अछामी, ज्वाला साह, सुष्मा शर्मा, हिराराज लिम्बु, सुनिताकुमारी महतो राज्यमन्त्री बनेका थिए ।

२०६९ जेठ १५ मा सर्वोच्चको आदेशमा संविधानसभा विघटन हुन पुग्यो । २०६९ चैतमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बन्यो । त्यसमा सहभागीमध्ये दुईजना मन्त्री माओवादीले सिफारिस गरेका थिए । 

२०७० मंसिरमा भएको दोस्रो संविधानसभा चुनावमा माओवादीको हैसियत खुम्चियो र तेस्रो शक्ति बन्न पुग्यो । २०७० माघमा कांग्रेस सभापति सुशील कोइरालाको नेतृतवमा सरकार बन्दा माओवादी सहभागी भएन । 

२०७२ असोजमा संविधानसभाबाट संविधान जारी भएपछि दलहरुबीचको समझदारीका आधारमा सरकार फेर्नुपर्ने थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चुनिए । 

ओली सरकारमा सरकारमा माओवादीका टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, रेखा शर्मा, उमेश यादव र गणेशमान पुन गरी ७ जना मन्त्री भए ।

ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै २०७३ साउनमा प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । 

प्रचण्ड नेतृत्वको सरकारमा माओवादी नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, गौरीशंकर चौधरी, दलजित विके श्रीपाली, हितराज पाण्डे, सुरेन्द्रकुमार कार्की, धनिराम पौडेल, अजयशंकर नायक मन्त्री बने भने श्रीप्रसाद जवेगु, सत्यानारायण मण्डल, राधिका तामाङ, धनमाया बिक राज्यमन्त्री बने । 

२०७४ जेठमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । त्यसमा मन्त्री र राज्यमन्त्री गरी माओवादीका १७ जना सरकारमा सहभागी भए । 

देउवा सरकारमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार चौधरी मन्त्री बनेका थिए भने मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरूङ, गोमा कँुवर र वाङदी शेर्पा राज्यमन्त्री बनेका थिए ।

देउवा नेतृत्वको सरकारमा सहभागी भएकै बेला २०७४ असोजमा माओवादीले एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णय लियो । 

त्यसपछि देउवाले माओवादीलाई सरकारबाट बाहिरिन आग्रह गरे । तर, माओवादी मन्त्रीहरु नहटेपछि प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसी विना विभागीय बनाए । तैपनि माओवादीका मन्त्रीहरुले राजीनामा दिएनन्, तिनले मन्त्रीको सुविधा लिए । 

०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धनले बहुमत प्राप्त गर्यो ।  ०७४ फागुन ३ मा सांसदको सपथ नखाँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिन् । 

त्योे सरकारमा माओवादीका रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, चक्रपाणि खनाल, बीना मगर, मातृका यादव, रामेश्वर राय मन्त्री भए भने रामकुमारी चौधरी राज्यमन्त्री । 

२०७५ जेठ ३ गते चुनावी गठबन्धन हुँदै सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी एकीकरण हुन पुगे, नेपाल कम्युनिष्ट पार्टी, नेकपा बन्यो । एकतापछि पार्टी र सत्ताका निम्ति संघर्ष गर्दा गर्दै नेकपामा अनेकता देखाप¥यो ।

सर्वोच्च अदालतले ०७७ फागुन २३ मा एमाले र माओवादी एकता बदर गरिदियो । 

माओवादी पक्षधर मन्त्रीहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरी र प्रभु साह ओली सरकारमा रहे । नेकपा र एमाले विभाजनपछि २०७८ असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री बने । 

देउवा सरकारमा माओवादीबाट पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बने भने बोधमायाकुमारी यादव राज्यमन्त्री बनिन् । देउवा सरकारले नै निर्वाचन गरायो । 

माओवादीले कांग्रेससँगै चुनावी गठबन्धन गरेर ३२ सिट ल्यायो । पूर्वसहमति अनुसार देउवाले प्रचण्डलाई प्रधानमन्त्री नबनाएपछि एमालेको समर्थनमा ०७९ पुस १० मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । 

पुस २६ मा प्रधानमन्त्रीलाई कांग्रेससहितका दलले विश्वासको मत दिए । 

राष्ट्रपति चुनावमा कांग्रेसका उमेदवार रामचन्द्र पौडेललाई समर्थन जनाएपछि एमाले सरकारबाट बाहिरियो ।  कांग्रेसको प्रमुख सहयोगमा टिकिरहेको प्रचण्ड सरकारमा माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, रेखा शर्मा, सुदन किराती मन्त्री छन् भने सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय