site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारप्रति सत्तारूढ नै असन्तुष्ट, मन्त्रिमण्डल हेरफेर गर्न सुझाव
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा गएको वर्षको पुसमा आफ्नो नेतृत्वमा एमालेले सरकार बनाइदिन्छ भन्ने आशामा थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई आश्वासन नदिएका हैनन् । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालकोट पुगेको केही घण्टाभित्रै प्रधानमन्त्री बनेपछि संसद्को पहिलो दल कांग्रेसका लागि सत्ताको सपना तुहियो । अनि प्रमुख प्रतिपक्षी दलमा सीमित भयो । 

तर, ‘राजनीतिक तिकडम’मा आफूलाई अब्बल सावित गर्दै कांग्रेसले एमाले–माओवादी गठबन्धन भत्काएरै छाड्यो । कांग्रेस २०७९ चैत १७ गते प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षा, अर्थ, उद्योग वाणिज्य र सहरी विकास मन्त्रालय लिएर सरकारमा सहभागी भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति निर्वाचनमा राजनीतिक खेल खेलेको कांग्रेसले सत्तारोहण गरी छाड्यो । त्यसपश्चात् कांग्रेस एक शीर्ष नेताले बाह्रखरीसँग भनेका थिए– ‘सत्ताको शक्ति पुनर्गमन भएको छ । कार्यकर्ता निराश भइसकेका थिए । पार्टी अफिस सुनसान हुनै लागेको थियो । हेर्नुस् त, अब वडा तहमा कांग्रेस सरकारमा छ भनेर छुट्टै फाइफुट्टी पलाएको छ ।’

गत संसदीय निर्वाचनमा कांग्रेस पहिलो दल बनेको थियो भने एमाले दोस्रो । तर, ३२ सिटमा खुम्चिएको माओवादीका अध्यक्ष प्रचण्डसँग सत्ता खेलमा दुवै दल हारे । गठबन्धनकै जगमा पहिलो दल बनेको कांग्रेसका तल्ला तहमा समेत सरकारमा सहभागी हुन नसक्दाको पीड देखिन्थ्यो ।

Global Ime bank

राजनीतिक दाउपेचमै राष्ट्रपति पनि कांग्रेसबाटै रामचन्द्र पौडेल बन्न सक्नुलाई कांग्रेसले सफलता नै ठानेको थियो । 

यसरी छोटो समयमा दाहालले पनि पटक–पटक विश्वासको मत लिँदै अघि बढेको कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनमत, लोसपा, नागरिक उन्मुक्तिसहितको सरकारले एक वर्ष पूरा गरेको छ । तर, यो सरकारको मुख्य घटक कांग्रेस नै हो । 

सरकारको एक वर्ष पूरा भइरहँदा समीक्षा हुन थालेको छ । प्रधानमन्त्री दाहालले आफ्नो सरकारले गरेका उपलब्धिको फेहरिस्त राम्रैसँग सुनाएका छन् । उनले काम गर्न नसक्ने मन्त्रीलाई चेतावनी दिँदै कार्यक्षमता नभए छाडेर जान भनिसकेका छन् ।

“म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,” प्रधानमन्त्रीको चेतावनी छ, “यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैँसँग गरेको वाचा पनि हो । देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन ।”

प्रधानमन्त्रीको चेतावनी एकातिर छ । तर, सत्तामै भएको कांग्रेसमा भने आफैँ सहभागी भएको सरकार सफल हुन नसकेको बुझाइ छ । देउवाको वरिपरि भएका औँलामा गन्न सकिने नेताबाहेक अरू कांग्रेस नेतालाई सरकार सफल भएझैँ लाग्दैन । कांग्रेस सरकारमा भएर पनि जनताले महसूुस गर्ने गरी र पार्टीको साख उच्च पार्ने गरी डेलिभरी दिन नसकेको बुझाइमा कांग्रेस नेताहरू पुगेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका पार्टी सांसद वीरबहादुर बलायर पार्टीको साख उच्च बनाउने गरी सरकार जनसेवा प्रयोग गर्न नसकेको धारणा राख्छन् । “गठबन्धन गर्ने पार्टीको निर्णय हो, यसको खिलाफमा धेरै बोल्ने ठाउँ रहँदैन । तर, सरकारले जनताको चाहना अनुसार काम जति काम गर्नुपर्ने हो, त्यो चाहिँ भए जस्तो लाग्दैन,” बलायरले बाह्रखरीसँग भने ।

भ्रष्टाचार काण्ड छोप्न दौडधुप

एकपछि अर्को भ्रष्टाचार काण्ड अघि आए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण जेल चलान भए । यो विषय अदालतबाट रफादफा भएको छ । 

तर, कांग्रेस संस्थापन समूह सुशासनको पक्षमा भन्दा पनि आफ्ने नेता जोगाउन लागि पर्‍यो । शेरबहादुर देउवा गृहमन्त्री फेर्न सक्रिय भएको चर्चा पनि चल्यो । 

सरकारकै आडमा एकपछि अर्को विवादित काम गर्न उद्धत देउवा पत्नी आरजु भइन् । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उनको नाम नमुछिएको कुनै काण्ड हुँदैन । यसले जनतामा थप निरासा बढाउनुबाहेक अर्को उपलब्धि केही दिएन । 

सुन काण्ड, ललिता निवास जग्गा प्रकरणलगायत भ्रष्टाचारका काण्डलाई अघि बढाएर निचोडमा पुर्‍याउन कांग्रेस पनि बाधक बनेको छ । यसमा प्रचण्ड पनि सहमत छन् भने एमाले अध्यक्ष केपी ओली पनि यो विषय अघि बढाउन नचाहेको देखिन्छ । तीन नेता बसेर गफ गर्ने र ठूला काण्डहरूलाई गुपचुप पार्ने खेलमा लागेको चर्चा भइरहन्छ । कांग्रेस आलोचित बन्नुको अर्को कारण यो पनि हो । 

केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेल सरकार असफल बन्दा कांग्रेस पनि असफल बनेको धारणा राख्छन् । साधन स्रोतको अभाव देखाउने हो भने पनि भ्रष्टाचारमा खुलेका फाइलहरू सामसुम पार्नु असफलताको सूचक भएको बुझाइ पौडलको छ । 

“भ्रष्टाचार अन्त्य गर्न आएका काण्ड खोतल्ने कारबाही गर्ने पत्ता लगाउने कुरामा सरकालाई केले रोक्यो त ? सुशासन र प्रशासनिक सुधार गर्न सरकार र मन्त्रीहरूलाई के ले रोक्यो त ? साधन स्रोतको अभाव देखाउने हो भने सुशासन कायम गर्न त सकिन्थ्यो नि,” पौडेलले बाह्रखरीसँग भने । 

अर्थ मन्त्रालयमा कांग्रेस, जनतामा निराशा मात्र 

जनताको चुलो महँगिएको छ । रोजगारीको अवसर सिर्जना भएका छैनन् । देशमा बस्ने भन्दा पनि निराश हुँदै विदेश जानेको संख्या बढ्दो छ । सेयर बजार लामो समयदेखि सकारात्मक छैन । व्यापारिक सटरहरू बन्द भइरहेका छन् । अर्थतन्त्र सकारात्मक नभएको भन्दै गुनासो छ । 

देशको अर्थतन्त्रको बागडोर कांग्रेससँग छ । अर्थमन्त्री देउवा परिवारका विश्वासपात्र प्रकाशशरण महत छन् । तर, अर्थतन्त्रमा देखिने काम नभएको उनकै पार्टीबाट आरोप लाग्ने गरेको छ । 

केन्द्रीय सदस्य पौडेल सरकार सफल नहुनुमा बढी भागिदार प्रधानमन्त्री हुने भए पनि सरकारमा बसेपछि कांग्रेस पनि उत्तिकै भागिदार हुने बताउँछन् । आर्थिक संकट हल गर्न देखिने गरी काम हुन नसकेको निष्कर्ष उनको छ । 

उनी अर्थतन्त्रको संकट समाधानको उपाय अपनाउन नसकेको मात्र हैन सरकार परामर्श तहमा पनि नपुगेको धारणा राख्छन् । संरचना र संस्थागत सुधार, रोजगारी सिर्जना, अवसरको र बजेटको समान वितरणमा सरकारले काम गर्‍यो भन्ने ठाउँ नरहेको धारणा उनको छ । त्यसैले पार्टी र सरकारको बचाउमा गरी अभिव्यक्ति दिने आधार नभएको उनी बताउँछन् ।

“पार्टी सार्वजनिक विषय हो । नेतृत्वले काम गर्न सकेन भनेपछि चुप लागेर बस्ने अवस्था छैन । म त्यहीँ पार्टीको हो विरोध गर्न हुन्न भनेर चुप लागेर बस्ने अवस्था छैन,” पौडेल भन्छन्, “कमजोरी भएको छ । हामी डिफेन्स गर्न सक्ने अवस्थामा छैनौँ ।”

तर, अर्थमन्त्री तथा पार्टी प्रवक्ता प्रकाशशरण महत भने इमान्दारीताका साथ पार्टीबाट गएका सबै मन्त्रीहरूले कार्यसम्पादन गरिरहेको दाबी गर्छन् । “हामी पूर्ण लगाव लगाएर प्राथमिकताका साथ काम गरेका छौँ । मन्त्रीले गरेको काममा प्रश्न उठाउने ठाउँ छैन । प्रधानमन्त्रीले कांग्रेसबाट बनेका मन्त्रीले काम गरेको छैन भनेको मैले सुनेको छैन,” महत भन्छन्, “अर्थतन्त्र सुधार भइरहेको छ, लय पकडेको छ अर्थतन्त्रले । समस्याको चाङ थियो हटाउँदै छौँ ।”

सरकारको विषयमा इतर समूहका प्रश्नैप्रश्न 

सरकार नागरिक तहमा पुग्न नसकेको, देखिएका तमाम समस्याको समाधान दिलाउन नसकेको भन्ने गुनासो पार्टीभित्र संस्थापइतर समूहले निरन्तर राख्दै आएको छ । इतर समूहका नेता डा. शेखर कोइराला त वर्तमान गठबन्धनको विकल्प खोजेर जानुपर्छ भनेर सार्वजनिक कार्यक्रममै बोलिसकेका छन् । 

पार्टी महामन्त्री गगनकुमार थापा पनि सरकारप्रति सन्तुष्ट छैनन् । उनले केही समय अघि कांग्रेसले समर्थन फिर्ता नलिई सरकारबाट बाहिर आउनुपर्ने र माओवादीलाई एक्लै सरकार चलाउन दिनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू र धेरै केन्द्रीय सदस्य कांग्रेसका मन्त्रीहरूको कामबाट सन्तुष्ट छैनन् ।

राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी सरकार नै असफल हुँदा सरकारमा गएका मन्त्रीहरू कसरी सफल हुन्छन् भन्ने प्रश्न गर्छन् ।

“प्रधानमन्त्रीलाई मन्त्रीहरूले असहयोग गरेको हो या प्रधानमन्त्रीले मन्त्रीबाट काम लिन नसकेको हो थाहा भएन । तर, सरकारले जनताको मन छुने गरी काम गर्न सकेन । यो मन्त्रिमण्डलविरुद्ध ठूलो आक्रोश छ,” उनले भने, “सरकार असफल भएपछि कांग्रेस कसरी सफल भयो भन्नु र !” 

नेता रायमाझी या त कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने नभए प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल फेरबदल गरेर अघि बढ्नुको विकल्प नभएको बताउँछन् । उनको टिप्पणी छ, ‘‘यी दुवै काम नगर्ने भए वर्तमान सरकार रहनु नरहनुले जनस्तरमा कुनै तात्त्विक भिनन्ता पर्दैन ।’’

उनी सरकारलाई डेलिभरी दिने खालेको क्याबिनेट बनाउन सुझाव दिन्छन् । “अब दुई वटा विकल्प छन् । या त सरकार परिवर्तन वा मन्त्रिपरिषद् पुनर्गठन,” रायमाझीले बाह्रखरीसँग भने, “या त कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्यो यो सरकारले उपलब्धि दिन नसक्ने भए । नभए प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेर डेलिभरी दिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय